logo
२०८१ बैशाख ८ शनिवार



एक अधिकृतको भरमा जिल्ला प्रशासन, नागरिकता जारी गर्न समस्या

कोरोना संक्रमण

खुला |
समाज |


एक अधिकृतको भरमा जिल्ला प्रशासन, नागरिकता जारी गर्न समस्या


जनार्जन खत्री
सर्लाही, माघ ४ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृतमा कोरोना पुष्टि भएपछि सेवाग्राहीलाई समस्या भएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसहित जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामनरेश राम र राजकुमार थापा कोरोना सङ्क्रमित भएपछि आइसोलेसनमा हुनुहुन्छ।

प्रमुख जिल्ला अधिकारी र दुवै प्रशासकीय अधिकृतसहित कार्यालयका १२ जना कर्मचारीमा संक्रमण पुष्टि भएको हो । प्रशासन कार्यालयले पुस २९ गतेदेखि अत्यावश्यक सेवा मात्र दिइराखेको छ । इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख सूर्यप्रसाद दाहालले केही दिनका लागि जिल्ला प्रशासन कार्यालय मलङ्गवामा समेत पुगेर अति आवश्यक परेका सेवाग्राहीलाई नागरिकता प्रदान गर्नुका साथै अन्य सिफारिसमा हस्ताक्षर गरिरहनुभएको छ ।

कार्यालयले कर्मचारी कोरोना सङ्क्रमणमुक्त नहुञ्जेल अतिआवश्यक परेलाई मात्रै नागरिकता दिइने सूचना जारी गरेपछि अन्य सेवाग्राही भने मारमा परेका छन् । नागरिकता बनाउन पुग्ने धेरै कर्मचारी रित्तो हात फर्किन बाध्य छन् । ईलाका प्रशासन कार्यालय हरिवनका प्रमुख एवं प्रशासकीय अधिकृत सूर्यप्रसाद दाहालले दिनभर सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयमा बसेर सेवाग्राहीहरुको काम गरेर हरिवन फर्किने गरेको बताउनुभयो । ईलाका प्रशासन कार्यालयका सेवाग्राहीको भने दिनभर जम्मा भएको नागरिकता र अन्य सिफारिसमा साँझ अबेर आएर हस्ताक्षर गर्ने गरेको दाहालले बताउनुभयो ।

स्वास्थ्य अवस्था सामान्य
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले आइसोलेसनमा रहेको आफूसहित अन्य कर्मचारीको स्वास्थ्य अवस्था सामान्य भइसकेको जानकारी दिनुभयो । मङ्गलबार प्रदेश र राजधानीको नाम टुङ्ग्याइएको अवसर तथा बुधबार बलिदानी दिवसका अवसरमा प्रदेश सरकारले दुई दिन लगातार बिदा दिएकाले बिहीबारबाट धेरैजसो कर्मचारी काममा फर्किने प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो ।

सर्लाहीमा जिल्ला प्रशासन कार्यालय मलङ्गवा तथा हरिवन र बरहथवामा रहेका ईलाका प्रशासन कार्यालयबाट नागरिकता जारी हुने गरेको छ । जिल्लाका २० वटा पालिकामध्ये जिल्ला प्रशासन कार्यालयले १६ वडा पालिकाका वासिन्दालाई सेवा प्रवाह गर्ने भएकाले उक्त कार्यालयमा तुलनात्मकरुपमा सेवाग्राहीको धेरै नै भीडभाड हुने गरेको छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?