logo
२०८१ बैशाख ७ शुक्रवार

   नारायणहिटी सङ्ग्रहालय प्रकरण   



लमजुङ कक्ष जोगियो, बगैँचा मासियो

मुख्य समाचार |


लमजुङ कक्ष जोगियो, बगैँचा मासियो


देवबहादुर कुँवर

काठमाडौँ, पुस २२ गते । नारायणहिटी दरबारको मुख्य ढोका नजिकै लमजुङ कक्ष (बैङ्केट हल) छ । यो कक्ष तत्कालीन राजपरिवारले विशिष्ट स्वदेशी तथा विदेशी पाहुनालाई भोज खुवाउन प्रयोग गरिन्थ्यो । सरकारले दरबारलाई सङ्ग्रहालयमा परिणत गरेपछि यस कक्षलाई यथास्थितिमै राखेर संरक्षण गर्ने निर्णय भयो, जुन निर्णय दरबारभित्रको संरचनालाई जीवन्त राख्ने एउटा महìवपूर्ण प्रयास थियो तर यही कक्षमा केही व्यक्तिले आँखा लगाए ।

सङ्ग्रहालयका प्रवक्ता बुद्धिबहादुर गुरुङ भन्नुहुन्छ, “लमजुङ कक्षबाट सुरु भएको भाडाको मोलमोलाई बगैँचासम्म पुगेपछि विवादमा आएको हो । धनाढ्य परिवार र विदेशी नागरिकलाई भोज खुवाउने रेस्टुरेन्ट चलाउन भाडामा लिने प्रस्ताव आएको थियो ।”
नेपालको मौलिक कलाशैली झल्किने, आकर्षक सजावट र झिलिमिली बत्तीसँगै भोजनका लागि निर्माण भएको यो कक्षलाई केही व्यापारी समूहले तीन वर्षअघि नै रेस्टुरेन्ट चलाउन भाडामा लिने प्रस्ताव गरेको उहाँ सम्झनुहुन्छ । यस प्रस्तावको सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले खुलेरै विरोध गर्नुभयो । दरबारभित्रको ऐतिहासिक कक्ष भाडामा लगाउने कुरामा दाहालले असहमति जनाएपछि उक्त प्रस्ताव तुहिएको थियो तर पछि सम्झौता गर्दा भने त्यो अडान कायम रहेन ।

२०७७ को सुरुतिर सङ्ग्रहालयभित्र ‘कफिसप’ चलाउनु प-यो भन्दै अर्को प्रस्ताव आयो, यो प्रस्ताव सङ्ग्रहालयका कर्मचारी तहबाट नभई व्यापारी समूहले माथिल्लो निकायमा राखेको स्पष्ट हुन्छ । कक्ष नपाएपछि बगैँचा हात पार्न मन्त्रालयदेखि सङ्ग्रहालयसम्म पैरवी (लविङ) भएको देखिन्छ । सङ्ग्रहालय अवलोकन गर्न आउनेका लागि खाजा–नास्ता, पानी तथा शौचालयको व्यवस्था र कर्मचारीका लागि सस्तो शुल्कमा खाजा–नास्ता खान क्यान्टिन आवश्यक थियो । त्यहीबीचमा मुख्य प्रवेशद्वारको बायाँपट्टि रातो घरसहितको छ आना तीन पैसा जमिन भाडामा लगाउने कुरामा सहमति जुट्यो । सोही सहमतिअनुसार, आवश्यक कानुनी प्रक्रियाका लागि २०७७ साउनमा टेन्डर आह्वान गर्दा तीनवटा कम्पनीले आवेदन दिएका थिए । आवेदन दिनेमध्ये दुईवटा कम्पनी होटल आनन्द र बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट बतास समूहका हुन् ।

बीपीएसले टेन्डर प्राप्त गरे पनि निर्माणको जिम्मा भने बतास समूहकै अर्को बी म्यानेजमेन्टले लिएको हो । बी म्यानेजमेन्टले दुईपक्षीय सम्झौता विपरीत रातोघर मात्र नभई बङ्कर, शौचालय र बगँैचालगायत करिब १० रोपनी जमिन कब्जा गरी आफूखुसी संरचना निर्माण गरेको हो । सो संरचना निर्माण कार्य विवादमा आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको मौखिम आदेशमा मङ्गलबारबाट निर्माण रोकिएको छ । लमजुङ कक्ष लिन तम्सिएको समूहले अन्ततः बगैँचालगायतको जमिन कब्जा गरी सम्झौता विपरीत रेस्टुरेन्ट सञ्चालनका लागि संरचना निर्माण गरेको पाइएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?