logo
२०८१ बैशाख ६ बिहीवार



आयोजना स्थलमा सुरक्षा अनुगमनको खाँचो

राष्ट्रिय |


आयोजना स्थलमा सुरक्षा अनुगमनको खाँचो


सूर्यप्रसाद पाण्डे

काठमाडौँ, पुस १४ गते । सोलुखुम्बुको सोलुखोला दूधकोसी जल विद्युत् आयोजनाको पेनस्टक पाइप फुट्दा आइतबार दुई जना इन्जिनियरको निधन भएको छ । साहस ऊर्जाले प्रवद्र्धन गरिरहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाको परीक्षणका क्रममा पाइप विस्फोट भई इन्जिनियर सुवासराज रेग्मी र कर्मचारी अर्जुन थापाको निधन भएको हो । प्रवद्र्धक कम्पनीका अनुसार पाइपको ज्वाइनमा परीक्षण गर्दा दुर्घटना भएको हो ।

आयोजनामा प्रयोग गरिएका हाइड्रो–मेकानिकलतर्फको काममा दुर्घटनाले प्रश्न खडा गरेको छ । गत असार ३० गते पनि मेलम्ची खानेपानी आयोजनाको पानीले बगाएर इन्जिनियर सतीश गोइत र कर्मचारी राधाकृष्ण थापाको निधन भएको थियो । उक्त आयोजनाको सुरुङको ढोका फुटेर आएको पानीले गोइत र थापालाई बगाएको थियो ।

दुवै दुर्घटनामा आयोजना निर्माण स्थलमा पर्याप्त सुरक्षा तथा स्वास्थ्य सावधानी नरहेको विज्ञहरूले बताउनुभएको छ । ठूला भवन, सडक आयोजना तथा सुरुङ मार्ग निर्माणका क्रममा समेत यस्ता धेरै घटना हुने गरेका छन् । कतिपय घटनामा कर्मचारीको ज्यानै गएको छ भने कतिपय घटना आयोजना सञ्चालक तथा कर्मचारीलाई चेतना दिएर मात्रै टर्ने गरेका छन् तर यी घटनाले नेपालको निर्माण क्षेत्रमा हुने काम गुणस्तरहीन रहने गरेको, काम गर्ने कर्मचारीमा सुरक्षा तथा स्वास्थ्य चेतनाको अभाव रहेको जस्ता विषयलाई थप पुष्टि गरेको छ ।

कर्मचारीको ज्यानै जाने गरी दुर्घटनाको सङ्ख्या निरन्तर बढिरहँदा पनि सुरक्षा सचेतनाका विषयमा सरोकारवाला निकाय गम्भीर भएको देखिँदैन । नेपाल इन्जिनियर काउन्सिलका रजिस्ट्रार शिवमङ्गल गिरीले आयोजना स्थलमा कार्यरत कर्मचारीको स्वास्थ्य तथा सुरक्षाका विषयमा अपनाउने सावधानीका विषयमा स्पष्ट मापदण्ड भए पनि कार्यान्वयन नहुँदा यस्ता दुर्घटना हुने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आयोजना स्थलमा दुर्घटनाका क्रम बढेपछि काउन्सिलले केही समयअघि पेसागत सुरक्षाका लागि अपनाउनुपर्ने मापदण्ड बनाएर सरोकारवाला मन्त्रालयलाई पठाएका थियौँ तर दुर्घटनाका क्रम नरोकिँदा हामीलाई चिन्तित बनाएको छ ।”
उहाँका अनुसार काउन्सिलले बनाएको मापदण्ड कार्यान्वयनका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ, सञ्चार तथा सूचना प्रविधि, खानेपानी, भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी विकासलगायतका मन्त्रालयलाई पठाइएको छ । नेपाल इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष प्रा.डा. त्रिरत्न वज्राचार्यले मन्त्रालयगत रूपमा सञ्चालन हुने आयोजनामा ती मापदण्ड कार्यान्वयन भएको छ कि छैन भन्ने विषयमा प्रभावकारी अनुगमन नभएको बताउनुभयो ।

इन्जिनिरिङ विषय पढेर पास हुनेबित्तिकै तालिमबवना नै कार्य क्षेत्रमा खटिने परम्पराले पनि यस्ता दुर्घटना निम्तिने गरेको उहाँको भनाइ छ । काउन्सिलबाट ६५ हजार इन्जिनियरले लाइसेन्स (अनुमति) लिएका छन् । एसोसिएसन अध्यक्ष वज्राचार्यले काउन्सिलबाट अनुमति लिएपछि सबै इन्जिनियरलाई तालिम दिने निकाय गठन गर्नुपर्ने सुझाव दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?