logo
२०८० चैत्र १५ बिहीवार



आज विधिवत् सीता–रामको विवाह हुँदै

खुला |
प्रदेश |
समाज |


आज विधिवत् सीता–रामको विवाह हुँदै
जानकी मन्दिरमा प्राङ्गणमा सीता र राम



लक्ष्मी चौधरी
जनकपुरधाम, मङ्सिर २२ गते । सप्ताहव्यापी विवाहपञ्चमी अन्तर्गत आज छैटाैं दिन अर्थात् आजको दिनलाई विवाहपञ्चमीको रुपमा मान्ने गरिन्छ ।
मिथिलावासीहरुले प्राचीनकालदेखि नै मनाउँदै आइरहेका विवाहपञ्चमी अहिले पनि उत्तिकै धुमधामका साथ मनाउने गरिन्छ । विशेषगरी जनकपुरधाममा आजको दिनलाई ठूलो उत्सव मान्दै विवाह पञ्चमीलाई सात दिवसीय उत्सवका रुपमा मनाउने गरिन्छ ।

त्रेतायुगमा अयोध्याबाट राम आएर मिथिला राज्यको राजधानी जनकपुरधाम आएर शिव धनुष खण्डनपश्चात् राजकुमारी सीतालाई आजकै दिन विवाह गर्नुभएको थियो । त्यसैले मङ्सिर शुक्ल पञ्चमीको दिनलाई विवाहपञ्चमी भनिएको हो । वैदिक सनातन हिन्दु संस्कृतिअनुसार राम र सीताको विवाह भएको किम्वदन्ती छ ।
त्यस्तै, सीता रामको विवाहको रोचक प्रसङ्ग सुनिँदै आएको छ । मिथिलाका राजा जनकले संरक्षण गरेर राखेको शिव धनुष जो कोहीले सहजै उचाल्न सक्दैनथे । त्यही धनुषलाई जनककी पुत्री जानकीले सानै उमेरमा पूजाकोठा सरसफाइ गर्ने क्रममा एक्लै सहजै उठाएर सफा गरेको देखेर राजा जनकले धनुष उठाउने पुरुषसँगै आफ्नी छोरी सीताको विवाह गर्ने सोच बनाएकै कारण त्यो शिव धनुष उचाल्न सक्ने वीर पुरुषसँग आफ्नी छोरीको विवाह आजकै दिनमा गरेको भन्ने भनाइ छ ।

महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार नगर दर्शन, फूलवारी लिला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर, स्वयम्वर तथा विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पुर्याइने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताउनुभयो ।

उहाँले,‘ जानकी मन्दिरबाट सीतालाई विशेष सिंगारका साथ डोलामा राखी नगर परिक्रमा गर्दै रङ्गभूमिमा लैजाने गरिन्छ, त्यसपछि जानकी मन्दिर प्राङ्गणमा विधिपूर्वक सीता रामको विवाह हुने गरेको बताउनुभयो । यस्तै, विवाह पञ्चमीको अवसरमा मिथिला क्षेत्रमा सीता रामको विवाहको गुणगानका गीतहरु गुञ्जिरहेका छन् भने जानकी मन्दिरलाई दुलहीझैं सिंगारिएको छ, उहाँले भन्नुभयो ।

सप्ताहव्यपी विवाहपञ्चमी महामहोत्सवमा प्रत्येक दिन सहभागी भइरहनु भएका वुद्धिजिवी अग्रज स्थानीय व्यक्ति असर्फि झाले विवाह पञ्चमीको अवसरमा निस्केको भगवानको डोला शोभायात्राको साथमा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजन आउने गरेको बताउनुभयो ।

विवाह पञ्चमीलाई लक्षित गरी जनकपुरधामको बाह्र बिघा अर्थात् रङ्गभूमिमा विवाह पञ्चमीमा सहभागी भएका भक्तजन श्रद्धालुहरुलाई लक्षित गरी प्रदेश सरकार तथा प्रदेश सरकारका अन्य निकायहरुले संयुक्त रुपमा बस्ने व्यवस्था गरेका छन् । त्यस्तै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले निःशुल्क स्वास्थ्य शिविर, अस्थायी शौचालय तथा खानेपानीको व्यवस्था गरेको छ ।

विवाह महोत्सवमा आएका श्रद्धालुहरुलाई कुनै समस्या नहोस् भनेर अन्य संस्थाहरुले पनि आफ्नो आफ्नो तर्फबाट सहयोग स्वरुप विभिन्न खालका योगदानहरु गरेका छन् ।
यसैगरी, देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी विवाहपञ्चमी पर्व मनाइँदैछ । आज विवाह गर्न साइत नचाहिने मान्यता छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?