logo
२०८० चैत्र १६ शुक्रवार

   विराटनगर एकीकृत भन्सार जाँचचौकी   



कार्गो रेल सञ्चालन गर्न पहल

अर्थ |


कार्गो रेल सञ्चालन गर्न पहल


नवराज कट्टेल

विराटनगर, मङ्सिर २१ गते । भारतको बथनाहादेखि विराटनगर बुधनगर एकीकृत भन्सार जाँचचौकी (आईसीपी)स्थित नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तरसरकारी समन्वयको काम थालेको छ ।
मोरङको कटहरीसम्म विस्तार भइरहेको रेलमार्ग निर्माण हुन अझै समय लाग्ने भएपछि सम्पन्न भइसकेको बुधनगरसम्म कार्गो रेल ल्याउन छलफल थालिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले आईसीपीसम्म कार्गो रेल ल्याउने विषय भारतीय पक्षसँग छलफल गर्ने स्तरमा पुगेको जानकारी दिनुभयो । आईसीपीको रेल स्टेसनसम्म कार्गो रेल सञ्चालन गर्न सकिने विज्ञको सुझावका आधारमा केही प्रक्रियागत पहल सुरु गरिएको हो ।

मन्त्रालयका प्रवक्ता रेग्मीले नेपाल–भारत रेलवे निर्माण सम्झौतामा बथनाहा–कटहरी १८.६ किलोमिटरको दूरी उल्लेख छ । भारतीय पक्षले निर्माण सम्पन्न भइसकेको क्षेत्रलाई प्रयोगमा ल्याउन दिएर बाँकी क्षेत्र निर्माण गर्ने सहमति दिए आगामी नौ महिनाभित्रमा आईसीपीसम्म कार्गो रेल ल्याउन सकिने विज्ञले सुझाव दिएका छन् ।

रेलमार्गको १८.६ किलोमिटरमध्ये निर्माण सकिएको सात किलोमिटर दूरीबाहेकको काम अहिले भइरहेको छ । बथनाहा रेलवे स्टेसनबाट विराटनगरको बुधनगरस्थित नेपाल कस्टम यार्डसम्मको सात किलोमिटरमा २०७६ कात्तिकमा रेलवे लिक परीक्षण भइसकेको छ ।
एसियाली विकास बैङ्कका परामर्शदाता श्याम दाहाल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसहसचिव रविशङ्कर सैँजूले गत जुलाई–अगस्टमा स्थलगत अध्ययन गरेर आईसीपीसम्म कार्गो रेल ल्याउन सक्ने सम्भावना रहेको सुझाव दिनुभएको थियो । त्यसैका आधारमा अहिले मन्त्रालयले बाँकी प्रक्रियागत पहल लिन थालेको हो ।

कार्गो रेल सञ्चालनका लागि पहिलो चरणमा नेपालले ८७५ मिटर लम्बाइ र ३१ मिटर चौडाइको यार्ड र आईसीपीसम्मको पहुँच मार्ग निर्माण गर्नुपर्नेछ । प्रारम्भिक रूपमा यार्ड निर्माणका लागि छ करोड ८४ लाख रुपियाँ र पहुँच मार्ग निर्माणका लागि ६३ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । दोस्रो चरणमा अधिग्रहण भइसकेको रेलवेको जग्गा र आईसीपीभित्रको खाली क्षेत्रलाई समेटेर ४० मिटर चौडाइको कन्टेनर प्लेटफर्म विकास गर्न प्रस्ताव गरिएको छ । यसका लागि ४२ करोड ८८ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । पहिलो र दोस्रो चरणको विस्तारपछि कन्टेनर यार्ड ७१ मिटर चौडाइको हुनेछ ।

कार्गो रेल सञ्चालनका लागि एकीकृत भन्सार जाँचचौकी, रेलवे र भारतीय भन्सारबीच विराटनगर भन्सारले समन्वयको काम गर्ने बताइएको छ । विराटनगर भन्सारका प्रमुख ताराप्रसाद सापकोटाले व्यापार सहजीकरण बैठकमा कार्गो रेल ल्याउने विषयमा छलफल गरिने बताउनुभयो ।

भन्सार प्रमुख सापकोटाका अनुसार रेल ढुवानीमा विराटनगर भन्सारमार्फत भारत तथा तेस्रो मुलुकमा हुने निकासी र तेस्रो मुलुकबाट पैठारी गर्दा हाल लाग्दै आएको सडक यातायातको खर्चमा ३५ प्रतिशतले कमी आउनेछ । विराटनगर भन्सार हुँदै भारत तथा तेस्रो मुलुक निकासी र पैठारी हुने मालवस्तु वीरगञ्ज नाकाबाट भइरहेको छ । यदि यो कार्गो रेल सञ्चालनमा आए विराटनगर नाकाबाट पनि आयात निर्यात बढ्ने विश्वास गरिएको छ ।

भन्सार प्रमुख सापकोटाले अन्तरसरकारी निकायबीचको समन्वय बढाउँदै भारतसँग उच्च सरकारीस्तरमा छलफल गरेर आईसीपीसम्मको रेलवेलाई प्रयोगमा ल्याउन पहल भइरहेको बताउनुभयो । उहाँले केही दिनअघि अर्थमन्त्री जनार्दन शर्मा विराटनगर आउँदासमेत उद्योगी व्यवसायीले भारतसँग वार्ता गरेर कार्गो ल्याउन पहल गरिदिन आग्रह गरेका थिए । भन्सार क्षेत्रको निरीक्षणमा जानुभएका अर्थमन्त्री शर्मालाई समेत भन्सार प्रशासनले त्यस विषयमा जानकारी गराएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?