logo
२०८१ बैशाख १३ बिहीवार



फुङ्फुङ्गे झरनामा आन्तरिक पर्यटक बढ्दै

खुला |
प्रदेश |


फुङ्फुङ्गे झरनामा आन्तरिक पर्यटक बढ्दै


चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर २० गते । ताप्लेजुङको पर्यटकीय गन्तव्य फुङ्फुङ्गे झरनाको अवलोकन गर्ने आन्तरिक पर्यटकहरुको भीड बढ्न थालेको छ । मिक्वाखोला गाउँपालिका–४ साँबामा रहेको फुङ्फुङ्गे झरनाको मनोरम दृश्य अवलोकन गर्न पुग्ने आन्तरिक पर्यटकहरुको पछिल्लो समय भीड बढ्दै गएको हो ।

फुङ्फुङ्गे झरनालाई यसअघि सरकारले पर्यटकीय गन्तब्यमा सूचिकृत गरेसँगै झरनाको अवलोकन गर्न जाने पर्यटकको सङ्ख्या बढ्दै गएको हो । निकै आकर्षक रहेको फुङ्फुङ्गे झरना नियाल्न तथा अवलोकन गर्न जिल्लाका विभिन्न क्षेत्रबाट आन्तरिक पर्यटक पुग्न थालेका छन् । सदरमुकाम फुङ्लिङ लगायतका ठाउँबाट झरनाको अवलोकन गर्न पर्यटक पुग्न थालेका र अहिले पर्यटकको भीड लाग्न थालेको साँबाका स्थानीय विजय लिम्बूले जानकारी दिनुभयो ।

फुङ्फुङ्गे झरनाको अवलोकन गर्न ताप्लेजुङबाहिर संखुवासभा, तेह्रथुम लगायतबाट समेत आन्तरिक पर्यटकहरु आउने गरेका लिम्बूले जानकारी दिनुभयो । पर्यटकीय गन्तव्यको रुपमा रहेको फुङ्फुङ्गे झरना आकर्षक मात्र नभई धार्मिकस्थलको रुपमा पनि महत्वपूर्ण स्थल भएकाले आन्तरिक पर्यटकहरु पुग्ने गरेको बताइएको छ ।

झरनाको पाउ (फेद) मा किराँतेश्वर महादेवको मन्दिर रहेकाले सो मन्दिरमा पूजापाठ गर्नेको सङ्ख्या बढ्दै गएको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार झरना नजिक मध्यमेवा जलविद्युत् आयोजनाको निर्माणकार्य भइरहेकाले पनि आन्तरिक पर्यटक तथा सर्वसाधारणको त्यहाँ उपस्थिति बढ्दै गएको पाइएको छ ।

हाल सहज यातायात सुविधा भएकाले पनि झरनाको अवलोकन गर्ने पर्यटकको उपस्थिति बाक्लिँदै गएको हो । पैदलयात्रा गर्नुपर्दा सदरमुकाम फुङ्लिङदेखि एकदिन पूरै हिंड्नुपर्नेमा अहिले यातायात सञ्चालनमा आएपछि करिब चार घण्टा गाडीमा यात्रा गरे झरना पुग्न सकिन्छ । यसरी यातायातको सुविधासँगै विस्तारै प्रचारप्रसार हुन थालेपछि आन्तरिक पर्यटकको उपस्थिति बढ्दै गएको साँबाका वडाध्यक्ष भीम लिम्बूले जानकारी दिनुभयो ।

यता फुङ्फुङ्गे झरनालाई पर्यटकीय गन्तव्यमा सूचीकृत गरिएसँगै प्रचारप्रसार तथा पदमार्ग, विश्रामस्थललगायत आवश्यक पूर्वाधार निर्माण गर्न शुरु गरिएकाले अब दिनदिनै पर्यटक बढ्दै जाने अपेक्षा राखिएको वडाध्यक्ष लिम्बूले बताउनुभयो । उहाँले आन्तरिक मात्र नभई बाह्य पर्यटकलाई समेत उपस्थित गराउनेगरी आवश्यक योजनाका लागि सरोकारवाला र सम्बन्धित पक्ष तथा निकायमा पहल भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?