logo
२०८० चैत्र १५ बिहीवार



सूर्य नेपाल गल्फ टुरमा आठ स्पर्धा

खेलकुद |


सूर्य नेपाल गल्फ टुरमा आठ स्पर्धा


काठमाडौँ, मङ्सिर १९ गते । नेपालको घरेलु व्यवसायिक गल्फ प्रतियोगिता ‘सूर्य नेपाल गल्फ टुर २०२१–२०२२’ मा आठ वटा प्रतियोगिता हुने भएको छ । कोरोना भाइरसका कारण रोकिएको टुरको पहिलो स्पर्धाको रुपमा सोमबारदेखि सूर्य नेपाल काठमाडौँ ओपन हुन लागेको आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनले जानकारी दिएको छ ।

‘कोरोनाले थलिएको गल्फलाई हामी पुनः चलायमान बनाउँदै छौँ । ढिलो गरी सुरु हुन लागेको गल्फ टुरमा यसपटक आठ वटा प्रतियोगिता समावेश गरिएको छ,’ आइतबार आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका महासचिव दीपक आचार्यले भन्नुभयो ।

वर्षभर चल्ने आठ प्रतियोगितामा सूर्य नेपाल काठमाडौँ ओपनसहित इस्टर्न ओपन, सेन्ट्रल ओपन, एनपीजीए म्याच प्ले, वेस्टर्न ओपन, सूर्य नेपाल च्यालेन्ज, एनपीजीए टुर च्याम्पियनसिप र प्रिमियर गल्फ च्याम्पियनसिप रहेको छ ।

घरेलु गल्फमा ब्यवसायिकता ल्याउने उद्येश्यले विगत १४ बर्षदेखि सूर्य नेपाल गल्फ टुरको आयोजना हुँदै आएको संघका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले बताउनुभयो । आठ स्पर्धाको कूल पुरस्कार रकम ५९ लाख ४६ हजार रुपियाँ रहेको पनि एसोसिएसनले जनाएको छ । टुरका खेलहरु काठमाडौँ, पोखरा र धरानमा सञ्चालन हुनेछन् ।

पार ६८ को रोयल नेपाल गल्फ क्लबमा सोमबारदेखि सुरु हुने काठमाडौँ ओपनमा ३४ जना व्यवसायिक र १२ जना एमेच्योरको सहभागिता रहनेछ । चार दिने प्रतियोगिताको विजेताले एक लाख १० हजार, उपविजेताले ७४ हजार र तेस्रो हुनेले ६० हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । कुल ७२ होलको चार दिने प्रतियोगितामा ३६ होलको समाप्तिसँगै व्यवसायिकतर्फ शीर्ष २१ र एम्योचरतर्फ ६ खेलाडी फाइनल चरणमा प्रवेश गर्नेछन् ।

ब्यवसायिकतर्फ फाइनलमा पुग्ने सबै खेलाडीले नगद पुरस्कार प्राप्त गर्ने बताइएको छ । व्यवसायिकतर्फ साविक विजेता शुक्रबहादुर राई, भुवन नगरकोटी, धन थापा र सञ्जय लामालाई उपाधिको दाबेदार मानिएको छ । एमेच्योरतर्फ १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी सुवास तामाङ मुख्य दाबेदार हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?