logo
२०८१ बैशाख ४ मंगलवार



मधेस शहीद गेटको निर्माणकार्य अन्तिम चरणमा

खुला |
प्रदेश |


मधेस शहीद गेटको निर्माणकार्य अन्तिम चरणमा


विजयकुमार साह
ढल्केवर, मङ्सिर १९ गते । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको प्रवेशद्वार मुजेलियामा निर्माण भइरहेको शहीद गेटको निर्माण कार्य अन्तिम चरण पुगेको छ । ढल्केवर–जनकपुर ६ लेन सडकको मुजेलियास्थित धनुष आकारमा बन्नलागेको मधेश शहीद गेटमा रङ लगाउने, भगवान राम र शहीदको प्रतीमा स्थापना गर्नुबाहेक अन्य काम सकिएको छ ।

ठेकेदार कम्पनी महतो कन्ट्रक्सनका सञ्चालक उमेश साहकाअनुसार जनकपुरधाम उपमहानगरपालिकाको करिब तीन करोड रुपियाँ लगानीमा शहीद गेट निर्माण हुन लागेको हो ।

जनकपुरधाम उपमहानगरपालिकासँग सम्झौता गरी २०७७ अषाढ २० गतेबाट काम सुरु गरेको निर्माण कम्पनीले २०७८ पुष मसान्तसम्ममा गेट निर्माण गरी हस्तान्त्ररण गर्नुपर्ने सम्झौता छ । तर ठेकेदार पक्षले ठेक्का अवधिभन्दा एक महिना अगाडि मङ्सिर मसान्तमै निर्माणकार्य सम्पन्न गरी नगरपालिकालाई हस्तान्त्ररण गर्नेगरी निर्माण कार्यलाई तीव्रता दिएको छ ।

पर्यटकीय तथा धार्मिक नगरीको रुपमा समेत चिनिएको प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम प्रवेश गरेको अनुभूति दिलाउने गरी गेट धनुष आकारमा बनिरहेको छ । गेटको माथिल्लो भागमा १४ फिटको भगवान रामको प्रतीमा र तीन वटा पिलरमाथि सहिद निक्कु यादव, सन्जय चौधरी र दिलीप यादवको प्रतिमा राखिने बताइएको छ ।

त्यसैगरी गेटको दुबै किनारमा मधेश आन्दोलनमा शहिद भएकाहरुको चित्र राखिनेछ । प्रतिमाहरु बनाउने काम तीब्ररुपमा भइरहेको छ । सम्भवतः यो महिनाको अन्तिम साता प्रतिमा स्थापना गरिसक्छौं, महतो कन्ट्रक्सनका सञ्चालक साहले भन्नुभयो ।

स्थानीय तहमा निर्वाचित भएलगत्तै जनकपुरधामका नगरप्रमुख लालकिशोर साहले कार्यपालिकाको पहिलो बैठकबाट मधेश आन्दोलनका सहिदहरुको सम्मानमा नगरको प्रवेशद्वारमा गेट निर्माण गर्ने निर्णय भएको बताउनुभयो ।

२०७७ अषाढ २० गते नगरप्रमुख साहले शहीद गेटको शिलान्यास गर्नुभएको थियो । गेट निर्माणका लागि उपमहानगरपालिकाले चार करोड रुपियाँ बजेट विनियोजन गरेको छ । ‘तीन करोडमा ठेक्का लागेको छ । अन्य भ्याटबिलसहित चार करोड खर्च हुने अनुमान उपमहानगरपालिकाले गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?