logo
२०८० चैत्र १६ शुक्रवार



रेलवे कानुन आयो, बजेट आएन

राष्ट्रिय |


रेलवे कानुन आयो, बजेट आएन


भउचप्रसाद यादव

काठमाडौँ, मङ्सिर १९ गते । रेल्वे अध्यादेश, २०७८ जारी भएसँगै जनकपुर–जयनगर रेल सञ्चालनका लागि कानुनी प्रक्रिया पूरा भए पनि सञ्चालनको अन्योल भने यथावत् छ । बजेटको अभावमा सो रेल सेवा कहिलेदेखि सञ्चालनमा आउने भने अझै सुनिश्चित हुन सकेको छैन । माग गरिएको रकम उपलब्ध नभएसम्म सो रेल सेवा सञ्चालनमा आउन नसक्ने नेपाल रेल्वे कम्पनीले स्पष्ट पारेको छ ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल्वे अध्यादेश जारीसँगै जनकपुर–जयनगर रेल सञ्चालनका लागि सबै प्रकारका कानुनी बाधा अड्चन समाप्त भए पनि आवश्यक बजेटको सुनिश्चितता नभएसम्म सो रेल सेवा सञ्चालन गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सो रेल सञ्चालनका लागि भारतीय कम्पनीले उपलब्ध गराउने ‘कोर’ जनशक्ति र प्राविधिकका लागि सो कम्पनीलाई सम्झौताअनुसारको ३५ करोड रुपियाँ भुक्तानी गर्नुपर्ने हुन्छ । सो रकमको सुनिश्चितता नभएसम्म भारतीय प्राविधिक नेपाल आउन नसक्ने भएकाले रेल सञ्चालनमा आउन सक्दैन ।”

उहाँका अनुसार रेल्वे कम्पनीले रकमको सुनिश्चितताका लागि अर्थ मन्त्रालयसँग प्रक्रिया अगाडि बढाएको छ । मन्त्रालयबाट बजेटको सुनिश्चितता भएको केही दिनमै तिथिमिति तोकेर रेल सञ्चालनमा ल्याइनेछ । अहिले रेल्वे कम्पनीसँग रेल सेवा सञ्चालनका लागि आफ्नो कुनै स्रोत नरहेको अवस्थामा सरकारसँग ऋण वा अनुदान लिनुपर्ने बाध्यात्मक अवस्था रहेको स्पष्ट पार्दै उहाँले त्यही भएर अर्थ मन्त्रालयसँग स्रोत सुनिश्चितता खोजेका हौँ भन्नुभयो ।

महाप्रबन्धक झाका अनुसार भारतीय कम्पनीले डेढ महिनादेखि भुक्तानीका लागि नेपाल रेल्वे कम्पनीलाई ताकेता गरिरहेको छ । दुई पटक औपचारिक रूपमा पत्र नै पठाइसकेको छ । मन्त्रालयबाट बजेट सुनिश्चित भइसकेपछि ज्यालादारीमा १५० जना कर्मचारी नियुक्ति गरेर रेल सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।

नेपाल रेल्वे कम्पनी र भारतीय कोँकण रेलवे कर्पोरेसन लिमिटेडबीच भएको सम्झौताअनुसार नेपालले भारतलाई २२ करोड भारतीय रुपियाँ पठाउनुपर्ने हो, जसको अग्रिम भुक्तानीस्वरूप २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने हो । सो रेल सञ्चालनका लागि चाहिने मुख्य जनशक्ति एक वर्षसम्म कोँकण रेलवे कर्पोरेसन लिमिटेडले नै उपलब्ध गराउने गरी सम्झौता गरिएको हो ।

महाप्रबन्धक झाका अनुसार सञ्चालनमा नआउँदै दुवै रेलको ‘वारेन्टी’ अवधिसमेत समाप्त भइसकेको छ । दुवैै रेलमा निर्माण कम्पनीले एक वर्षको ‘वारेन्टी’ दिएको थियो । त्यसैगरी रेल छोपिएको त्रिपाल चिराचिरा भइसकेको छ । एक वर्षदेखि घाम र पानी सहँदै आएको रेल जीर्ण बन्दै गएका छन् । अहिले दुवैै रेल इनर्वा स्टेसनमा एक वर्षदेखि पार्किङ गरी राखिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?