logo
२०८१ बैशाख १३ बिहीवार

  किटु बस दुर्घटना चालकको कथा  



‘कसैले सोध्दैनन्, जसोतसो जीवन जिएकै छुँ’

खुला |
प्रदेश |


‘कसैले सोध्दैनन्, जसोतसो जीवन जिएकै छुँ’


प्रेमराज सिम्खडा
कालीकोट, मङ्सिर १८ गते । २०६६ साल चैत ५ गते दैलेख साविकको पीपलकोट गाविस हालको आठबिस नगरपालिकाको किटुभिरमा बस दुर्घटना भएको थियो । कालीकोट जिल्लाको हुल्म बजारबाट ४७ जना यात्रु लिएर सुर्खेततर्फ गइरहेको बस किटुमा पुग्दा सडकको लिक छोड्यो । भिरबाट लडेर बस कर्णाली नदीमा डुब्यो । कर्णाली लोकमार्ग सञ्चालन पछिको सबैभन्दा ठूलो दर्दनाक घटना थियो किटु बस दुर्घटना ।

कर्णाली नदीको छालमा यत्रतत्र छरिएका लाश देख्ने जो कोहीका आँखाबट बलिन्द्रधारा आँसु बगिरहेका थिए । आफन्तको कोलाहल त्यस्तै थियो । घाइतेलाई लिनआएको हेलिकोप्टरले आकाशमा फन्को मार्दै बस्ने ठाउँको खोजी आकाशबाटै गरियो । त्यो दृश्य सम्झिने हो भने आफ्न्त गुमाएका परिवारको मात्र होइन जो कोहीको छाति भकानिन्छ ।

त्यही कहाली लाग्दो दुर्घटनाबाट जोगिएका आधा शरीर गुमाएका चालक अहिले सडक छेउमै बसेर आफ्नो जीवन जसोतसो बिताइरहेको बताउनुहुन्छ । कालीकोट छाप्रे ७ का ४० वर्षका नमराज भण्डारा दुर्घटना भएको ना ३ ख ५८६८ नम्बरको काँक्रेविहार यातायात समितिको बसचालक हुनुहुन्थ्यो । गाडी साहु, चालक र सहचालकसहित ५० जना मान्छे बसमा सवार थिए ।

उहाँले भन्नुभयो, 'गाडीले लिक छोड्यो, गाडीसाहु दैलेखका कृष्णराज बुढा ढोका खुला भएकाले सडकमै हाम फालेर ज्यान जोगाउनुभयो । म भिरतिर भएकाले हाम फाल्ने त के सोच्ने पनि समय पाइनँ ।' सुरुमा गाडीले ठूलो आवाज दिएको उहाँले स्मरण गर्नुभयो । 'बसको प्रमुख पट्टा भाँचियो । स्टेरिङले कामै गरेन । गाडीलाई भित्तामा लिन खोजे तर सकिनँ', उहाँले भन्नुभयो ।

उपचारको सिलसिलामा होसमा आएपछि मैले चलाएको बस दुर्घटना भएर ३८ जनाको ज्यान गएको थाहा पाएको उहाँले बताउनुभयो । 'गाडी साहुलाई त हाम फालेको देखेको थिएँ । सहचालक भाइ पनि चलानी हेर्दै गाडीको पछि पुगेर पुनः ढोकामा पुगेको याद थियो' उहाँले भन्नुभयो, 'तर उनी पनि ३८ जनासँगै परेछन् ।' यत्रो यात्रुको त ज्यान गयो म किन बाँचे हुँला भनेर थप पीडा भएको उहाँले स्मरण गर्नुभयो ।

'आफन्तहरुले सम्झाई वुझाई गरे । तर मनमा पीडा अहिले पनि छ', उहाँले भन्नुभयो । समितिलाई जोगाउन बिमा वापतको पैसासमेत फिर्ता गरेका चालकले हाल आएर कसैले पनि सोधपुछ नगर्दा पीडा हुनेगरेको बताउनुभयो । भण्डाराले दुर्घटनापछि उपचार गरेर घर आउँदा सात लाख रुपियाँ बिमा रकम पाउनु भएको सम्झनुभयो ।

त्यसैबाट एक लाख ५० हजार रुपियाँ समितिलाई फिर्ता गरेको बताउनुभयो । सात लाख रुपियाँ भित्रको बचेको पाँच लाख ५० हजारमा साथीहरुले खुसियाली गरेको उहाँले सम्झनुभयो । त्यसैमा ५० हजार खर्च भएको र बाँकी पाँच लाख ल्याएर घर आएको उहाँले सम्झनुभयो ।

'समितिका कुनै पनि व्यक्ति सम्पर्कमा छैनन् । समितिका गाडी आउँछन्, तर कोही बाेल्दैनन', भण्डाराले पीडा सुनाउनुभयो । मान्छे आएको देख्छु वैशाखी समाउँदै जाँदाजादै बस गुडेर गइहाल्छ उहाँले भन्नुभयो । आफू हुँदासम्म मात्र हो, सम्बन्ध भन्ने लाग्छ भण्डाराले गुनासो गर्नुभयो ।

आफुले तलव वापतको ४५ हजार रुपियाँ अझै पनि गाडी साहुबाट नपाएको भण्डाराले गुनासो गर्नुभयो । 'नम्बर पनि छैन । दैलेखका पूर्वसासद राजबहादुर बुढाका भाइ कृष्णराज बुढा मेरा साहु हुन', उहाँले भन्नुभयो । 'न नम्बर छ न उहाँहरु कोही मेरो खोजी गर्नुभएको छ', भण्डाराले भन्नुभयो, 'स्थानीय सरकारले दिएको क वर्गको सामाजिक सुरक्षा भत्ता, श्रीमतीको होटलको सानो कमाईले दुई छोरी एक छोरा गरी पाँच जनाको परिवार चलेको छ ।'

अहिले उहाँ ४० वर्षको हुनुभएको छ । घाइते हुँदा २८ वर्षको भएको उहाँले बताउनुभयो । भारतमा सानो उमेरदेखि गाडी चलाएकाले आफूसँग राम्रो अनुभव रहेको उहाँले बताउनुभयो । खराब सडक र गाडीको मुल पट्टा भाँचिदा गाडी दुर्घटनामा परेको उहाँले स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, 'दुखी भएर पनि के गर्नु, भाग्यमा यही लेखेको रहेछ ।' आजसम्म परिवारको साहरा पाएको छुँ, यही खुशी हो भण्डाराले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?