logo
२०८० चैत्र १५ बिहीवार



गोला प्रथाको पहिलो दिन नौ मुद्दामा आदेश

मुख्य समाचार |


गोला प्रथाको पहिलो दिन नौ मुद्दामा आदेश


काठमाडौं, मङ्सिर १५ गते । सर्वोच्च अदातमा बुधबार गोलाप्रथाबाट पेशी तोकिएको २१७ मुद्दामध्ये नौ मुद्दामा आदेश जारी भएको छ । सर्वोच्चका अनुसार चारमा फैसला, नौमा आदेश, ३६ मा स्थगित, एकमा हेर्न नमिल्ने र १२२ हेर्न नभ्याइने सूचीमा राखिएको छ ।

गोला प्रथाबाट बुधबार दुई एकलसहित ११ संयुक्त इजलास तोकिएको थियो । गोला प्रथाबाट तोकिएको इजलासमा न्यायाधीशद्वय दीपककुमार कार्की र टंकबहादुर मोक्तानको संयुक्त इजलास परेको छ ।

यसैगरी न्यायाधीशद्वय हरिकृष्ण कार्की र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठ, विश्वम्भरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठ, आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्मा, अनिलकुमार सिन्हा र कुमार रेग्मी, प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाँल, सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगाना तथा तेजबहादुर केसी र नहकुल सुवेदीका लागि संयुक्त इजलार गठन भएको सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

साथै न्यायाधीशद्वय मीरा खड्का र डा. कुमार चुडालको लागि एकल इजलास गठन भएको छ । बुधबारका लागि १८ न्यायाधीश सर्वोच्चमा उपस्थित हुनुहुन्थ्यो । तर, कानुन व्यवसायीले सर्वोच्चमा कायममुकायम प्रधानन्यायाधीश कसलाई तोकेको भन्ने प्रश्न गरेपछि इजलास प्रभावित भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोरोना सङ्क्रमण भएपछि सोमबारदेखि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना हुनुभएको छ । कानुन व्यवसायीले प्रधानन्यायाधीशले काम गर्न नसकेको अवस्थामा कायमकुमायम प्रधानन्यायाधीशको जिम्मेवारी दिनुपर्ने संवैधानिक व्यवस्था रहेको भन्दै प्रश्न उठाउनुभएको हो । यसले इजलास केही बेर प्रभावित भएको थियो ।

संविधानको धारा १२९ को (६) मा प्रधानन्यायाधीश कुनै कारणले आफ्नो पदको काम गर्न असमर्थ भएमा वा प्रधानन्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा सर्वोच्चको वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भएर काम गर्ने व्यवस्था छ ।

बुधबार सर्वोच्चमा न्यायाधीशलाई गोला प्रथाद्वारा मुद्दाको पेशी तोकिएको छ । नेपालमा न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रथाद्वारा मुद्दाको पेशी तोकिएको हो ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?