logo
२०८१ बैशाख ७ शुक्रवार



केन्द्रीय कारागारमा बिरामी कैदीबन्दी बढ्दै

पढ्नै पर्ने |
समाज |


केन्द्रीय कारागारमा बिरामी कैदीबन्दी बढ्दै



काठमाडौं, मङ्सिर १३ गते । नेपालमा कारागारहरुको अवस्था दयनीय छ । कतिपय कारागारमा न्यूनतम आधारभूत मानवीय पूर्वाधार छैनन् । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले पुग्दो शौचालय नभएको केन्द्रीय कारागार, सुन्धाराका शाखा अधिकृत रविन राईले बताउनुभयो । विद्यालय र अस्पतालको सुविधा भएकाले त्यहाँ धेरैजसो बिरामी कैदीबन्दी आउने गर्दछन् ।

‘यो दरमा कैदीहरु बढ्ने हो भने अबको पाँच वर्षमा यो कारागार बिरामी कारागार बन्न सक्छ,’ उहाँ बताउनुहुन्छ, ‘राम्रो काम गर्नेलाई वर्षको दुई महिना कैद छुटको व्यवस्थालगायतको सुविधा छ, यो कारागार नभई एउटा सुधार गृहको रुपमा पनि छ ।’

कारागार एउटा ज्ञानको सागर मात्र नभएको बताउनुहुँदै उहाँले भन्नुभयो, ‘सबैले आफ्नो जीवन नयाँ ढङ्गले जिउनको लागि सिप सिकेर जान्छन् ।’ कैदीबन्दीलाई दिनुपर्ने सबै प्रकारका सुविधाहरु नियमानुसार दिएको भन्दै उहाँले भन्नुभयो, ‘अपुग रहे पनि दैनिक ६० रुपियाँ खर्चको रुपमा दिइएको छ ।’

उहाँका अनुसार कम्तीमा पनि दैनिक एक सय रुपियाँ भए गुजारा चलाउन सकिन्थ्यो । अधिकृत राईले भन्नुभयो, ‘हामीले अर्थमन्त्रालयमा बजेट बढाउनुपर्ने भन्दै सुझाव पठायौँ, तर मन्त्रालयबाट बजेट अभाव रहेको भन्दै तत्काल बढ्न नसक्ने कुरा आएको छ ।’

वर्षमा मौसम अनुसार दुई जोर कपडा दिइन्छ, उहाँहरुलाई स्याहार्ने, औषधि उपचार गर्ने, खानपिनको व्यवस्था गर्न समस्या रहेको बताउनुहुँदै उहाँले भन्नुभयो, ‘यो जाडो मौसम हो, प्यारालाइसिसका बिरामी मात्रै झण्डै दुई सय जना हुनुहुन्छ भने मानसिक रोगका बिरामीको सङ्ख्या त्यस्तै धेरै छ, सरसफाइको लागि उहाँहरुलाई वर्षको दुई जोर कपडाले पुग्दैन ।’

अरुले अन्य आय आर्जनका काम गरेर पैसा कमाउन सक्नुहुन्छ तर बिरामी र अशक्त कैदीबन्दीलाई समस्या रहेको अधिकृत राईले बताउनुभयो । तर कारागारमा अहिले व्यवस्थापनको काममा सुधार भएकोे बताउँदै कम्प्युटर सिस्टमको मद्दतबाट भेटघाटलाई व्यवस्थित गरिएको छ ।

भेटघाट गर्न आउनेले विगतमा झुक्याउने गरेकोमा अहिले कोड दिएर सिस्टममा ल्याएका छौँ, कोड थिच्ने वित्तिकै सबै विवरण आउने भएकाले व्यवस्थित भएको छ ।’
हामीले अर्को सिस्टम पनि ल्याएका छौँ, धेरै काम गर्नुपर्दा एउटा कोड थिचेपछि तीन वटा पत्र निस्कने सिस्टमको पनि विकास गरेका छौँ, यसले एकै छिनमा धेरै काम हुन्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?