logo
२०८१ बैशाख ७ शुक्रवार



लिगमा एनआरटी र ब्रिगेड ब्वाइजको बराबरी

फुटबल |
खेलकुद |


लिगमा एनआरटी र ब्रिगेड ब्वाइजको बराबरी


काठमाडौँ, मङ्सिर १३ गते । न्युरोड टिम (एनआरटी) र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

दशरथ रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने राम्रा अवसर खेर फालेका थिए । बराबरीसँगै एनआरटीले लिगमा पहिलो अंक प्राप्त गरेको छ । एनआरटी लिगको आफ्नो पहिलो खेलमा साविक विजेता मच्छिन्द्र क्लबसँग २–१ गोलले पराजित भएको थियो ।

ब्रिगेडले भने लिगमा अपराजित यात्रा कायम राखेको छ । पहिलो खेलमा एपीएफ क्लबलाई ३–२ गोलले पराजित गरेको ब्रिगेडको दुई खेलबाट चार अंक पुगेको छ । ब्रिगेडका शिशिर लेखी ‘म्यान अफ दी म्याच’ हुनुभयो ।

खेलपछि ब्रिगेडका प्रशिक्षक सनोज श्रेष्ठले सेटका खेलाडी घाइते हुँदा राम्रो खेल्न नसकेको बताउनुभयो । ‘आजको खेल ५०-५० थियो । दोस्रो हाफमा मौका पाएर पनि गोल भएन । बराबरीबाट सन्तुष्ट छौँ,’ श्रेष्ठले भन्नुभयो ।

एनआरटीका सहायक प्रशिक्षक जीवन सिंकेमानले खेलाडीले तयारी अनुसार सोचेजस्तो प्रदर्शन गर्न नसकेको बताउनुभयो । ‘बल पासेसन राख्न पनि सकिएन । मिसपास धेरै भयो । विदेशी र नेपाली खेलाडीबीच तालमेल नमिल्दा गोल भएन । खेलाडीबीच भाषाको पनि समस्या छ,’ सिंकेमानले भन्नुभयो ।

लिगअन्तर्गत सोमबार (आजै) साँझ साविक विजेता मच्छिन्द्र र उपविजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । मच्छिन्द्रले पहिलो खेलमा एनआरटीलाई २–१ गोलले हराएको थियो । आर्मी पुलिससँग १–१ गोलको बराबरी रोकिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?