logo
२०८० चैत्र १६ शुक्रवार



अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा

अन्तर्राष्ट्रिय |


अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा


न्युयोर्क, मङ्सिर ११ गते । अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गर्नु भएको अधिकारीहरुले जनाएका छन् ।

कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ भेरियन्ट अझ खतरनाक रहेको लगायतका कारणले संकटकाल लगाउनुपरेको उहाँले स्पष्ट पार्नुभएको छ ।

“पछिल्लो समयमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना हुनेहरुको सङ्ख्या बढेकाले थप महामारी फैलिन नदिनका लागि संकटकाल लगाइएको हो,” गभर्नरले भन्नुभएको छ ।

कोरोनाभाइरस पछिल्लो समयमा एकबाट अर्कोमा सर्ने क्रम पनि तीव्र देखिएकाले थप चिन्तित बनाएकाले सतर्कता अपनाउनुपरेको उहाँको भनाइ छ ।

अहिले घोषणा गरिएको संकटकाल आगामी सन् २०२२ को जनवरी १५ सम्म लागू हुने र आवश्यकता अनुसार लम्बिन पनि सक्ने उहाँले स्पष्ट पार्नुभएको छ ।

शुक्रबार बेलुका निर्देशन जारी गर्दै उहाँले संकटकाल लागू गरेसँगै अस्पतालको क्षमता वृद्धिमा पनि सरकारले काम गर्ने जानकारी दिनुभयो । त्यसैगरी खोपको प्रयोगलाई पनि विस्तार तथा वृद्धि गर्ने उहाँको भनाइ छ ।

दक्षिण अफ्रिकामा नयाँ कोरोनाभाइरसको रुपमा ओमिक्रोन कोरोनाभाइरस फैलिएको भन्ने सूचनाका आधारमा पूर्वसतर्कता स्वरुप पनि न्युयोर्कमा संकटकालको घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् ।

न्युयोर्कसहित अमेरिकाले अन्य राज्यहरुलाई पनि उच्च सतर्कता अपनाउन तथा प्रतिबन्धात्मक व्यवस्थाहरु लागू गर्न आह्वान गरेको छ ।

त्यसैगरी बेलायत, क्यानडालगायत कैयौं युरोपेली मुलुकलाई समेत विदेशबाट आउने यात्रुहरुको प्रवेशमा कडाइ गर्न सुझाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?