logo
२०८० चैत्र १६ शुक्रवार



अटोबाटै स्वदेशमा मनग्य कमाई

खुला |
प्रदेश |


अटोबाटै स्वदेशमा मनग्य कमाई


बाबुराम देवकोटा
सिन्धुलीमाढी, मङसिर ९ गते । कमलामाई नगरपालिका– ४, निवासी विनोद रानामगरले अटो किनेर सदरमुकाम सिन्धुलीमाढीमा चलाउन सुरु गर्नुभएको छ । अटोबाट दैनिक हुने आम्दानीले उहाँलाई माम र दाम दुवै राम्रो दिएको छ । ‘समय दिनसके सबै खर्च कटाएर दिनको १५ सयदेखि १८ सय रुपियाँ बस्छ,’ उहाँले भन्नुभयो ।

पाँच लाख रुपियाँ किस्ताबन्दीमा अटो किनेका रानामगरले कमाएर घरपरिवार पाल्दै आएको उहाँले बताउनुभयो । ‘बिहानै अटो लिएर निस्किन्छु, दिनको १५ देखि १८ सय कमाइ भइहाल्छ,’ उहाँले भन्नुभयो, ‘घर बसेर कमाउन पाउँदा खुसी लागेको छ ।’

तीनपाटन गाँउपालिका– २ भिमस्थानका २२ वर्षिय विमल मगर पनि अटोबाट मनग्य आम्दानी हुन थालेपछि दंग पर्नुभएको छ । बसपार्क चोकमा यात्रु पर्खेर बसेका उहाँले भन्नुभयो, ‘महिनाको धेरै नभए पनि १५ हजार रुपियाँ त मज्जाले कमाइन्छ ।’

सिन्धुलीको पुष्प कार्कीले कतारमा आठ वर्षसम्म प्लम्बिङको काम गर्नुभयो । अर्काको देशमा रातदिन पसिना बगाए पनि आत्मसम्मान नपाएपछि नेपाल फर्किएर अटो चलाउन सुरु गरेको उहाँले बताउनुभयो ।

अटो किनेर गाउँमै स्वरोजगारी बन्नु भएका पुप्पले भन्नुभयो, ‘अर्काको देशमा किन गुलामी गर्ने भनेर अटो किनियो, राम्रो आम्दानी लिइरहेको छु ।’ स्वरोजगार भएपछि कसैको करकापमा बस्नु नपरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । छिटो छरितो यात्राका लागि सवैले अटो नै खोज्छन् । कार्कीले वर्दिवास, लालबन्दि, जनकपुर र सदरमुकाम आसपासका ठाँउमा यात्रुलाई पुर्याउने गर्नुहुन्छ ।

अर्का महिला सरिता सुनुवारको दिनचर्या पनि अटो चलाएर नै बित्ने गरेको छ । उहाँले पाँच लाख रुपियाँमा अटो किन्नु भएको छ । पहिला घरधन्दामा व्यस्त हुने उहाँ अहिले अटो चलाएर मासिक २५ देखि ३० हजारसम्म कमाउनु हुन्छ । उहाँले भन्नुभयो, ‘मनग्य आम्दानी गरेकी छु । पहिला श्रीमानको आशमा बस्नु पथ्र्यो, अहिले कसैको आश गर्नु परेको छैन । आफनो लागि आफै केही गरौं भन्ने उद्देश्य हो ।’

‘पहिलाको अवस्थाभन्दा अहिले पारिवारिक अवस्था पनि सुध्रिदैगएको र जिविकोपार्जनका लागि अटो नै रोजे की हुँ’ उहाँले भन्नुभयो, ‘अटो चलाउन थालिसकेपछि अरुको आश गर्न छोडेको र कसैको दबाबमा बस्नुपरेको छैन । दुईवटा छोरीलाई पनि अहिले म आफैले कमाएर नै पढाएको छु ।’

सदरमुकाममा रातमाटा, ढुंग्रेवास, चियावारी, हिरापानी, माझीटार, मिलनचोक, साङवाले, खट्टार, मधुटार, रानीखोला, गडौली, पानीट्याङ्की, माइस्थान, भिमान, महिला चालकहरुको दैनिकी रुट हो । सबै अटो चालकहरुको औसत मासिक कमाई २० हजार रुपियाँभन्दा बढी नै छ ।

अहिले प्रतिस्पर्धा भएर आम्दानी घटेको महिला टेम्पुचालकहरु बताउँछन् । महिला टेम्पुचालकहरु पनि आफ्नो पेशामा सन्तुष्ट रहेको बताउँछन् । घरको काम गरेर पनि पेशा सम्हाल्न पाउँदा उहाँहरुलाई आनन्द लागेको छ । सदरमुकाम सिन्धुलीमाढीबाहेक सडक भएको जुनसुकै स्थानमा पनि उनीहरु रिजर्भमा जानेगरेका छन् । सदरमुकाममा यतिखेर पाँचसयभन्दा बढी अटो रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?