logo
२०८० चैत्र १६ शुक्रवार



मल नपाएर गहुँ नछरेको अधिकांश किसानको गुनासो

खुला |
समाज |


मल नपाएर गहुँ नछरेको अधिकांश किसानको गुनासो
मलका लागि नेपालगञ्ज कृषि सामाग्रीमा पुगेका किसानहरु । तस्विर ः सिराज खान । नेपालगञ्ज



सिराज खान
नेपालगञ्ज, मङ्सिर ९ गते । गहुँ छर्ने तयारीमा रहेका बाँके र बर्दियाका सयौं किसान अहिले मल नपाएर हैरान छन् । दुई सातादेखि मलका लागि दौडधुप गरिरहे पनि मल नपाएर गहुँ छर्न नसकेको जनाउँदै भारतबाट आएको महङ्गो मल खरिद गर्न बाध्य भएको उनीहरुको गुनासो छ । बाँके जानकी गाउँपालिका मानपुरका किसान रमेश यादवले मल नपाएर हालसम्म गहुँ नछरेको बताउनुभयो । ‘दुई हप्तादेखि मलको लागि दौडधुप गरिरहेको छु । नपाएर हैरान भैसकेँ ।’ – यादवले भन्नुभयो ।

हिउँदेबाली लगाउने समय जान लागिसक्दा पनि मल नपाएर खेती गर्न नसकेको बर्दिया बढैयाताल गाउँपालिका ४ का रामफेरन चौधरीको दुःखेसो छ । उहाँले मलका लागि धेरै ठाउँ गए पनि मल नपाएर फर्किनुपरेको बताउनुभयो । यतिबेला बाँके र बर्दियामा मलको चरम अभाव रहेको छ । मल नपाएपछि केहीले सीमापारीबाट अवैध तरिकाले ल्याइएको महङ्गो मल खरिद गरेर गहुँ छर्ने काम गरिरहेका छन् ।

बाँके डुडुवा ४ का किसान शंकर मौर्यले नेपालमा खरिद गर्दा ८४६ रुपियाँ पर्ने युरिया मल भारतबाट ल्याएको एकजनासँग एक हजा भन्दा बढीमा खरिद गर्नुपरेको बताउनुभयो ।उहाँले नेपालमा नपाउँदा भारतबाट सहज रुपमा ल्याउन दिनुपर्नेमा ल्याउन नदिँदा चोरी तस्करी गरेर ल्याउनेले अतिनै महङ्गोमा विक्री गरिरहेको मौर्यको गुनासो छ । उता, अभावकै कारण कृषि सामग्री संस्थान कम्पनी लिमिटेड बाँके र बर्दियाले खरिद गरेर ल्याएको मल एक दिनमै सकिने गरेको छ ।

कृषि सामाग्री संस्थान कम्पनी लिमिटेड बाँकेका प्रमुख रमेश पौडेलले ६० मेट्रिक टन आएको बताउनुभयो । उहाँले उक्त मल एकै दिनमा सकिएको जनाउनुभयो । ‘मागभन्दा निकै थोरै मल आउँछ । एकै दिनमा सकिन्छ,’ प्रमुख पौडेलले भन्नुभयो, ‘पछिल्लो पटक आएको मल राप्तीसोनारी र डुडुवा गाउँपालिकाका किसानलाई थोरथोरै वितरण गर्न सहकारीलाई दियौँ ।’

पौडेलका अनुसार बाँकेका लागि तीन हजार मेट्रिक टन युरिया, छ हजार मेट्रिक टन डिएपी र एक सय टन पोटास आवश्यक पर्छ । तर, मल निकै कम आउँछ । सोही प्रकारले बर्दिया जिल्लाका लागि युरिया, पोटास र डिएपी गरी १२ हजार टन मल आवश्यक पर्छ । कृषि सामाग्री संस्थान कम्पनी लिमिटेड बर्दियाका प्रमुख मोहनसिंह केसीले यस वर्ष पाँच सय मेट्रिक टनमात्रै मल आउने बताउनुभयो । आएको मल एकै दिनमा सकिएको उहाँले पनि जनाउनुभयो ।

‘बर्दियाका लागि मल १३ हजार मेट्रिक टन माग छ । हामीले पाउने कोटा पाँचसय मेट्रिक टन हो अनि कसरी मल पु¥याउन सकिन्छ,’ उहाँको प्रश्न छ । कृषि समाग्री कम्पनी लिमिटेडले यस वर्ष प्रति बोरी युरिया मल ८४६, डिएपी २ हजार २९६ र पोटास एक हजार ६९६ रुपियाँ मूल्य तोकेको छ । मल नपाउँदा किसानहरु भारतबाट तस्करी गरी ल्याइएका सरदार नामक युरिया र डिएपी मल खरिद गर्न बाध्य छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?