logo
२०८० चैत्र १६ शुक्रवार



चार वर्षदेखि काठमाडौंको सडक विस्तार ठप्प , मुआब्जा समस्या

राष्ट्रिय |


चार वर्षदेखि काठमाडौंको सडक विस्तार ठप्प , मुआब्जा समस्या



काठमाडौं,मङ्सिर ३ गते । काठमाडौं जिल्लामा २०७४ सालबाट रोकिएको सडक विस्तारको काम अझै सुरु हुन सकेको छैन । तर त्यसअघि शुरू भएका काठमाडौंका विभिन्न १२ वटा सडकको २५३.३९ किमी लम्बाई विस्तार भएको छ ।
सडक विस्तार कार्यक्रम सुरु गर्दा सुरुमा तिब्रता पाए पनि त्यसपछिका वर्षमा भने विस्तार कार्यले तिब्रता पाउन सकेको छैन । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा आ.व २०६८/६९ सालबाट सुरु भएको सडक विस्तारको काम आ.व २०७४/७५ बाट नै रोकिएको छ । सडक विस्तारका विषयमा सर्वोच्च अदालतमा सडक विस्तारविरुद्व मुद्दा परेपछि काम रोकिएको थियो । पछि सर्वोच्चले उक्त मुद्दामा फैसला सुनाउँदै जग्गाधनीलाई मुआब्जा उपलब्ध गराई सडक विस्तार गर्न सकिने जनायो । तर मुआब्जा उपलब्ध गराई विस्तार गर्न बजेटले नै नपुग्ने हुँदा काम रोकिएको काठमाडौं उपत्यका विकास प्राधिकरण काठमाडौंका प्रमुख आयुक्त दिनेशकृष्ण पोतेले बताउनुभयो । ‘फैसलाअनुसार क्षतिपूर्ति दिन हामीसँग कुनै बजेट नै पुग्दैन,पहिले भन्दा अहिले धेरै रकम दिनुपर्छ त्यो अहिले दिन सकिने अवस्था नै छैन,पोतेले भन्नुभयो ‘क्षतिपूर्तिमा नै कम बजेट आउँछ ,कसरी क्षतिपूर्ति दिनु।’ टोलका मानिस सबैको सहमतिमा सडक विस्तार गरिदिन आग्रह गरे मात्र प्राधिकरणले विस्तार गर्ने अवस्था भएको उहाँले सुनाउनुभयो । ‘गतसाल १० लाख आएको थियो तर क्षतिपूर्ति ४०/५० करोड तिर्नुपर्छ साह्रै समस्या छ,’ पोतेले भन्नुभयो ।
काठमाडौं जिल्लाभित्र रहेका सडकमध्ये महाराजगञ्ज चोकदेखि पश्चिम तर्फ(रिङरोड),चाबहिल चोक देखि मेडिकेयर अस्पतालसम्म र एयरपोर्ट गोल्डेनगेट अगाडिसम्मको सडको चौडाइ ६२ मिटर तोकिएको छ ।
यस्तै माइतीघरदेखि तीनकुनेसम्म ५० मिटर, लैनचौर दुग्ध विकास संस्थानदेखि मल्ल होटलसम्म, चक्रपथ बालाजु बाइपास क्षेत्र ,कृष्ण पाउरोटी चोकदेखि रातो पुलसम्म, कालीमाटी चोकदेखि बल्खुचोक हुँदै टीयू गेटसम्म र खानी विभागदेखि लाजिम्पाट हुँदै महाराजगञज चोक, गोल्फुटार चोक बूढानीलकण्ठसम्म २२ मिटर चौडा गर्ने प्रस्ताव छ ।
यस्तै गौह्रीधारा नारायणहिटी पर्खालदेखि छाप्ने गणेशसम्म,नक्साल नारायण चौर ,प्रहरी महानिरीक्षक निवास गौरीधारा ,सभामुख निवास हुँदै बालुवाटार तीन दोबाटोसम्म १६ मिटर, नयाँबानेश्वर पानीट्याङकी अगाडिको घरटहरा तथा बगैँचा,मैतीदेवी सेतोपुल, भगवतीबहाल सानो गौचरण हुँदै कालोपुल सिफल हुँदै मित्रपार्कसम्म ,सिफल पीपलबाटो हुँदै जयवागेश्वरी रिङ्रोडसम्म, ज्ञानेश्वर चोक भैरव मन्दिर हुँदै तीनदोबाटोसम्म ,पुरानो बानेश्वर चोक देखि नयाँ बानेश्वर हुँदै शंखमुल पुलसम्म र डिल्ल्बीजार चोक , जैन मन्दिर चोक भगवती बहाल , भाटभटेनी प्रधानमन्त्री निवास बालुवाटार हुँदै महाराजगञ्ज सम्म १४ मिटर सडक चौडा गर्ने प्रस्ताव भैसकेको छ ।
यता, हनुमानस्थानदेखि थापागाउँ हुँदै बानेश्वरसम्म, बाँसको झाङ्देखि कालिकास्थान हुँदै डिलीबजार चोकसम्म, चाबहिल गणेस्थानदेखि लामपोखरी हुँदैै कटुवालसम्म ११ मिटर, जयनेपाल हलदेखि नागपोखरीसम्म ,गाईबाच्छा पाटी हुँदै बाहिटी ब्यारेक बाफल चोक रिङ्रोडसम्म, पवित्र वर्कशप देखि टुँडालसम्म ,कोटेश्वर चोकदेखि सेतिओपी मार्ग हुँदै झोलुङ्गे पुलसम्म, मुनिभैरव मन्दिर किष्ट हुँदै पेरिसडाँडाको फेदसम्म गणेश सरस्वती मन्दिर सामुदायिक मार्ग र सुविधा मार्गको पूरै भाग, प्रगति मार्ग र प्रयागमार्गको सडक आठ मिटरको चौडा बनाउने प्रस्ताव  छ ।
यस्तै, दशरथचन्द मार्ग बालुवाटारदेखि विशालनगर चोकसम्म,बत्तीसपुतली सूर्यविक्रम ज्ञवाली मार्ग,कुलेश्वर गणेशस्थान देखि कलङ्की चक्रपथ सम्म ,सोल्टिमोड–छिन्नलता चोक–वाफल चोक हुँदै चक्रपथ मकालु कलङ्कीसम्म र वाफल चोक, गाई बाच्छापाटीसम्म छ मिटर र कुमारीमार्ग घट्टेकुलोदेखि बरबोटसम्म ,मिलनटोल का.म.पा वडा न १३ सम्म र अनामनगरदेखि घट्टेकुलो हुँदै डिल्लीबजार चोकसम्म चार मिटर सडक चौडा गर्ने प्रस्ताव रहेको प्राधिकरणले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?