logo
२०८० चैत्र १६ शुक्रवार

तस्बिरमा मुस्ताङकाे आकर्षक ढुम्बा ताल

खुला |
फोटो फिचर |
पर्यटन |


2021-11-19-50875


अमृतप्रसाद पौडेल
बेनी, मङ्सिर २ गते । पर्यटकीय क्षेत्रहरुको राजधानी नै भन्दा पनि फरक पर्दैन हिमालपारिको जिल्ला मुस्ताङलाई । प्रत्येक स्थान महत्वपूर्ण अनि मनमोहक रहेको मुस्ताङको सदरमुकाम नजिकै रहेको ढुम्बा ताल पनि निकै महत्वपूर्ण पर्यटकीयस्थल हो । सदरमुकाम जोमसोम देखि दुई किलोमिटर नजिकै पर्ने ढुम्बा ताल दृश्यावलोकनका लागि निकै आकर्षक मानिन्छ ।
जोमसोम देखि ठिनि हुँदै पुगिने ढुम्बा ताल प्रकृतिको अनुपम उपहार मानिन्छ । हिमाली जिल्लामा रहेको ताल जिल्ला सदरमुकाम जोमसोमबाट दक्षिण पश्चिमतर्फ दुई किमि छ । ठिनी गाउँबाट एक किलोमिटर मात्रै दुरीमा पर्ने उक्त ताल पर्यटकहरुका लागि सँधै सबै समय नै उत्तिकै आकर्षक मानिन्छ ।
ढुम्बा तालको उत्तरतर्फ नीलगिरी हिमाल, पश्चिमतर्फ कुछपतेरङ गुम्बा, पूर्वतर्फ प्रसिद्ध घरपझोङ किल्ला छ । यसै किल्लाको नामबाट जिल्ला सदरमुकाम समेत रहेको घरपझोङ गाउँपालिकाको नामकरण गरिएको स्थानीयको भनाइ छ । यस तालको पुरातात्विक सम्बन्ध नजिकै रहेको कुछपतेरङ गुम्बासँग पनि रहेको छ । परापूर्वकालदेखि यही तालको शुद्ध जलको प्रयोग गरी गुम्बामा पूजाआजा गर्ने गरेको स्थानीय जानकारहरू बताउँछन् ।
ताल हेर्न दिनहुँ सयौं आन्तरिक तथा बाह्य पर्यटक आइपुग्छन् । हिउँदमा चिसोका कारण पर्यटकको संख्या केही घटे पनि गर्मीयाममा उल्लेख्य देखिन्छ । तालको नजिकै रहेर मनोरम प्राकृतिक दृष्यको आनन्द लिनको लागि सहजता होस् भनेर आर्म चेयर, पिङ तथा फोटो चेयरहरू समेत राखिएको छ । ती चियरहरूमा बसेर तथा पिङको आनन्द लिँदै पर्यटकले तालको पृष्ठभूमिमा फोटो खिच्ने गरेका छन् ।
केही वर्ष अघि यस तालमा नेपाली चलचित्र ‘जेरी’ को छायाङ्कनपछि नेपाली युवा पुस्ताहरुले यसलाई ‘जेरी ताल’को नामबाट पनि चिन्ने जोमसोमकी स्थानीय बासिन्दा प्रजु गुरुङको भनाइ छ । अन्य धेरै नेपाली चलचित्रहरु यस तालको सेरोफेरोमा छायांकन गरिएको छ । अहिले मुस्ताङ क्षेत्रमै छायांकनको क्रममा रहेको कबड्डी–४ को पनि दृष्य यस क्षेत्रको वरपर छायांकन हुने निर्माण पक्षको भनाइ छ ।
हिउँदको समयमा यस तालको सतहको पानी जम्ने र ताल वरपरको भूभागमा हिउँले ढाक्ने हुँदा थप आर्कषक देखिन्छ । तालको सतही भाग जमेको बेला छेउछाउमा पर्यटकले पैदल हिँडेर मनोरञ्जन लिने तथा सतहको पानी जमेको बेला त्यसमाथि ससाना बरफका टुक्राहरु फाल्दै र छेउछाउमा हिँड्दै गर्दा साहृै रमाइलो भएको काठमांडौदेखि आएका साथीहरुलाई ढुम्बा ताल लिएर आउनुभएका स्थानीय आभा शेरचनले प्रतिक्रिया दिनुभयो ।
तालमा सिल्भर कार्भ, ग्रास कार्भ र केही मात्रामा असला प्रजातिका माछाहरु समेत पाइने जोमसोमकी स्थानीय बासिन्दा प्रजु गुरुङको भनाइ छ । माछाहरु स्थानीयहरुले धार्मिक विश्वास र तालको सौन्दर्य बढाउनका लागि यस तालमा छोड्ने गर्दछन् । ती माछाहरु कसैले मार्न पाइँदैन र माछाका लागि ताल संरक्षण समितिद्वारा तोकिएका आहारा माछालाई दिने व्यवस्था गरिएको समेत गुरुङको भनाइ छ । यी माछाहरु पनि तालमा पर्यटककाे आकर्षणको कारण बनेका छन् ।
यस पालिकाको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा यस तालको प्रचारप्रसार तथा पूर्वाधार निर्माण गर्नको लागि घरपझोङ गाउँपालिकाले विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ, साथै गाउँपालिकाले यस ताललाई आफ्नो गौरवका आयोजनाको सूचीमा समेत राखेको घरपझोङ गाउपालिका उपाध्यक्ष सर्मिला गुरुङको भनाइ छ ।
घरपझोङ गाउँपालिकाका अलावा यस तालको प्रवर्धन, प्रचार प्रसार तथा पूर्वाधार विकासमा गण्डकी प्रदेश सरकारले समेत विशेष महत्व दिएको छ । गण्डकी प्रदेश सरकारका एकसय पर्यटकीय गन्तव्यको सूचीमा ढुम्बा ताललाई समावेश गरिएको छ ।