logo
२०८१ बैशाख १२ बुधवार



चौरपानी गाउँको ६० घरमा खानेपानी धारा जडान

खुला |
प्रदेश |


चौरपानी गाउँको ६० घरमा खानेपानी धारा जडान


प्रतीक इच्छुक शर्मा
सल्यान, कात्तिक २२ गते । वागचौर नगरपालिका ३ चौरपानीका ५५ वर्षीया टोपी शर्मालाई खानेपानीका लागि विहान सवेरै कुवा पुग्नुपर्ने वाध्यता अहिले हटेको छ । घर–घरमा खानेपानी धारा जडान भएपछि उहाँको दैनिकी फेरिएको हो ।

पहिले पानीका लागि घरभन्दा करिव आधा घण्टा हिड्नु पथ्र्यो । अहिले आँगनमै पानी धारा छ । शर्माले भन्नुभयो, “घरमै पानी धारा होला भन्ने सोचेकी पनि थिईनँ ।” यसअघि गाउँमा खानेपानीको निकै समस्या भएको उहाँले बताउनुभयो ।

लामो समयदेखि खानेपानीको समस्या वेहोर्दैआएका सल्यान वागचौर नगरपालिका ३ चौरपानीमा लिफ्ट खानेपानी सञ्चालनमा आएपछि यहाँका ६० घरपरिवारलाई खानेपानी सजिलो भएको छ । खानेपानी उपभोक्ता समितिका अध्यक्ष शेरवहादुर शाहीले ६० परिवार रहेको चौरपानीमा गाउँमा अहिले घर घरमै धारा जडान भएको बताउनुभयो ।


उहाँकाअनुसार प्रत्येक घरमा खानेपानीको धारा निर्माण गरेपछि अब सबैलाई सुरक्षित खानेपानी उपभोग गर्न सहज भएको छ । उपभोक्तालाई दैनिक ३ घण्टा धारामा पानी उपलब्ध हुनेगरेको छ । उपभोक्ताले मासिक न्यूनतम ८० रुपियाँ शुल्क तिरेर धारा जडान गरेका छन् ।


बस्तीभन्दा ६ सय मिटर तल रहेको पानी लिफ्ट प्रविधिबाट बस्तीमा वितरण गरिएको छ । उर्जा तथा जलस्रोत विकास कार्यालय सल्यानको १ करोड रुपियाँ लागतमा लिफ्ट प्रविधिबाट खानेपानीको धारा वितरण गरिएको छ । उर्जा तथा जलस्रोत विकास कार्यालय सल्यानका कार्यालय प्रमुख पदमप्रसाद देवकोटाले पानीको धारा जडान भएपछि सरसफाइको क्षेत्रमा पनि सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?