logo
२०८१ बैशाख ७ शुक्रवार



पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य

खुला |
प्रदेश |


पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य


चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक ८ गते । ताप्लेजुङका ग्रामीण सडकहरुमा पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न स्थानीयहरु बाध्य छन् । पछिल्लो समय ग्रामीण क्षेत्रसम्म यातायात सुविधा पुगे पनि स्थानीय खोलामा मोटरेवल पुल नहुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।

गाउँसम्म सडकको पहुँच बिस्तारसँगै यातायात सेवा सञ्चालनमा आएपछि स्थानीयलाई लामो तथा छोटो दूरीको यात्रा गर्न भने सहज भएको छ । हाल गाउँबस्तीदेखि सदरमुकामसम्म स्थानीयले गाउँघरदेखि नै यातायात सुविधा उपभोग गर्न पाएको स्थानीयको भनाइ छ । सदरमुकामदेखि पाँचथर, इलाम, झापाहुँदै प्रदेश राजधानी विराटनगर तथा सङ्घीय राजधानी काठमाडौंलगायत अन्य क्षेत्रको लामो यात्रामा निस्कनु पर्दासमेत स्थानीयले गाउँदेखि नै सवारीसाधन चढ्न पाएका छन् ।

स्थानीयहरु लामो तथा छोटो दूरीका लागि सवारी साधनको उपभोग गर्न पाउनु भएपनि बाटो समस्याका कारण जोखिम पनि बढेको बताउनुहुन्छ । अधिकांश ग्रामीण सडक मापदण्डअनुसार नबेका कारण स्थानीय खोलाहरुमा पुल नहुँदा यात्रा जोखिमपूर्ण रहेको छ ।

फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका अमर अन्छङ्बोले स्थानीय खोलाहरुमा मोटरेवल पुल नहुँदा जोखिम मोलेरै यात्रा गर्न बाध्य हुनुपरेको बताउनुभयो । पहाडी क्षेत्रमा बग्ने खोला ठाडो हुने र सामान्य वर्षा हुँदा पनि चाँडै पानीको सतह बढ्नेगरेकाले यात्रामा समस्या हुनेगरेको उहाँको बुझाई छ । खोलामा पुल नहुँदा सबैभन्दा बढी यात्रा जोखिम हुने अन्छङ्बोले बताउनुभयो ।

यस्तै, फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपका स्थानीय दिलकुमार लिम्बूले पनि दुर्गम गाउँसम्म सडकको पहुँच पुगेपछि यातायात सुविधा भएको तर स्थानीय खोलामा पुल नहुँदा यात्रा जोखिम रहेको बताउनुभयो । लिम्बूका अनुसार निर्माणाधीन ओलाङ्चुङगोला उत्तर–दक्षिण लोकमार्गका कारण लेलेप, तापेथोकजस्ता दर्गम क्षेत्रका स्थानीयले हाल यातायात सुविधा उपभोग गर्न पाएका छन् ।

जिल्लाको पूर्वी सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकाका गाउँमा पनि क्रमशः सडकको पहुँचसँगै यातायात सुविधा पुग्न थालेको छ । सडक बनेपनि स्थानीय खोलाहरुमा मोटरेबल पुल नहुँदा जोखिम मोलेरै यात्रा गर्ने गरेका छन् । सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकाको सिमानामा रहेको तावा खोला तथा सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिन र वडा नं. ६ मेहेलेको सिमानामा बग्ने सुन्तले खोलामा पुल नहुँदा यात्रा जोखिम रहने स्थानीयको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?