logo
२०८० चैत्र १५ बिहीवार



नारायणगढ–बुटवल सडक विस्तार आयोजना, बिजुलीको पोल सारिदै

खुला |
प्रदेश |


नारायणगढ–बुटवल सडक विस्तार आयोजना, बिजुलीको पोल सारिदै


ज्ञानु पंगेनी
कावासोती, कात्तिक ७ गते । देशकै गौरबको आयोजनाका रुपमा लिएको नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी नवलपरासी खण्डमा बिजुलीको पोल सार्ने काम शुरुभएको छ ।

पहिलो चरण अन्तर्गत कावासोतीको खरकट्टा जंगलक्षेत्र र बौलाहा खोला, मुकुन्दे खोला र झरही खोला पुलको आसपास स्थानमा नयाँ पोल गाड्ने काम सुरुभएको आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो । पहिलो चरणमा नेपाल बिद्युत् प्राधिकरण कावासोतीसँगको समन्वयमा नयाँ पोल गाड्ने काम सुरु गरिएको आचार्यले बताउनुभयो ।

पुलको काम सुरु गर्न बिजुलीको पोलले बाधा पुर्याउने हुँदा पहिलो चरणमा पुलको आसपास र जंगलक्षेत्रबाट नयाँ पोल गाड्ने काम सुरु गरेको आचार्यले बताउनुभयो । सडकको क्षेत्रफलभन्दा बाहिर नयाँ पोल गाड्ने काममा अहिले कामदार खटिएका छन् । “नयाँ पोल गाडेर तार टाँगेपछि पुरानो पोलदेखि बिजुलीको तार सार्ने काम गरिने छ” आचार्यले भन्नुभयो ।

आयोजनाका ईन्जीनियर प्रविण थापाकाअनुसार पहिलो चरणमा खरकट्टा जंगलको चार किलोमिटर क्षेत्रफलमा नयाँ पोल गाडिने छ । त्यसपछि अन्य जंगलक्षेत्र तथा बजार क्षेत्रमा गरी पूर्वी खण्डमा पर्ने ६५ किलोमिटर क्षेत्रफलको बिजुलीको पोल सार्ने काम हुने थापाले जानकारी दिनुभयो ।

विद्युत प्राधिकरण कावासोतीका प्रमुख अमितकुमार कर्णले बिजुलीको पोल हटाउने सन्दर्भमा निर्माण कम्पनीसँग समन्वय गर्ने काम भइरहेको बताउनुभयो । उहाँले पोल सार्ने, रुख कटान गर्ने समयमा विद्युत् आपूर्ती बन्द गर्नुपर्ने भएकाले त्यसकालागि समन्वय गर्ने र पोल सार्न आवश्यक परेको खण्डमा प्राविधिक खटाउने काम गरेको बताउनुभयो ।

सडक विस्तारको काम अहिलेसम्म ८ प्रतिशत मात्रै सम्पन्न भएको उहाँले बताउनुभयो । काममा पैसा खर्च भएको हिसाबले प्रगति प्रतिशत निकाल्ने गरिन्छ, अहिलेसम्म रुख काट्ने र माटो भर्ने काम भएकाले भौतिक प्रगति थोरै देखिएको आचार्यको भनाई छ । यी काम सकिएर अन्य काम शुरु भएपछि भौतिक प्रगति बढ्ने उहाँले बताउनुभयो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटबलको ११४ किलोमिटर खण्ड तीन वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण सम्झौता भएर २०७५ चैत ८ देखि निर्माण शुरु भएको थियो । एशियाली विकास बैंक एडिबीको ऋण सहयोगमा विस्तार शुरु गरिएको नारायणगढ–बुटवल सडक आयोजनाको ठेक्का चाइना स्टेट कन्स्ट्रक्शन इञ्जिनीयरिङ कर्पोरेशनले १६ अर्ब ९९ करोड ५२ लाख रुपियाँमा पाएको छ । ११४ किमी सडकखण्डको काम गैँडाकोट–दाउन्ने (६५ किमी) र दाउन्ने–बुटवल (४९ किमी) दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?