logo
२०८१ बैशाख ८ शनिवार

बर्दियामा बाह्रसय ३७ घर डुबानमा, ३१२ सय हेक्टरको धान सखाप (फोटो फिचरसहित)

खुला |
फोटो फिचर |
प्रदेश |


2021-10-22-49040


मुकुन्द सुवेदी
बर्दिया, कार्तिक ५ गते । कर्णाली नदीमा आएको बाढीले बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा क्षति पुर्याएको छ । आइतबारदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव तीव्र हुँदा केही स्थानमा बाँध फुटेर र केही स्थानमा बाँध माथिबाट गाउँतर्फ पानी पसेको थियो ।
मङ्गलबार बिहानदेखि बस्तीतर्फ पसेको पानी हालसम्म पनि बस्तीमा पानी रहेको छ । मंगलबार रातिदेखि बस्तीमा पानीका मात्रा विस्तारै कम हुँदै गएको स्थानीयले बताएका छन् ।
बाढीका कारण राजापुर नगरपालिका वडा नं १ मा ७४८ वडा नं ३ मा १२० र वडा नं ७ मा १५९ घर धुरी गरी जम्मा एक हजार २७ घरधुरी डुबानमा परेका छन् । त्यसैगरी, गेरुवा गाउँपालिका वडा नं २ मा एक सय र वडा नं ३ मा ११० गरी जम्मा२१० घरधुरी डुबानमा परेका छन् । डुबानमा परेका घरधुरीको अन्नपात लत्ताकपडा लगायत घरायसी सामानहरु बगाएको छ । विहानपख बाढी पसेको कारण मानवीय क्षति भने भएको छैन ।
विपत् व्यवस्थापन समिति बर्दिया, राजापुर नगरपालिका, गेरुवा गाउँपालिका र सुरक्षाकर्मीको टोलीले उद्धार तथा राहत वितरण कार्य जारी राखेका छन् । बाढी घट्ने क्रम रहेको हुनाले उद्धार भन्दा पनि पानी र राहतका कार्यक्रम अगाडि सारेको राजापुर नगरपालिकाका नगरप्रमुख शिवप्रसाद चौधरीले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी बहादुर सुनारका अनुसार राहत र उद्धारको लागि विपत् व्यवस्थापन समितिले निर्णय गरी विपत् समाधानका लागि उद्धार र राहतका कार्यक्रम ल्याइएको छ । कर्णाली नदीको जलस्तर १०.८ मिटर खतराको तह पार गरी १३.१० मिटर भन्दा माथि पुगिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हाल नदीको जलस्तर घढ्दो क्रममा रहेको छ ।
नदीको पानी बस्तीमा पसेपछि घरमा भण्डारण गरेको खाद्यान्न मात्र नभएर भित्र्याउने बेलाको धान पूर्णरुपमा नष्ट भएको छ । खेतमा काटेर राखेको धानवाली तथा खेतमा काट्ने बेलाको धान पूर्णरुपमा नोक्सान भएको छ । खेतमा थुपारेर राखेको धान बगेको छ । बग्नबाट बचेको धान पनि उम्रन थालेको स्थानीयले बताएका छन् । बर्दियामा करिब ६० हजार हेक्टर जग्गामा धान खेती हुने गरेको छ । जसमा १८ हजार हेक्टर राजापुर क्षेत्रमा धानखेती गरिन्छ । जसमा १२ सय हेक्टर धानखेती बाढीका कारण पूर्णरुपमा नोक्सान भएको छ भने करिब ६ सय हेक्टर धानबाली आंशिक रुपमा क्षति भएको छ । वर्षभरी खाने खाद्यान्न बाढीले नोक्सान गरेपछि कृषक चिन्तित छन् ।