logo
२०८१ बैशाख १३ बिहीवार



सर्लाहीमा पहिलो ग्रिड सवस्टेशन तयार, लोड दिने तयारी

खुला |
प्रदेश |


सर्लाहीमा पहिलो ग्रिड सवस्टेशन तयार, लोड दिने तयारी


जनार्जन खत्री
सर्लाही, कात्तिक ४ गते । नेपाल विद्युत् प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका– १, नवलपुरमा १३२–३३ केभीए क्षमताको ग्रिड सवस्टेशन निर्माण सम्पन्न गरेको छ ।

निर्माणको सम्पूर्ण काम पूरा भई ‘नो लोड’ मा चार्ज समेत गरिसकिएको ग्रिड सवस्टेशनका प्रमुख निरन्जन साहले जानकारी दिनुभयो । उहाँकाअनुसार करिव ४० लाख रुपियाँ लागतमा नवलपुरस्थित लखन्देखी खोला नजिकै ग्रिड सवस्टेशन तयार पारिएको हो ।

ग्रिड सवस्टेशनलाई बिहिवार अबेर नभए, शुक्रवारसम्ममा लोड दिने तयारी भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सुरुमा लालबन्दी र हरिवनको ११ केभिए फिडरमा लाईन दिईने छ ।

त्यसपछि हरिपुर, मलङ्गवा र बरहथवा वितरण केन्द्र अन्तर्गत ३३ केभिए प्रशारण लाईनमा सप्लाई दिनेगरी काम भइरहेको ग्रिड सवस्टेशनका प्रमुख साहले बताउनुभयो । जिल्लामै पहिलो ग्रिड सवस्टेशन बनेपछि सर्लाहीका लागि लामो जङ्गल छिचोल्दै रौतहटको चन्द्रनिगाहपुरदेखि विद्युत् ल्याउनुपर्ने बाध्यता अन्त्य हुनेभएको छ ।

रौतहटको जङ्गलमा सामान्य प्राविधिक समस्या आउँदा जिल्लाभर घण्टाँै विद्युत् अवरुद्ध हुने गरेको थियो । अब सामान्य हावाहुरी चल्दा र पानी पर्दा त्यसरी लामो समयसम्म विद्युत् अवरुद्ध हुने समस्याबाट जिल्लावासीले मुक्ती पाउने अपेक्षा गरिएको छ ।

सर्लाहीवासीले लामो समयदेखि छिनछिनमै बत्ती गइरहने र बत्ती आएको समयमा समेत भोल्टेज नआउने समस्या झेल्दै आएका छन् । ग्रिड सवस्टेशन तयार भएपछि विद्युत आपूर्तिमा समस्या नआउने स्थानीयमा आशा पलाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?