logo
२०८० चैत्र ६ मंगलवार



बाढी, पहिरो र डुबानमा परी ५८ जनाको मृत्यु, १५ जना घाइते

मुख्य समाचार |


बाढी, पहिरो र डुबानमा परी ५८ जनाको मृत्यु, १५ जना घाइते


गोरखापत्र अनलाइन
काठमाडौं,कात्तिक ३ गते । सोमबारदेखि परेको अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ५८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । नेपाल प्रहरीले जनाए अनुसार बाढी पहिरोमा परी प्रदेश १ मा ३०,बागमती प्रदेशमा एक ,कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा २० जना गरी जम्मा ५८ जनाको मृत्यु भएको हो ।
साथै प्रदेश  १ मा १४ र कर्णाली प्रदेशमा एक गरी १५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको नेपाल प्रहरीले जनाएको छ । बाढी पहिरोमा परी बेपत्ता हुनेमा प्रदेश १ मा तीन र सुदूरपश्चिम प्रदेशमा २३ गरी २६ जना रहेका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार बाढीको कारण अहिलेसम्म एक हजार २८ वटा घर डुबानमा परेका छन् । ३० घर, दुई गोठ, चार पुल, र तीन सरकारी कार्यालयमा क्षति पुगेको छ भने एक सय एक वटा पशु चौपायको मृत्यु भएको छ । यस अवधिमा भएका एक सय ३४ वटा विपद्का घटनाबाट एक हजार ५० वटा घर परिवार विस्थापित भएको प्रहरीको तथ्याङ्क छ। ।
कतिपय स्थानमा भएको बाटो अवरोध हटाउने कार्य प्रहरीले जारी राखेको जनाइएको छ । जसमध्ये सल्यान कपुरकोट गाउँपालिका–५ अरिङगालेफेदीस्थित राप्ती राजमार्ग, दैलेख गुराँस गाउँपालिका–४ लुहा खोलास्थित सुर्खेत दैलेख सडक खण्ड, लमजुङ मर्स्याङदी गाउँपालिका–४ अर्खलेबेशीस्थित बेसिशहर मनाङ सडक खण्ड, बैतडी दोगडा केदार गाउँपालिका–६ सल्सेना र चम्तडी, ईलाम देउमाई नगरपालिका–३ मुलख्रर्कस्थित झुत्रेखोला नजिक नेपालटार–मंगलबारे सडक खण्ड र दार्चुला शैल्यशिखर नगरपालिका–६ पनेबाज दुधलिगाड, गवानी र सोही नगरपालिका–५ बगौडास्थित सडक खण्ड लगायत विभिन्न स्थानमा भएको सडक अवरोध खुलाउने कार्य जारी रहेको जनाईएको छ।
साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?