logo
२०८० चैत्र ६ मंगलवार

  दृश्य समाचार  



खेतमा 'ट्रेन्च' खनेर काटेको धान जोगाउन सकिन्छ : धान विज्ञ

अर्थ |


खेतमा 'ट्रेन्च' खनेर काटेको धान जोगाउन सकिन्छ : धान विज्ञ


विष्णु पाण्डेय, दृश्यमा मनोजरत्न शाही/केशव गुरुङ्
काठमाडौं,कार्तिक ३ गते । केही दिनदेखि परेको अबिरल वर्षाका कारण धान खेतीमा ठूलो क्षति पुगेको छ । देशका अधिकांश भूभागमा परेको वर्षाका कारण काटेर भित्र्याउन ठिक्क पारेको धान पानीले भिज्दा किसान चिन्तित भएका छन् ।

धान भित्राउने समयमा पानी पर्दा यसवर्ष धान उत्पादन क्षमतामा कमी आउने राष्ट्रिय कृषि अनुषन्धान परिषद् (नार्क)का धान वैज्ञानिक सुशीलराज सुवेदीले बताउनुभएको छ । जसका कारण यो वर्ष चामलको आयात बढ्न सक्ने उहाँले बताउनुभयो ।

नकाटेको धानको तुलनामा काटेर खेतमा सुकाएको धानलाई अहिलेको पानीले बढी असर गर्ने उहाँको भनाइ छ । विहीबारदेखिनै मौसममा सुधार नहुने अवस्था आए किसानहरुले खेतबाट पानी तर्काएर बाला भिजेको धानलाई जोगाउनुपर्ने उहाँको भनाइ छ । धानको बाला पानीमा भिजे तीन–चार दिनमै उम्रन सक्ने भएकाले किसान मौसमप्रति सचेत हुन उहाँको आग्रह छ ।

तराईका क्षेत्रमा पानी निकासमा कठिनाई हुने भएकाले खेतमा ट्रेन्च (कुलो) बनाएर खेतको पानी तर्काएर खेत सुख्खा बनाइ धानका बालालाई पानीबाट जोगाउन सकिने उहाँले बताउनुभयो । किसानहरुले मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीको ख्याल नगरेर कृषि कार्य गरिरहँदा पनि यस्तो अवस्था देखिएको सुवेदीले बताउनुभयो । देश संघीयतामा गैसकेपछि स्थानीय तहमा कृषि प्राविधिकहरुको अभाव र भएका प्राविधिकसँग पनि किसानले सुझाव नलिँदा पनि समस्या आएको उहाँ बताउनुहुन्छ ।

बाहिरी देशहरुमा एस.एम.एसबाटै किसानहरुलाई मौसमबारे अलर्ट गर्ने गरेको कारण उनीहरु कृषि कार्य गर्दा सचेत हुने सुवेदी बताउनुहुन्छ । नेपालमा पनि कृषकहरुलाई प्रविधिमैत्री गराई यसरी सूचनाहरु दिन सके कृषिमा यस्ता समस्याहरु नआउने उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?