logo
२०८० चैत्र ६ मंगलवार



काभ्रेमा राष्ट्रिय परिचयपत्रको लागि दुई लाख बढीले विवरण दर्ता गराए

खुला |
प्रदेश |


काभ्रेमा राष्ट्रिय परिचयपत्रको लागि दुई लाख बढीले विवरण दर्ता गराए


केदार तिमल्सिना
बनेपा, कात्तिक ३ गते । राष्ट्रिय परिचयपत्रका लागि काभ्रेपलाञ्चोकमा लक्ष्यभन्दा धेरै नागरिकले परिचयपत्रको लागि विवरण दर्ता गराएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले गत फागुन ६ गतेदेखि काभ्रेमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन सुरु गरेको हो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जिल्लामा लक्ष्यभन्दा बढी विवरण सङ्कलन भएको जानकारी दिनुभयो । २०७४ सालको निर्वाचनमा सहभागी दुई लाख ७२ हजार ३१२ मतदातामध्ये ७० प्रतिशत अर्थात् एक लाख ९० हजार ८८८ जनाले विवरण सङ्कलन गराउने लक्ष्य लिइए पनि जिल्लामा दुई लाख दश हजार २९ जनाले विवरण सङ्कलन गराएको बताउनुभयो ।

जिल्लाको चौरीदेउराली र तेमाल गाउँपालिकामा लक्ष्यभन्दा कम नागरिकले विवरण सङ्कलन गराएको उहाँको भनाई छ । जल्लाको रोशी गाउँपालिकामा १२ हजार ७६९ जना, खानीखोला गाउँपालिकामा चार हजार ९६८ जना, महाभारत गाउँपालिकामा सात हजार ६८९ जना, बेथानचोक गाउँपालिकामा दश हजार ९७ जना, भुम्लु गाउँपालिकामा नौ हजार ६०३ जना र चौरीदेउराली गाउँपालिकामा सात हजार ८९६ जनाले विवरण सङ्कलन गराएका उहाँले जानकारी दिनुभयो ।

यसैगरी तेमाल गाउँपालिकामा नौ हजार २९ जना, नमोबुद्ध नगरपालिकामा १८ हजार ६९५ जना, धुलिखेल नगरपालिकामा १८ हजार ३५८ जना, मण्डनदेउपुर नगरपालिकामा १७ हजार ७१२ जना, पाँचखाल नगरपालिकामा २२ हजार ५२२ जना, पनौती नगरपालिकामा ३० हजार १९२ जना, बनेपा नगरपालिकामा ३० हजार १९२ जना र जिल्ला प्रशासन कार्यालयमा बुधबारसम्म दश हजार एकसय जनाले परिचयपत्रको लागि विवरण सङ्कलन गराएका छन् ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले जिल्लामा सञ्चालित विवरण सङ्कलन अभियान असोज २१ गतेबाट सम्पन्न भएको बताउनुभयो । उहाँले विवरण दर्ता गराउन बाँकी रहेका नागरिकको विवरण सङ्कलनको काम प्रशासन कार्यालयबाट हुने जानकारी दिनुभयो । विवरण सङ्कलनका लागि जिल्लामा ९९ जना अपरेटर, फर्म भर्ने सहयोगी १६७ जना र रुजु अधिकारी १५७ जना खटाइएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?