logo
२०८० चैत्र ६ मंगलवार



बाढी, पहिरो पीडितको उद्धार सरकारको प्राथमिकतामाः अर्थमन्त्री शर्मा

राष्ट्रिय |
प्रदेश |


बाढी, पहिरो पीडितको उद्धार सरकारको प्राथमिकतामाः अर्थमन्त्री शर्मा


जनार्जन खत्री
सर्लाही, कात्तिक ३ गते । अर्थमन्त्री जनार्दन शर्माले सरकार बाढी, पहिरो र डुबान पीडितको व्यवस्थापनमा जुटिसकेको र रातमा प्राथमिकता दिएको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) का नेता शिवपुजन रायका पिता अमिरिलाल रायको श्रद्धान्जलि सभामा सहभागी हुन वुधवार सर्लाहीको रामनगर गाउँपालिका– ५, बिर्ताटोल आउनुभएका अर्थमन्त्री शर्माले तत्काल प्रभावितहरुको उद्धारको काम भइरहेको बताउनुभयो । यथाशीघ्र राहत प्याकेज समेत घोषणा गरिने जानकारी दिनुभयो । बेमौसमी वर्षाले तराई, पहाड सबैतिर जनधनको क्षति गरेकोप्रति सरकार चिन्तित रहेको अर्थमन्त्री शर्माको भनाई छ ।

हेलिकप्टरमार्फत सर्लाही आउनुभएका अर्थमन्त्री शर्माले परिवर्तन नचाहनेहरुले अहिले माओवादी पार्टी र अध्यक्ष प्रचण्डमाथि आक्रमण गरिरहेका बताउनुभयो । पार्टीको स्थायी समिति सदस्य समेत रहनुभएका अर्थमन्त्री शर्माले चौतर्फी घेराबन्दीका बाबजुद आफूहरु देशलाई अग्रगमनतर्फ लैजान र परिवर्तनहरु संस्थागत गर्न लागिपरेको बताउनुभयो ।

पूर्वमन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य रामेश्वरराय यादवको अध्यक्षतामा पार्टीकोतर्फबाट श्रद्धान्जलि सभा आयोजना गरिएको माओवादी केन्द्र सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिनुभयो । साबिक सिसौट, गडहीया डुमरिया र गहडीया गाविसको गरी चार पटक गाविस अध्यक्ष हुनुभएका अमिरिलाल रायको गत असोज २३ गते निधन भएको थियो ।

श्रद्धान्जलि सभामा सहभागी हुनुअघि मन्त्री शर्माले बरहथवा नगरपालिकास्थित निकै पुरानो हीरापुर ब्यारेजको निरीक्षण समेत गर्नुभयो । मन्त्री शर्मालाई बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतो, पूर्वसांसद नरेन्द्र साह लगायतले ब्यारेजको अवस्थाबारे जानकारी गराउनुभयो ।

नगरप्रमुख महतो र पूर्वसांसद साहले किसानलाई सहज सिँचाईको प्रवन्ध मिलाउन हीरापुर र मानपुर ब्यारेजको मर्मत सम्भारका लागि पहल गरिदिन अर्थमन्त्री शर्मासँग आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?