logo
२०८१ बैशाख ७ शुक्रवार



हिउँदे वर्षा हुँदै हिउँ पर्ने सम्भावना

खुला |


हिउँदे वर्षा हुँदै हिउँ पर्ने सम्भावना


गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १ गते । पश्चिमी वायुको पहिलो झड्काले नै यस वर्ष झन्डै एक साता वर्षा गराउने भएको छ । गत वर्ष मनसुन सकिएलगत्तैको पोस्ट मनसुन खेडेरी युक्त रह्यो । यसपाला भने मनसुनको बहिर्गमनसँगै पश्चिमी वायुले सुरुवाती चरणमै आफ्नो सक्रियता देखाउँदै एक साता लामो वर्षा गराउने भएको हो । यसका साथै हिउँदको सङ्केत गर्दै छिट्टै उच्च हिमाली भेगमा हिमपातसमेत गराउने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसमी बुलेटिनका अनुसार पश्चिमी वायुसँगै यतिबेला नेपालमा अन्य दुई मौसमी प्रणालीको प्रभाव पनि परेको छ । जसअनुसार बङ्गालको खाडीमा बनेको न्यूनचापीय रेखा, मध्य प्रदेशको तेलङ्गनामा बनेको न्यूनचापीय रेखा र पश्चिमी वायुको वर्षा प्रणालीको गहिरो असर नेपालमा देखिएको हो । यही अवसर छोप्दै पश्चिमी वायुले पूर्वीय वायुलाई पूर्णतया विस्थापित गरिसकेकाले अब देशभर आफ्नो प्रभाव जमाउने प्रयत्न गरिरहेको छ । योसँगै पोस्ट मनसुनको सक्रियता र हिउँदे वर्षाको आगमनको सङ्केत दिएको छ ।

तीनवटै मौसम प्रणालीका कारण शनिबार रातिदेखि नै देशका अधिकांश स्थानमा बदली सुरु भएको छ । केही स्थानमा वर्षा सुरु भइसकेको छ । यो क्रम झन्डै साताभर कायम रहने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबार र मङ्गलबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायतका पश्चिमी भेगमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । मङ्गलबारदेखि प्रदेश १ का धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुने आकलन गरिएको छ ।

बुधबारदेखि प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । साथै नेपालका उच्च हिमाली भेगमा हिमपातको बलियो सम्भावना रहेको छ ।
मौसमविद् बासीका अनुसार बिहीबारदेखि मौसममा सुधार हुनेछ । तथापि देशका केही भेगमा हल्का वर्षा भने अझै केही दिन कायम रहने अनुमान गरिएको छ । चाडबाडको समय रहेको अवस्थामा देखिएको मौसमी बदलावले जनजीवनमा असर पार्न सक्ने भएकाले मौसमको जानकारी लिएर मात्र यात्रा गर्न मौसम पूर्वानुमान महाशाखाले सुझाएको छ । मध्यम तथा भारी वर्षा हुने इलाकामा बाढी तथा पहिरो जान सक्ने भएकाले थप सतर्कता अपनाउन पनि भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?