logo
२०८० चैत्र १६ शुक्रवार



दशैंकाबेला सल्यानका दर्जन बढी पसल र घरमा चोरी

खुला |
प्रदेश |


दशैंकाबेला सल्यानका दर्जन बढी पसल र घरमा चोरी


प्रतीक शर्मा
सल्यान, असोज ३० गते । सल्यानमा दर्जन बढी पसल, घर र विद्यालयमा चोरी भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका –१ दमाचौर बजारका आठ पसल, घर र विद्यालयमा शुक्रबार राती अज्ञात समूहले एकैसाथ चोरी गरेको प्रहरीले जनाएको छ ।

दसैंको बेलामा घर तथा पसलमा कोही नभएको र सबै टीकाटाला तथा खानपानमा व्यस्त भएको मौका छोपी अज्ञात समूहले सामूहिक रुपमा चौरी गरेको प्रहरीले जनाएको छ ।

पसल तथा घरमा लगाएको ताला फोडी अज्ञात समूहले ३ लाख ११ हजार बराबरको नगद, सुनका गहना, रिचार्जकार्ड लगायत अन्य सामग्री चोरेर लगेका छन् । अज्ञात समूहले दमाचौर बजारका चुडामणी बस्नेतको मेडिकलको ताला फोडेर नगद ५० हजार, केशब केसीको पसलबाट ४ हजारको रिचार्ज कार्ड, छत्रेश्वरी गाउँपालिका १ दमाचौरका वडा अध्यक्ष नेबबहादुर शाहको घरबाट १ लाख २० हजार बराबरको ढाई तोला सुन, चित्रजंग शाहको मेडिकलबाट ७९ हजार नगद १ लाख २० हजार बराबरको ढाई तोला सुन चोरी गरेको छ ।्

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले यमलाल जैसीको पसलबाट ५ हजार नगद, भारतीकुमारी बिकको घरबाट १२ हजार नगद, दिनेश बुढाथोकीको मोबाइल पसलबाट ४० हजार बराबरको तीन थान मोबाइल चोरेर लगेको बताउनुभयो । उहाँकाअनुसार सामूहिक रुपमा आठ पसल, मेडिकल र व्यक्तिको घरमा चोरी गरेको समूहले स्थानीय भानुभक्त माविको तालासमेत फोरिएको छ ।

चाडपर्वको समयमा जुवा खेल्नेहरुले पसल तथा व्यक्तिका घरमा चोरी गरेको हुनसक्ने भन्दै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरी निरीक्षक पौडेलकाअनुसार अहिले घटनास्थलमा सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ । संकास्पद व्यक्तिलाई सोधपुछको कामसमेत भइरहेको उहाँले बताउनुभयो । यस्तै बागचौर नगरपालिका –८ मा रहेको कालिका माध्यमिक विद्यालयमा पनि अज्ञात समूहले चोरी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?