logo
२०८० चैत्र १६ शुक्रवार



बागवानी केन्द्र मुस्ताङले बेच्यो ६४ लाखको तरकारी तथा फलफूल

खुला |
प्रदेश |


बागवानी केन्द्र मुस्ताङले बेच्यो ६४ लाखको तरकारी तथा फलफूल


अमृतप्रसाद पौडेल
बेनी, असोज २८ गते । हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा रहेको शितोष्ण बागवानी केन्द्रले गत आर्थिक वर्षमा झण्डै ६४ लाख मुल्य बराबरको तरकारी तथा फलफुल बिक्री गरेको छ । केन्द्रले तरकारी, तरकारीको बिउ, फलफुल तथा फलफुलको बिउ एवम् प्रशोधित सामग्री बिक्री गरेको हो ।

केन्द्रले उक्त सामग्री बिक्री गर्दा ६३ लाख ६२ हजार २ सय २५ रुपियाँ राजश्व संकलन गरेको केन्द्रका निमित्त प्रमुख पद्यराज आत्रेयले बताउनुभयो । आत्रेयकाअनुसार केन्द्रले उत्पादन गर्ने फलफुल, फलफुलका बिरुवा, तरकारी तथा तरकारीको बिउ एवम् प्रशोधित सामग्रीको बिक्रीबाट उक्त रकम संकलन भएको केन्द्रले बताएको छ ।

प्रशोधित बस्तुबाट १३ लाख २६ हजार, ताजा फलफुलबाट ७ लाख ७८ हजार, ताजा तरकारीबाट ६ लाख २२ हजार, आलुको बिउबाट १ लाख ९० हजार, तरकारीको बिउबाट ५ लाख ९५ हजार, फलफुलको बिरुवाबाट १५ लाख ३४ हजार एवम् विविध बिक्री आम्दानी १० लाख २५ हजार रुपियाँको भएको आत्रेयले बताउनुभयो ।

बागवानी केन्द्रले फलफुल अन्तर्गत स्याउ, नास्पाती, अंगुर, खुर्पानी, ओखर, कागती बदाम, आरु, आरु बखडा, हेजल नट उत्पादन तथा बिक्री गर्नेगरेको छ । त्यस्तै प्रशोधित बस्तु अन्तर्गत खुर्पानीको ब्राण्डी, स्याउको ब्राण्डी, प्लम वाइन, स्याउ साइडर, खुर्पानी स्याउको जाम, खुर्पानीको सुकुटी र स्याउको सुकुटी विक्री गर्ने गरेको छ ।

तरकारीको बिउतर्फ रायोको मुल बिउ, सलगमको मुल बिउ, धनियाको मुल बिउ, मुलाको मुल बिउ, बन्दाको मुल विउ, स्विस्र्चाको मुल बिउ र गाजरको मुल बिउ उत्पादन गर्नेगरेको छ । बागबानि विकास केन्द्रले दाँते ओखर, केब एप्पल, आलुको बिउ समेत उत्पादन गर्दछ । त्यस्तै स्याउ, नास्पती, अंगुर, खुर्पानी, ओखर, कागजी बदाम, आरु, आरुबखडा तथा स्याउ बिजुको बिरुवा उत्पादन गर्ने गरेको केन्द्रले जनाएको छ ।

काउली तथा बन्दाको हाइब्रिड बिरुवा, रायो, प्याज, गोलभेडा, गोडभेडा ओपी, काँक्रो हाइब्रिड, जुकिनी, भेडे खुर्सानीको हाइब्रिड, पिरो खुर्सानी, ब्रोकाउलीको हाइब्रिड बिरुवा एवम् कुरिलो र भण्टा ओपी बिरुवा उत्पादन तथा बिक्री गर्नेगरेको निमित्त कार्यालय प्रमुख आत्रेयले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?