logo
२०८० चैत्र १६ शुक्रवार



दशैँ आयो कार किनौँला

शनिवार |


दशैँ आयो कार किनौँला


भेषराज बेल्बासे

ललितपुरस्थित गोदावरीका सतिस आचार्यले यसपालि कार किन्नुभयो । अडिट फर्मको जागिर र सेयर बजारमा उहाँ रमाइरहनुभएको थियो । कोरोना पैmलिएको बेला जागिरको त भर हुने कुरै भएन तर सेयर बजारले उहाँलाई राम्रै अम्दानी गरायो । यही आम्दानीले कारको जोहो गर्ने आँट उहाँमा पलाएको हो ।
कार धनी बनेपछि आचार्य भन्नुहुन्छ, ‘‘हामी जस्ताले गाडी चढ्ने होइन जस्तो लाग्थ्यो तर अहिले कार पनि हाम्रै लागि रहेछ भन्ने अनुभूति भइरहेको छ ।’’ झन् बैङ्कले उपलब्ध गराउने सस्तो ब्याज दरको सवारी कर्जा र चाडपर्वका अवसरमा विक्रेता कम्पनीले ल्याउने उपहार योजनाले त मध्यमवर्गीय परिवारका लागि पनि अब निजी चार पाङ्ग्रे सवारी टाढाको विषय रहेन ।

यस्तै, काठमाडौँस्थित मूलपानीका उत्तम पाण्डेको व्यवसाय कोरोना कालमा पनि रोगाएन । भेटेनरीसम्बन्धी व्यवसायलाई एक दशकदेखि अँगाल्दै आएका पाण्डे त्यतिबेला जोसिनुभयो, जतिबेला अत्यावश्यक सेवाको सूचीमा सूचीकरण गर्दै आफ्ना व्यवसायी साथीहरू निजी सवारीमा हुइँकिएको देख्नुभयो । आठ/नौ महिनादेखि आफ्नै सवारी चढ्ने तीव्र इच्छालाई दबाएर राखेका पाण्डेले दशैँको मौकामा कार किनेरै छाड्नुभयो ।
यी दुई उदाहरणले अब ‘दशैँ आयो खाउँला पिउँला...’ मात्र होइन, ‘दशैँ आयो कार किनौँला’ भनाइ पनि प्रचलित हुँदैछ । पछिल्लो समय मध्यमवर्गीय परिवारमा निजी गाडीको मोह बढ्दो छ । अर्थतन्त्रको आकार बढ्दै गएपछि मध्यमवर्गीय परिवार पनि कारमा हुइँकिन थालेका छन् । विलासिताका रूपमा लिइने कार दैनिक आवश्यकताको वस्तुमा फेरिँदै छ ।

नेपालको हलुका चारपाङ्ग्रे सवारीको बजार भारत र तेस्रो मुलुकमा उत्पादन हुने गाडीले ओगटेको छ । सुजुकी, हुण्डाई, टाटा, निसान, रेनल्ट, मिट्सुविसी, फर्ड, फक्सवागन, स्कोडा, ड्याट्सन, होण्डा, प्रोटोन, महिन्द्रालगायत विश्वका चर्चित ब्रान्डका हलुका चार पाङ्ग्रे नेपाली बजारमा पाइन्छन् । विद्युतीय सवारीका पनि धेरैवटा ब्राण्ड छन् । समग्रमा हेर्दा २२/२३ वटा ब्राण्ड चार पाङ्ग्रेका र यति नै सङ्ख्याका ब्राण्ड मोटरसाइकलका छन् ।
मूल्यका हिसाबले १५ लाखदेखि चार करोड रुपियाँसम्मका कार/जीप र डेढ लाखदेखि दश लाख रुपियाँसम्मका दुई पाङ्ग्रे स्कुटर तथा मोटरसाइकल नेपाली बजारमा उपलब्ध छन् । हरेक वर्ष करिब २० प्रतिशतले यो व्यवसाय बढिरहेको छ । बिक्रेता कम्पनीले चाडपर्वका अवसरमा ल्याउने योजनाले थप बिक्री बढाएको छ ।

बजारमा यस्ता गाडीका नयाँ–नयाँ मोडल भित्रिएका छन् । उपभोक्ताको रोजाइ फेरिँदै छ । फेरि सार्वजनिक सवारीसाधनको सेवा राम्रो नभएका कारण पनि निजी सवारी साधनको आवश्यकता बढ्दो छ । नयाँ मोडलका कार किन्नेको सङ्ख्या दिनहुँ बढ्दो छ । कोरोनाले देशको अटोमोबाइल बजारलाई नराम्ररी थला पारेको थियो तर यही आर्थिक वर्षमा अटोबजार करिब ७० प्रतिशत बढ्यो । गाडी विलासिताबाट दैनिक आवश्यकताको वस्तुमा फेरिँदै गएपछि अबको अटोबजार झनै माथि जाने व्यवसायीहरूको अनुमान छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलाल भन्नुहुन्छ, ‘‘अटोमोबाइल व्यवसाय अहिले तङ्ग्रिएको अवस्थामा छ । अरू धेरै व्यवसाय सुस्ताएको बेला यो क्षेत्रले देशको अर्थतन्त्रलाई मलम लगाएको छ । राजस्वमा यसले ठूलो सहयोग गरेको छ ।’’ अहिलेसम्म झण्डै ४२ लाख सवारी साधन नेपालमा दर्ता भएका छन् । त्यसमा जनसङ्ख्याको १० प्रतिशतसँग मोटरसाइकल छ । चार पाङ्ग्रे (निजी कार र जीप) त एक प्रतिशतसँग पनि छैन ।

कोभिड महामारी सुरु भएदेखि निजी सवारी साधनमा सर्वसाधारणको आकर्षण झनै बढ्न थालेको छ । कोभिड महामारी नियन्त्रण र रोकथामका लागि भन्दै सरकारले बन्दाबन्दी र निषेधाज्ञाको समयमा सार्वजनिक सवारी साधन सञ्चालनमा कडाइ ग¥यो । सरकारले गरेको यस्तो कडाइका कारण सर्वसाधारणलाई आवातजावत गर्न समस्या प¥यो । फेरि सार्वजनिक यातायात चढ्दा सङ्क्रमित होइला कि भन्ने थप डर पनि भयो । यसले निजी सवारी साधनप्रति सर्वसाधारणको आकर्षण बढायो ।

दशैँ मुख्य अवसर
सवारी किन्ने र बिक्री गर्ने दुवैलाई दशैँ ठूलो अवसर भएको छ । सोरुमहरूमा कम्पनीले दिने विभिन्न सुविधा लिएर गाडी किन्नेहरूको भीड देखिन्छ । गाडी विक्रेताहरूले पनि आफ्नो मुख्य कारोबारको समयलाई सदुपयोग गर्दै उपभोक्तालाई नगद छुटसहित उपहारको योजना ल्याइरहेका छन् । यसमा बैङ्क तथा वित्तीय संस्थाले पनि सवारी कर्जा दिएर सघाइरहेका छन् । नयाँ सवारी खरिद गर्ने योजनामा रहेकाहरूलाई यो समय उपयुक्त अवसर पनि हो ।
कार, जीप र मोटरसाइकल विक्रेताहरूका अफरहरू हेर्दा लाग्छ, कुनै पनि कम्पनी अफरबिना बजारमा आएकै छैनन् । यसपालिको दशैँ आउन तीन साता बाँकी रहँदा विक्रेताले चाडपर्व लक्षित ‘अफर’हरू सार्वजनिक गरिसकेका छन् ।
सुजुकी कारले दशैँ तिहारका लागि ल्याएको ‘सुजुकी पर्वोत्सव अफर’ अन्तर्गत ग्राहकलाई दुई लाख रुपियाँ बराबरको नगद छुट, एक लाख ५० हजार रुपियाँसम्म एक्सचेञ्ज बोनस, २० हजारसम्म लोयल्टी बोनस, एक वर्षको सवारी बीमा शुल्क र स्क्र्याच कार्डमार्फत ७५ हजारसम्म अतिरिक्त छुट दिएको छ ।

टाटा मोटर्सले दुई लाख रुपियाँसम्म छुट दिएको छ । कम्पनीले ‘यसपालिको दशैँ/तिहार, टाटाका सेफेस्ट कार, हर्षमय परिवार योजना’ अन्तर्गत नयाँ कार किन्ने ग्राहकलाई दुई लाखसम्म नगद छुट, आकर्षक एक्स्चेञ्ज अफर, निःशुल्क पार्टपुर्जा, निःशुल्क स्वामित्व हस्तान्तरण सुविधा सार्वजनिक गरेको छ ।
प्रोटोनले ‘दशैँ–दक्षिणा’ योजनाअन्तर्गत ग्राहकले गाडीको खरिदमा एक लाखदेखि छ लाख रुपियाँसम्म छुट पाउने योजना सार्वजनिक गरेको छ । कुनै पनि ब्राण्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेञ्ज गरेमा ग्राहकले ५० हजारदेखि दुई लाख रुपियाँसम्म एक्सचेन्ज बोनस स्वरूप प्राप्त गर्न सक्नेछन् ।

हुण्डाईले ल्याएको ‘हुण्डाई फेस्टिभ डेलाइट २०७८’ योजनाअन्तर्गत ग्राहकले हरेक हुण्डाई गाडीको खरिदमा लक्की ड्रमार्फत एक जनालाई बम्पर उपहारमा नयाँ ‘हुण्डाई आई २०’ र तीन लाखसम्मको नगद छुटको दिएको छ । स्क्र्याच कार्डमार्फत एक लाखसम्म नगद छुट, एक वर्षसम्मको बीमा शुल्क र एक वर्षको सडक कर पनि छुट दिएको छ । साथमा हरेक हुण्डाई गाडीको खरिदमा छ वर्षसम्म निःशुल्क सर्भिसिङ र तीन वर्षको वारेन्टी पनि दिएको छ ।
ड्याट्सनले ल्याएको ‘ड्याट्सन फेस्टिभ हट डिल’ तथा ‘फेस्टिभ हट योजना’ अन्तर्गत दुई लाख ४१ हजार बराबरको विशेष सुविधा दिएको छ । जसमध्ये एक लाख २५ हजार नगद छुटको साथै कार खरिद गर्ने ग्राहकलाई २७ हजार ९९९ मूल्य पर्ने रेडमी नोट १० एस (मोबाइल) प्राप्त गर्नेछन् । साथै एक वर्षको बीमा शुल्क र सवारी कर छुट तथा वारेन्टी र सर्भिसिङको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ ।

दुई पाङ्ग्रेमा पनि छुट
दशैँमा दुई पाङ्ग्रे सवारीसाधन जोड्ने इच्छा पनि धेरैको हुन्छ । उपभोक्ताको यही मनोविज्ञान बुझेर यसका विक्रेताहरूले पनि यही बेला विभिन्न ‘अफर’ ल्याएका छन् । हिरो मोटरसाइकलले नगद छुटदेखि स्क्र्याच कार्डमार्फत एक लाखसम्मको छुट योजना ल्याएको छ । बजाज मोटरसाइकलले नयाँ बाइक खरिदमा एक लाख १० हजार छुटदेखि १० लाखसम्मका पुरस्कार भनेको छ । यामाहा मोटरसाइकले ‘रेस फर द एस अफर’ ल्याएको छ । टिभिएस नेपालले ‘६ प्राइजको सप्र्राइज’ ल्याएको छ । मोटरहेड मोटरसाइकलको ‘पर्व खुसीको, पर्व विश्वासको’ अफर रहेको छ । बेनेली मोटरसाइकलले ‘थ्रीएक्स डिस्काउन्ट फिएस्टा’ अफर ल्याएको छ । होण्डाले हरेक प्रदेशबाट मोटरसाइकल तथा स्कुटर खरिद गर्ने एक जनालाई एक लाख प्रदान गर्नेलगायत अफर ल्याएको छ । सुजुकी मोटरसाइकलले बाइक खरिदमा १० हजार पक्का नगद फिर्तादेखि नयाँ बाइक दिनेसम्मको अफर सार्वजनिक गरेको छ ।

प्राथमिकतामा सवारी कर्जा
बैङ्क तथा वित्तीय संस्थाहरूले पनि निजी सवारी खरिदका लागि नयाँ नयाँ योजना ल्याइरहेका छन् । सवारी खरिदमा कर्जा उपलब्ध गराउन बैङ्कहरू कोभन्दा को कम भन्दै प्रतिस्पर्धामा उत्रिएका छन् । यो प्रतिस्पर्धाले उपभोक्तालाई भने फाइदै पुगेको छ ।
यद्यपि सवारी कर्जामा ५० प्रतिशत मात्रै डाउनपेमेण्ट राखेकोमा भने व्यवसायी र उपभोक्ता दुवै असन्तुष्ट छन् । सवारी कर्जामा ५० प्रतिशत डाउनपेमेण्ट राखेर हुनेलाई भन्दा नहुनेलाई दुःख दिन खोजेको बताउनुहुन्छ नाडा अध्यक्ष दुलाल । उहाँहरू डाउनपेमेण्ट १० प्रतिशत बनाउन माग गर्दै आउनुभएको छ । यस पटकको दशैँमा पनि बैङ्क तथा वित्तीय संस्थाले कर्जा योजना घोषणा गरिरहेका छन् । नेपालमा सवारीको व्यापार बढ्न थालेपछि बैङ्कहरू यो कर्जातिर आकर्षित भएका हुन् । सवारी कर्जा खासै जोखिमपूर्ण नभएकाले बैङ्कले आम्दानी स्रोतका आधारमा सजिलै कर्जा उपलब्ध गराउँदै आएका छन् ।

ग्राहकलाई आकर्षित गर्न नगद छुट, कर्जा सुविधा, एक्सचेन्जलगायतका विभिन्न योजना ल्याइएका छन् । यस्ता योजनामध्ये ग्राहक सबैभन्दा बढी आकर्षित हुने भनेको सहज कर्जामा नै हो ।
सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैङ्कहरूका साथै विकास बैङ्क, फाइनान्स र सहकारीले पनि सवारी कर्जा प्रवाह गरी रहेका छन् । बैङ्कहरूले समयावधि निर्धारण गरी फिक्स्ड र परिवर्तित दुवै प्रकारका ब्याजदरमा सवारी कर्जा प्रवाह गरिरहेका छन् । यस्तो कर्जा बैङ्कहरूले तीनदेखि १० वर्षसम्म फिक्स्ड ब्याजदरमा प्रवाह गर्छन् ।

एसेम्बललाई कर छुट
सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटमा नेपालमै एसेम्लिङ हुने गाडी तथा मोटरसाइकल उद्योगलाई २५ प्रतिशतको अन्तशुल्क छुटलाई ५० प्रतिशत बनाएको छ । यो सुविधाले एसेम्लिङ उद्योग फस्टाउनेमा आशावादी हुनुहुन्छ नाडाका अध्यक्ष दुलाल । दुई वटा उद्योगको त उत्पादन सुरु भइसकेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘‘एसेम्बल उद्योगका लागि व्यवसायीहरूले जग्गा खोज्न थालिसकेका छन् । केही वर्षमा २० देखि २२ वटा उद्योगले एसेम्लिङ सुरु गर्लान् ।’’ यसले नेपालमा रोजगारी बढाउन पनि मद्दत गर्ने उहाँको विश्वास छ । बजेटले आयात गरिने तयारी मोटरसाइकल र स्कुटरको अन्तशुल्क भने बढाएको छ । १२५ देखि १५५ सीसीका मोटरसाइकलको अन्तशुल्क ४० प्रतिशतबाट बढाएर ५० प्रतिशत पु¥याएको छ । यस्ता मोटरसाइलको सडक सम्भार शुल्क पनि तीन हजार रुपियाँले बढाइएको छ । त्यस्तै, २०० देखि २५० सीसी क्षमताका मोटरसाइकलको अन्तशुल्क ५० प्रतिशतबाट बढाएर ६० प्रतिशत पु¥याइएको छ ।

राजस्व एक खर्ब
कुल गार्हस्थ्य उत्पादनमा अटोमोबाइल क्षेत्रको योगदान चार प्रतिशत रहेको छ । नाडाका अध्यक्ष दुलालका अनुसार सरकारलाई भन्सार, भ्याट, राजस्वलगायत शीर्षकमा यो क्षेत्रले वार्षिक एक खर्ब रुपियाँ बुझाउँदै आएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा १४ हजार ८३२ वटा हलुका चार पाङ्ग्रे सवारी कार, जीप र भ्यान तथा तीन लाख ५३ हजार ५३४ मोटरसाइकल आयात भएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा भने कोरोनाका कारण दर्ता हुने कारको सङ्ख्या भने खस्केको छ । यो समयमा कार ११ हजार २११ तथा मोटरसाइकल दुई लाख नौ हजार ६७१ वटा यातायात विभागमा दर्ता भए । विभागमा सबैभन्दा धेरै आर्थिक वर्ष २०७२/७३ मा २८ हजार ३६१ वटा चार पाङ्ग्रे सवारी कार, जीप र भ्यान दर्ता भएका छन् । यही अवधिमा दर्ता हुने मोटरसाइकल भने दुई लाख ६७ हजार ४३९ छन् । मोटरसाइकल भने सबैभन्दा धेरै आर्थिक वर्ष २०७३÷७४ मा तीन लाख ५४ हजार ७१ वटा दर्ता भएका छन् । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?