logo
२०८० चैत्र १५ बिहीवार



भारतबाट छिट्टै खोप आउने

राष्ट्रिय |


भारतबाट छिट्टै खोप आउने


गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ९ गते । नेपालले भारतसँग खरिद गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोपको थप १० लाख मात्रा केही समयमै प्राप्त हुने भएको छ ।
भारतमा कोरोना महामारी फैलिएपछि गत अप्रिल महिनादेखि नै अन्य देशमा खोप निर्यात रोकेको थियो । भारत सरकारले खोप निर्यातमा लागेको प्रतिबन्ध अक्टोबरबाट हट्ने जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले कोभिसिल्ड खोप आउने मिति नतोकिए पनि खोप आउने पक्का भएको जानकारी दिँदै भन्नुभयो, “अब छिट्टै खोप आउने जानकारी प्राप्त भएको छ । ”
विश्वकै सबभन्दा ठूलो खोप निर्मातामध्येको भारतले कोभिडविरुद्धको कोभिसिल्ड खोप अन्य देशमा लैजान रोक लगाएपछि नेपाललगायतका अन्य विकासोन्मुख देशलाई कोभिसिल्डको दोस्रो खोप लगाउन समस्या भएको थियो ।
१० लाख खोप खरिदका लागि नेपालले पहिल्यै भुक्तानी दिए पनि भारतले खोप दिन सकेको थिएन । भारतीय स्वास्थ्यमन्त्री मनसुख मांडवियाले भारतले विश्वलाई खोपमा मद्दत गर्ने र कोभ्याक्सअन्तर्गतको जिम्मेवारी बहन गर्ने बताउनुभएको थियो ।
भारतको सिरम इन्स्टिच्युटले उत्पादन गर्ने कोभिसिल्ड खोप ९२ वटा न्यून आय भएका मुलुकमा कोभ्याक्समार्फत वितरण गरिने बताइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आगामी अक्टोबरभित्र खोप आउने सम्भावना रहेको बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?