logo
२०८१ बैशाख ७ शुक्रवार



सडक अवरुद्ध भएपछि बाजुरामा खाद्यान्न अभाव

खुला |
प्रदेश |


सडक अवरुद्ध भएपछि बाजुरामा खाद्यान्न अभाव


शेरबहादुर सार्की
बाजुरा, असोज ७ गते । बाढीपहिरोका कारण साँफे मार्तडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएपछि बाजुरामा खाद्यान्न अभाव शुरु भएको छ । गत जेठ महिनाको २३ गतेदेखि भदौसम्म लगातार परेको अविरल वर्षाका कारण बाजुराका सडक पहिरोमा परिणत भएपछि ढुवानीमा समस्या भएको हो । ढुवानी हुन नसक्दा खाद्यान्न अभाव भएको छ ।

सदरमुकाम मार्तडीमा रहेको खाद्य सस्थान र पूर्विउत्तर क्षेत्रको कोल्टी डिपोमा चामल सकिएको झण्डै एक महिना भएको भए पनि अहिलेसम्म खाद्यान्न ढुवानी हुन सकेको छैन । बाढीपहिरोबाट जनधनको ठूलो क्षति भएका बाजुराका स्थानीयहरुले खाध्य संस्थानमा चामल नपाउँदा समस्या पर्दैआएको हो ।

बूढीनन्दा नगरपालिका ४ का स्थानीय पार्वती रोकायाले भन्नुभयो, “घरमा चामल सकिएको एक महिना भयो, चामल किन्नका लागि कोल्टी डिपोमा पुग्दा त्यहाँका कर्मचारीले डिपोमा चामल छैन् भनेपछि रित्तो हातमा घर फर्किएँ ।” सडक अवरुद्ध भएका कारण बाजुराको खाद्यान्न संस्थामा चामलको अभाव भएको जिल्ला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा प्रमुख मेखराज ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले खाद्य संस्थामा झण्डै एक सय क्विन्टल गहुँ मात्र छ, त्यो पनि केही दिनमा सकिन्छ ।”

कारागारका लागि मात्र चामल रहेको उहाँले बताउनुभयो । जनताका लागि भने बाजुराको दुइटै खाद्य संस्थानमा चामल नभएको जिल्ला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा प्रमुख ओझाले बताउनुभयो । अब त गाउँमा सडक पुग्यो खाद्यान्न समस्या पनि टर्ने भयो, भन्ने सोच बुन्दैआएका बाजुराका स्थानीय वासिन्दाले सडक पुगे पनि यो वर्ष पनि अन्य वर्षकोजस्तो खाद्य अभाव भोग्नुपरेको स्थानीयको गुनासो छ ।

पाँच महिना सम्म सडक अवरुद्ध हुँदा पनि बाजुरा राजनीतिक दल नागरिक समाज र जिम्मेवारवालाको यसप्रति कुनै चासो नदेखिएको स्थानीयको आरोप छ । वर्षाले साँफे मार्तडी लोकमार्ग अन्तर्गत बार्जुगाड, बल्दे, द्वारी लगायतका सडकखण्डमा पहिरो गएपछि बाटो अवरुद्ध भएको थियो । बाजुराको खाद्यान्न संस्थामा खाद्यान अभाव भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

वर्खाको समयमा बाटोको केही भर नहुने भएकोले सस्थानलाई वैशाखमै चामल ढुवानी गर्न निर्देश दिएपछि अहिले सम्म खाद्यान्न केही मात्रामा पुगेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनुभयो । उहोले भन्नुभयो, “सदरमुकाम मार्तडीको शाखामा चामल सकिएको एक हप्ता भए पनि खाद्यान्न व्यवस्था एवं व्यापार कम्पनी लि. अन्तर्गत कोल्टी डिपोमा चामल सकिएको एक महिना भएको छ ।”

बाटो अवरुद्ध हुनु पूर्व र चामल सकिएपछि पनि पटक पटक खाद्यान्नको केन्द्रीय कार्यालयको ध्यानाकर्षण गराएको छु ,तर सो कार्यालयबाट त्यसको सुनुवाइ नभएको प्रमुख जिल्ला अधिकारीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?