logo
२०८१ बैशाख ७ शुक्रवार



जनगणना फाराममा ‘थारु’ लेखाउन थारु आयोगको सुझाव

खुला |


जनगणना फाराममा ‘थारु’ लेखाउन थारु आयोगको सुझाव


गोरखापत्र अनलाइन
काठमाडौं, असोज ४ गते । थारु आयोगले थारु बहुल प्रदेशमा थारुभाषालाई कामकाजी भाषाको रुपमा प्रयोग गर्न माग गरेको छ । सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा आयोगले सो माग गरेको हो ।

थारुभाषालाई सरकारी कामकाजको भाषा, राष्ट्रिय जनगणना र समावेशीता सम्बन्धी छलफल कार्यक्रममा आयोगले २०६८ सालको जनगणनामा थारु समुदायको सही तथ्याङ्क नआएको भन्दै २०७८ सालको जनगणनामा वास्तविक तथ्याङ्को माग गर्नुभयो । गणकहरुले घरदैलोमा फाराम लिएर आउँदा सबैलाई थरको पछाडि अनिवार्य ‘थारु’ लेख्न सुझाएको छ ।

आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारुभित्र विभिन्न उपथर रहेको र सोअनुसार फाराम भर्दा थारु र गैरथारु छुट्याउन समस्या हुनेगरेको बताउनुभयो । थारु समुदायले चौधरी लेखाउँदा मरवाडी र अन्य समुदायले पनि चौधरी लेखाउने गरेको उहाँले बताउनुभयो । कुश्मी, बडायक, महतो, राजवंशी लगायतको थर लेख्दा थारुको यकिन तथ्याङ्क आउन समस्या हुने गरेको उहाँको भनाई छ ।

भाषा आयोगका विज्ञ सल्लाहकार प्रा.डा. दानराज रोग्मीले भाषा नै पहिचानको आधार भएकाले सबै समुदायको चासो बढेको बताउनुभयो । भाषा आयोगले प्रदेशस्तरमा भदौ २१ गते ११ वटा भाषालाई प्रदेशमा सरकारी कामकाजी भाषा बनाउनेगरी सरकारलाई सिफारिस गर्दा सबैको चासो देखिएको उहाँले बताउनुभयो ।

थारुभाषा चौथो ठूलो भाषा भएको र वक्तासंख्या पनि अधिक भएकाले भाषा आयोगले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सरकारी कामकाजी भाषाको रुपमा सिफारिस गरेको उहाँले बताउनुभयो । प्रदेश २ र प्रदेश १ मा पनि थारु भाषा वक्ता ३ प्रतिशत बढी रहेकाले त्यहाँ पनि थारुभाषालाई कामकाजी भाषा बनाउनुपर्ने माग बढ्न लागेको उहाँले बताउनुभयो । तर आयोगले २०६८ को जनसङ्ख्या र वक्ताको आधारमा भाषा सिफारिस गरेको उहाँले प्रष्ट पार्नुभयो ।

थारु आयोगका सदस्य सुबाेधसिंह थारुले भाषा नै मुख्य पहिचान भएकाले यसको संरक्षणमा सबैको ध्यान जान आवश्यक रहेको बताउनुभयो । थारु आयोगले भाषा मानकीकरणमा पनि सहयोग गर्दैआएको र आगामी दिनमा थारुभाषा मानकीकरणको काम पनि सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । राज्यको निकायमा अझै आरक्षणको रुपमा थारु कोटा छुट्याउन सरकारले आनाकानी गरिरहेकाले संविधानको व्यवस्थाअनुसार आरक्षण सुनिश्चित गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

२०५८ सालको जनगणनाअनुसार थारु भाषाको वक्ता सङ्ख्या १३ लाख ३१ हजार ५४६ थियो । २०६८ मा आएर वक्ता जनसंख्या १५ लाख २९ हजार ८७५ पुगेको र २०७८ सालको जनगणनाको काम शुरु भएकाले केही समयपछि सही तथ्याङ्क आउने भाषाविज्ञ डा. रेग्मीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?