logo
२०७८ कार्तिक ४ बिहीवार



गाउँ सडक सञ्जालले जोडिदा गाउँबासी खुशी

खुला |
प्रदेश |


गाउँ सडक सञ्जालले जोडिदा गाउँबासी खुशी


प्रेमराज सिम्खडा
कालीकोट असोज ४ गते । कालीकोटको सवै गाउँमा सडक सञ्जाल पुगेको छ । नयाँ संरचना अनुसारका ८२ वडामध्ये अधिकांश वडामा सडक पुगेको छ । तिनै ग्रामिण सडकमार्फत दैनिक उपभोग्यवस्तु अर्थात् शहरवाट आयात हुने सबै वस्तु गाउँमा पुग्न थालेपछि नागरिकका दुःख पनि हटेका छन् ।

२०५८ साल उता कैलालीको चिसापानी, सुर्खेतको बिरेन्द्रनगरसम्म पुगेर दैनिक उपभोग्य वस्तु आयात गर्ने कालीकोट, जुम्ला, मुगुका नागरिकका दुःख बिस्तारै कम हुँदैगएका छन् । खाने ढिके नुनूदेखि तेल, चिनी, शरीर ढाक्ने कपडा, उज्याले गर्ने मट्टीतेल लगायतका वस्तु कालीकोटका नागरिकले सुरुमा वाँकेको नेपालगन्ज, वद्रियाको राजापुरवाट आयत गर्नेगरेका थिए ।

वर्दियाको राजापुरमा गएर घर परिवारलाई चाहिने कपडादेखि नुनू, तोरी तेल, बत्ती वाल्ने मट्टीतेल ल्याएका नागरिक आजभोलि गाउँमै गाडी पुग्दा र दैनिक उपभोग्य वस्तु घरमै किन्न पाउँदा निकै खुसि भएका छन् ।

रास्कोट २ का जन्म सिम्खाडाले आफु वर्दियाको राजापुरसम्म गएर सामान ल्याएको बताउनुभयो । सिम्खाडाले घरबाट बाटोमा खाने पिठो (धुलो) चामल, नुनू, तरकारी, पकाउने भाँडा बोकेर जानेवीच बाटोमा (सामल) अर्थात् फर्किदा चाहिने खद्यान्न राख्दै जाने र आउँदा त्यसै ठाउँमा बास वस्ने खाना पकाएर खाने गरेको अनुभव सुनाउनुभयो । वाटोमा ढुङगाको दारमा खाद्यान्न राख्दा मुसा, चराले खाइदिने त्यो नहुँदा भोकै भारी वोकेर अर्को ठाउँ सम्म पुग्नुपर्ने वाध्यता हुनेगरेको सुनाउनु भयो ।

कालीकोटबाट राजापुरसम्म जाँदा बाटोमा कुनै ठाउँमा मात्र पसल (दोकान) हुन्थे । गाउँगाउँ बाट धेरै हटाउरु जाने भएकाले खानेकुरा राख्ने पनि ठाउँ हुदैन थियो । ठाउँ अभावकै कारणले बाटो तलमाथि ढुङगाका दार ओडारहरु खोज्ने त्यसैभित्र फर्किदा खाने चामल, दाल, नुनू राखेर जाने गर्दा कुनै ठाउँको सुरक्षित हुने कुनै ठाउँको चरा, वाँदर, कतिपय ठाउँमा त आसपासका मान्छेले खाइदिने हुँदा भोकै हिड्नु पर्ने वाध्यता हुनेगरेको रास्कोट १ का कृष्ण न्यौपानेको भनाई छ ।

राजापुरबाट समान ल्याएर घर आउँदासम्म १९ देखि २१ दिनसम्म लाग्थे । छिटो भएको खण्डमा १९ दिनमा घर पुग्ने हो न्यौपानेले बताउनुयभो । ढिलो भयो भने २०, २१ मा घर पुग्नेगथ्र्यौं उहाँले बताउनुभयो । सामान किन्न जाँदा अरु खवर गर्ने कुनै माध्यम त्यतिबेला नभएको न्यौपानेले बताउनुभयो ।

पत्र पाउन वर्ष कुर्नुपथ्र्यो
रोजागरीका लागि भारत गएकाहरुले आफु भारतको फलानो ठाउँमा काम गरिरहेको र चैत महिनामा घर आउँछु भनि पठाएको पत्र एक वर्षपछि घर पुग्थ्यो न्यौपानेले बताउनुभयो । रोजगारीवाला कमाई गरेर घर आएको एक वर्षपछि पठाएको पत्र घरमा पुग्ने गरेको उहाँको भनाई छ ।

खाँडाचक्र ८ का मानवहादुर मल्ल २०४८ साल मंसिरको महिना पहिलो पटक भारत जानुभयो । उहाँले भारतको चमेली जिल्लाको थरालीवाट आफु काममा लागेको र आउने चैतमा जसरी पनि घर आइपुग्ने भनेर घरमा पठाएको चिठी ११ महिनापछि पुग्यो । त्यो वेला उहाँ आफै घर आएको ८ महिना भइसकेको थियो । मल्लले त्यो बेला यातायात नहुने, फोन पनि नहुने घरमा खवर गर्ने एउटा मात्र माध्यम हुलाक सेवा मात्र भएकबे एक वर्षसम्म खबर पाउन समय लाग्ने गरेको अनुभव सुनाउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?