logo
२०८० चैत्र १६ शुक्रवार



कोपोमिस कार्यान्वयनमा ढिलाइ

अर्थ |


कोपोमिस कार्यान्वयनमा ढिलाइ


लक्ष्मण दर्नाल

काठमाडौँ, असोज २ गते । सहकारी सङ्घसंस्थाको तथ्याङ्क र अनुगमन व्यवस्थित गर्न लागू गरिएको सहकारी तथा गरिबी निवारण सूचना प्रणाली (कोपोमिस)को कार्यान्वयनमा ढिलासुस्ती भएको छ । लागू भएको चार वर्ष हुँदा पनि सहकारी संस्थाहरूले सूचना प्रणाली प्रयोग गरेका छैनन् ।
सहकारी विभागका अनुसार करिब आठ हजार सहकारी संस्था कोपोमिसमा आबद्ध भएका छन् । ३४ हजार सहकारी संस्थामध्ये ३२ हजार संस्था सूचना प्रणालीमा इन्ट्री भएको देखिन्छ तर अद्यावधिक भएको छैन । कोपोमिस अनलाइन प्रणाली हो । जहाँ सहकारी संस्थाहरूले दैनिक कारोबार, सदस्यलाई दिने सेवा, लगानी, साधारण सभालगायतका काम कारबाहीलाई राख्नुपर्ने हुन्छ ।
सहकारी संस्थाले आफ्नो नियमनकारी निकायलाई अनलाइन प्रणालीबाट रिपोर्टिङ गर्ने हो तर सहकारीले गरेका छैनन् । जसले गर्दा अनलाइनबाट नियम र अनुगमन गर्न नसकिएको विभागले जनाएको छ । सहकारी संस्थाको अनुगमन नियमन स्थानीय तहले गर्ने भएकाले एकीकृत निर्देशन गर्न गाह्रो भएको विभागले जनाएको छ ।
तर विभागअन्तर्गतका १४५ वटा सहकारी पनि कोपोमिसमा पूर्ण रूपमा आबद्ध छैनन् । विभागले सबै स्थानीय तहलाई कोमोमिसको युजर आईडी र पासवर्ड उपलब्ध गराइसकेको छ तर स्थानीय तहमा रहेका सहकारीहरूलाई कोपोमिस कार्यान्वयन गर्न, गराउन कठिनाइ भइरहेको विभागको दाबी छ ।
सरकारको ई–गभरमेन्ट परियोजनाअनुसार सहकारीको व्यवस्थापन गर्न विभागले आर्थिक वर्ष २०७४÷७५ बाट कोपोमिस प्रणाली सञ्चालनमा ल्याएको हो । सूचना प्रणालीमा सहकारी सङ्घसंस्थाहरूले आफ्नो वित्तीय विवरण, मासिक प्रतिवेदन, साधारण सभा, सञ्चालक समितिका बैठकका निर्णयहरू राख्नुपर्छ । सहकारी संस्था दर्ताका लागि समेत सर्वसाधारणले अनलाइनमार्फत निवेदन र आवश्यक कागजात बुझाउन सक्ने व्यवस्था गरिएको छ । सात प्रदेश र ७५३ स्थानीय तहमा सहकारी हेर्ने अधिकारीहरूलाई कोपोमिससम्बन्धी तालिम सञ्चालनको योजना बनाइएको शर्माले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?