logo
२०८१ बैशाख ७ शुक्रवार



पानी गौँथलीको ठूलो बथान भेटियो

खुला |


पानी गौँथलीको ठूलो बथान भेटियो


अविनाश चौधरी

धनगढी, असोज १ गते । कैलालीको मोहना नदीमा पानी गौँथली चराको ठूलो बथान फेला परेको छ । कैलारी गाउँपालिका–४ स्थित भितरियामा यस चराको ठूलो बगाल फेला परेको हो । चराविद् हिरुलाल डङ्गौराले सो ठाउँमा तीन हजार ५६४ वटा पानी गौँथली अभिलेख भएको जानकारी दिनुभयो ।
मोहना नदीमा पहिल्यैदेखि पानी गौँथली बसोबास गर्दै आएको हुनसक्ने अनुमान गरिए पनि त्यहाँ सो चरा बस्ने गरेको गत वर्ष मात्रै पुष्टि भएको थियो । नेपालका अरू ठाउँमा हालसम्म यति धेरै सङ्ख्यामा पानी गौँथली अभिलेख भएका छैनन् । सन् १९९० अगाडि दुई हजारको सङ्ख्यामा चितवनको मेघौलीमा यी चरा देखिएका थिए । त्यस्तै सन् २०१२ मा चितवनमा तीन हजार ४६७ पानी गौँथली फेला परेको चराको क्षेत्रमा काम गर्ने संस्था पन्छी संरक्षण सङ्घ (बीसीएन) को तथ्याङ्कमा उल्लेख छ ।
यसैगरी सन् २०१५ मा कोसी नदी क्षेत्रमा तीन हजारभन्दा बढी सङ्ख्यामा देखिएका थिए । चरा संरक्षणकर्मी राम शाहीले बर्दियामा एक हजारको सङ्ख्यामा पानी गौँथली चरा अभिलेख गर्नुभएको थियो । नेपालमा पहिलो पटक काठमाडौँ उपत्यकामा पानी गौँथली फेला परेका थिए । १९औँ शताब्दीमा हडग्सन नामक व्यक्तिले काठमाडौँमा पानी गौँथली अभिलेख गर्नुभएको थियो ।
मोहना नदीमा फेला परेको पानी गौँथली नेपालमा हालसम्म भेटिएका मध्ये सबैभन्दा धेरै सङ्ख्यामा रहेको डङ्गौराले उल्लेख गर्नुभयो । उहाँले सोही ठाउँमा गत वर्ष १० हजार ५५३ को सङ्ख्यामा पानी गौँथली अभिलेख गर्नुभएको थियो । ‘गत वर्षको तुलनामा यो वर्ष थोरै सङ्ख्यामा भेटिए पनि पानी गौँथलीको यो बगाल नेपालकै ठूलो हो’, उहाँले भन्नुभयो, ‘यति धेरै सङ्ख्यामा अहिलेसम्म नेपालको कुनै पनि ठाउँमा पानी गौँथली रेकर्ड
गरिएको छैन । ’
सिमसार क्षेत्रमा बसोबास गर्न रुचाउने यो चरा प्रजाति बर्दिया राष्ट्रिय निकुञ्जस्थित कर्णाली नदीमा पाइन्छन् । यसैगरी नवलपुरको अरुण खोला, चितवन राष्ट्रिय निकुञ्जको राप्ती र नारायणी नदीमा पाइने गरेको बताइएको छ । कोसी नदी, दाङको राप्तीमा पनि पानी गौँथली पाइने गरेका छन् ।
नेपालमा पानी गौँथलीको सङ्ख्या पाँच हजारसम्म रहेको मानिन्छ । त्यसको एक प्रतिशत पानी गौँथली नारायणी, कर्णाली र कोसी नदीको ‘बेसिन’मा पाइने गरेका छन् । तर गत वर्ष नेपालकै जम्मा सङ्ख्याभन्दा पनि बढी सङ्ख्यामा पानी गौँथली कैलालीस्थित मोहना नदीमा अभिलेख गरिएको डङ्गौराले बताउनुभयो ।
सो चराले मोहना नदीमा
‘ब्रिडिङ’ समेत गर्ने गरेको त्यहाँका स्थानीयले जनाएका छन् । तर त्यसको पुष्टि भइसकेको छैन । उहाँले मोहना नदीमा गर्मी याममा बढी र जाडो याममा कम मात्रामा पानी गौँथली देखिने गरेको उल्लेख गर्नुभयो ।
पानी गौँथली नेपालमा सङ्कटको नजिक पुगेको पन्छी संरक्षण सङ्घले जनाएको छ । यो चरा नेपालसहित भारत, अफगानिस्तान, बङ्गलादेश, भुटान, कम्बोडिया, चीन, मलेसिया, म्यानमार, ओमान, पाकिस्तान, सिङ्गापुर, श्रीलङ्का, युनाइटेड
अरब इमिरेट्स, भियतनामलगायत २० देशमा पाइन्छन् ।
बसोबास स्थानको विनाश, नदी क्षेत्रबाट बालुवा र गिट्टी उठाउने कार्यले पानी गौँथलीलाई चुनौती थपिँदै गएको बताइन्छ । यस्तै चोरी सिकार, ब्रिडिङका बेला मानवीय हस्तक्षेप लगायतका कारणले यो चरा प्रजाति लोपको खतरा नजिक पुगिरहेको छ । पानी गौँथली मुख्य गरी बालुवा तथा ढुङ्गे नदी र तालतलैयामा पाइन्छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?