logo
२०८१ बैशाख ८ शनिवार



नगर सभापतिका लागि उम्मेदवारी घोषणा

खुला |


नगर सभापतिका लागि उम्मेदवारी घोषणा


भक्तपुर, भदौ ३१ गते । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै भक्तपुरमा हुने नगर अधिवेशनमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।

काँग्रेसले जिल्लाका सबै वडा अधिवेशन सम्पन्न गरेसँगै नगर सभापतिका आकाङ्क्षीले उम्मेदवारी घोषणा गर्न थालेका हुन् । नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले दुई प्यानल खडा गरेर आफ्नो उम्मेदवारी दिने भएको छ । दुई समूहले उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसारमा जुटेका छन् ।

सूर्यविनायक नगर समिति सभापतिमा काँग्रेस जिल्ला सचिव निशान ढुङ्गेलले प्यानल नै बनाएर उम्मेदवारी घोषणा गर्नुभएको छ । त्यस्तै सूर्यविनायक नगर समितिका उपसभापति रवि राणाले पनि प्यानल नै बनाएर उम्मेदवारी घोषणा गर्नुभएको छ । ढुङ्गेल नेतृत्वको प्यानलबाट उपसभापतिमा रमण कायष्ठ र रमेश अधिकारी, सचिवमा सुमन न्यौपाने र विश्वराम थापा, सहसचिवमा अमिर ढुङ्गाना र सुरेश केसी, क्षेत्रीय प्रतिनिधिमा अम्बिका थापा र शशी बस्नेतले उम्मेदवारी दिने जनाउनुभएको छ ।

यस्तै राणा नेतृत्वको प्यानलबाट उपसभापतिमा दिनेश न्यौपाने र महेश केसी, सचिवमा उपेन्द्र तिमिल्सिना र लक्ष्मण थापा, सहसचिवमा रुपक न्यौपाने र राम गोतामेले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । ढुङ्गेल काँग्रेस संस्थापन सभापति शेरबहादुर देउवाको पक्ष र राणा संस्थापन इत्तर पक्षका हुनुहुन्छ ।

ढुङ्गेलले आगामी निर्वाचनमा काँग्रेसलाई भक्तपुरमा पहिलो पार्टीका रुपमा स्थापित गर्न र आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई अत्यधिक स्थानमा विजयी गराउने लक्ष्यका साथ आफ्नो नेतृत्वको प्यानल घोषणा गरेको बताउनुभयो ।

राणाले पार्टीमा युवा नेतृत्वलाई मौका दिनुपर्ने भन्दै पार्टीको विकास र पार्टीलाई सबल एवं मजबुत बनाउँदै आगामी निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाएर आफ्नो उम्मेदवारलाई विजयी बनाउने लक्ष्य रहेको बताउनुभयो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?