logo
२०८० चैत्र १६ शुक्रवार



सङ्क्रमणकाे जोखिम मूल्याङ्कन गर्न उपत्यकाका डीसीसीएमसीको बैठक बस्दै

खुला |


सङ्क्रमणकाे जोखिम मूल्याङ्कन गर्न उपत्यकाका  डीसीसीएमसीको बैठक बस्दै


काठमाडौं, भदौ २७ गते । काेराेना सङ्क्रमणकाे जोखिम र जारी निषेधाज्ञाको मूल्याङ्कन गर्न उपत्यकाका तीन जिल्लाको जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक छुट्टाछुट्टै बस्ने भएको छ । काठमाडौं र भक्तपुर जिल्लाको आज बेलुका ३ बजे बैठक बस्दै छ भने ललितपुरको बैठक आज सम्भावना न्यून रहेको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताउनुभएको छ ।
काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जारी निषेधाज्ञाको अवस्था मूल्याङ्कनसहित असोज १ गतेबाट विद्यालय कसरी खोल्न सकिन्छ भन्ने सन्दर्भमा बैठक बस्न लागेको बताउनुभयो । जारी निषेधाज्ञामा स्वास्थ्य मापदण्डको पालना नभएको ,भीडभााड निकै बढेको अवस्थामा अब कस्तो कदम चाल्ने भन्ने सन्दर्भमा पनि छलफल गरिने उहाँको भनाई छ ।
यता भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले निषेधाज्ञामा गरेको प्रयासहरुकाे प्रभावकारिताका विषयमा ,काेरोना सङ्क्रमणको वर्तमान अवस्था र विद्यालय सञ्चालन गर्न सकिने या नसकिने भन्ने विषयमा बैठक बस्न लागेको जनाउनुभयो ।
यस्तै ललितकपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले डीसीसीएमसीको बैठक भोलि बस्न सकिने बताउनुभएको छ । आज बेलुकाका लागि समय तय भएको भए पनि उच्च अदालतको बैठक रहेको कारण आज बस्ने सम्भावना न्यून रहेको उहाँले बताउनुभयो । भोलि बस्ने बैठकमा मुख्यतया विद्यालय खोल्ने सन्दर्भ उठिरहेकाले स्थानीय तहको पूर्वतयारी,निषेधाज्ञाको प्रभावका विषयमा नै केन्द्रित रहेर छलफल गरीने उहाँले बताउनुभयो । विद्यालय खोल्नका लागि पूर्वतयारी पर्याप्त मात्रामा नपुगेको र बालबालिकाहरु पनि विद्यालयमा सुरक्षित भएर उपस्थित हुन सक्ने अवस्था नदेखिएकाले तत्काल विद्यालय खोल्ने सम्भावना न्यून रहेको उहाँ बताउनुहुन्छ । तर स्थानीय तहहरुको सुझावका आधारमा यसको निर्णय गरिने उहाँ बताउनुहुन्छ ।
डीसीसीएमसीको बैठक सकेर भोलि उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्ने तयारी रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?