logo
२०८० चैत्र १६ शुक्रवार



मनकामना र गोरखकाली मन्दिर खुले, केबलकार पनि सञ्चालनमा

खुला |
प्रदेश |
पर्यटन |


मनकामना र गोरखकाली मन्दिर खुले, केबलकार पनि सञ्चालनमा
प्रतिबन्ध खुलेपछि मनकामना मन्दिरका लागि पुगेका दर्शनार्थीहरु फोटो खिचेर रमाउँदै । तस्बिर - नरेन्द्र ढकाल


नरेन्द्र ढकाल
गोरखा, भदौ २३ गते । कोरोना संक्रमणका कारण धार्मिक स्थलमा लगाएको प्रतिबन्ध हटाइएपछि मनकामना, गोरखकाली र गोरखनाथ मन्दिर सञ्चालनमा आएका छन् । ‘बिहान नियमित पूजा गरेर सर्वसाधारणहरुलाई पनि सर्वसधारणको भाकल एवं पूजा सुरु ग-यौं, मूलपुजारी थापाले भन्नुभयो,‘स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिर बाहिरको झ्यालबाट पुजा सामाग्री दिने गरी ब्यवस्था मिलाएको छ । सोही अनुसार हामीले पूजाआजा सुरु गरेका छौं ।’
मन्दिरमा भाकल बुझाउन आउने भक्तजनहरुका लागि बली दिने स्थानमा समेत छुट्टै पुजारीको ब्यवस्था मिलाइको उहाँले बताउनुभयो । चार महिनापछि मन्दिर खुल्ला भएको पहिलो दिनमै सयौ भक्तजनहरु पुजापाठका लागि आएको मूलपुजारी थापाले जानकारी दिनुभयो । मन्दिरमा पुग्ने भक्तजनहरुले अनिबार्य मास्कको प्रयोग गर्नुपर्ने, सामाजिक दुरी कायम गर्नुपर्ने लगायतका व्यवस्था समेत गरिएको उहाँको भनाई छ । पहिले जस्तो गरी भित्र गएर पूजाआजा गर्न भने अझै प्रतिबन्ध लगाइएको छ । मठमन्दिरहरुमा भिडभाड हुन नदिन बाहिरबाटै पुजाआजा गर्ने व्यवस्था मिलाइएका छ । मन्दिर परिसरमा भक्तजनका लागि हात धुने व्यवस्था गरिएको मनकामना मन्दिर क्षेत्र बिकास समितिले जानकारी दिएको छ । मन्दिरका पुजारी, कर्मचारी तथा सुरक्षाकर्मीहरुले मास्क, पन्जा, आवश्यकता अनुसार फेससिल्ड लगाउनु पर्नेछ । उनीहरुलाई बारम्बाार साबुन पानी वा स्यानीटाइजारले हात धुने व्यवस्था मिलाइएको मनकामना क्षेत्र बिकास समितिका अध्यक्ष लेबेन्द्र गुरुङले बताउनुभयो ।
यता मन्दिर परिषरमा पुग्ने भक्तजनको स्वास्थ्य अबस्थामा मध्यनजर गरि मन्दिर परिषरमै हेल्थ डेक्स समेत स्थापना गर्ने तयारी गरिएको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिनुभयो ।
केही दिन अघि बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले निश्चित मापदण्ड बनाएर धार्मिक स्थल खुल्ला गर्ने निर्णय गरेको थियो । ‘भक्तजनको बढि भिड हुने मनकामना मन्दिरका सन्र्दभमा विषेश छलफल गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले भन्नुभयो, ‘स्वास्थ्य र सावधानीका सबै मापदण्ड अपनाएर धार्मिक स्थलहरु खुल्ला गर्न दिने निर्णय भएको छ ।’
मनकामना मन्दिर खुल्ला भएसँगै मनकामना केबलकार र मनकामना बजार पनि खुल्ला भएको छ । स्वास्थ्य र सावधानीका उपाय अवलम्बन गरी केबलकार तथा बजार सञ्चालनमा ल्याएको मनकामना दर्शन प्रालीका महाप्रबन्धक उज्बल शेरचनले जानकारी दिनुभयो । ‘मन्दिर खुलेसँगै हामीले केबलकार पनि सञ्चालन गरेका छौं,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्य सुरक्षा अपनाएर मात्र यात्रु ओसार्ने गरिएको छ ।’ पहिलो दिन १५७ जना केबलकार मार्फत मनकामना दर्शनका लागि पुगेको मनकामना दर्शन प्रालीले जनाएको छ ।
जिल्लाका अन्य धार्मिक स्थलहरुमा पनि स्वास्थ्य र सावधानीको मापदण्ड अपनाएर पूजाआजा गर्ने दिने निर्णय समेत भएको छ । योसँगै सदरमुकामको गोरखाकाली, गोरखनाथ लगायत जिल्लाका सबै मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलहरु खुल्ला भएका छन् । कोरोना भाइरस संक्रमणका कारण गत वैशाख १६ गतेदेखि सर्वसाधारणलाई धार्मिक स्थलहरुमा प्रतिबन्ध लगाएको थियो । तर नित्य पुजा भने निरन्तर रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको थियो । लामो समय बन्द रहेका मठ मन्दिरमा रहेको प्रतिवन्ध फुकुवा भएसँगै सर्वसाधरणलाई पूजाआजा गर्नको लागि सहज हुने भएको छ ।



 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?