logo
२०८० चैत्र १६ शुक्रवार

लमजुङका जनप्रतिनिधिले नयाँ दल रोजेनन्

खुला |
फोटो फिचर |


2021-09-07-46155



बेलिना थापा
लमजुङ, भदौ २२ गते । लमजुङमा कुनै पनि जनप्रतिनिधिले फुटेर बनेको राजनीतिक दल नरोजेको पाइएको छ । निर्वाचन आयोगले फुटेको दल रोज्न मंगलबार साँझ ५ बजेसम्मको समय निर्धारण गरेको थियो । प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले दल रोज्न दिएको समय सीमा ५ बजेबाट सकिएको र कोही पनि नयाँ राजनीतिक दल रोज्न नआएको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले बताउनुभयो । उहाँका अनुसार निर्वाचन आयोगले तोकेको समय अवधिभर नयाँ राजनीतिक दल रोज्न समय दिइएको र यसका लागि कार्यालय आफैं वा स्थानीय तहमार्फत सूचना जारी गरिएको थियो । सार्वजनिक सूचना जारी गरे पनि तोकिएको समय अवधिभर दल रोज्न कुनै पनि जनप्रतिनिधि निर्वाचन कार्यालयमा नआएको मिश्रले बताउनुभयो ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी दोस्रो संशोधित अध्यादेशअनुसार नेकपा एमाले र जसपा छाड्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आयोगले दल रोज्न २१ दिनको समय दिएको थियो । गत भदौ २ गतेबाट लागु हुने गरी दिएको उक्त समय सीमा आज भदौ २२ मा सकिएको हो । गत भदौ २ गते एमालेबाट नेकपा एकीकृत समाजवादी र जसपाबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको थियो । दुवै दलको निवेदन अनुसार भदौ ९ मा आयोगले दलको मान्यता दिँदै प्रमाणपत्र दिएको थियो । आयोगले दिएको समय सीमाभित्र दल रोज्ने जनप्रतिनिधिको पद कायम रहने छ ।
नयाँ दल रोज्नलाई आयोगले जिल्ला र प्रदेश निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्न समय दिइएको थियो । दल रोज्ने समयमा कुनै पनि जनप्रतिनिधि उपस्थित नभए पनि लमजुङमा नेकपा एमाले एक ढिक्का रहेको दावी गरिएको छ ।

नेकपा एमालेबाट निर्वाचन जितेका सबै जनप्रतिनिधि चोइटिएको पार्टी नेकपा एकीकृत (समाजवादी) मा नगई एमालेमै रहेका हुन् । लमजुङमा एमालेबाट गण्डकी प्रदेशसभामा ३ जना, राष्ट्रियसभामा १ जना र स्थानीय तहमा रहेका सबै जनप्रतिनिधि फुट र विभाजनमा नलागी एमालेमै रहेका हुन् । प्रदेशसभा ‘ख’ मा पृथ्वीसुब्बा गुरुङ, ‘क’ बाट धनञ्जय दवाडी, समानुपातिक तर्फ मायानाथ अधिकारी र राष्ट्रिय सभामा दिपा गुरुङ रहनु भएको छ । उहाँहरु सबै एमालेकै विभिन्न जिम्मेवारीमा क्रियाशील रहनु भएको छ ।

प्रदेशसभा ‘ख’ बाट निर्वाचित पृथ्वीसुब्बा गुरुङ यसअघि गण्डकी प्रेदशको मुख्यमन्त्री रहनु भएको थियो भने, समानुपातिकतर्फ निर्वाचित मायानाथ अधिकारी गण्डकी प्रदेश सभामा एमालेको प्रमुख सचेतक रहनु भएको छ । गुरुङ पार्टीको केन्द्रीय सचिव र प्रदेश ईन्चार्ज समेत रहनु भएको छ भने अधिकारी केन्द्रीय सदस्य र लमजुङ इन्चार्ज हुनुहुन्छ । ‘क’ बाट निर्वाचित धनञ्जय दवाडी नेकपा एमाले लमजुङको अध्यक्ष रहनु भएको छ भने राष्ट्रिय सभाका सांसद दिपा गुरुङ प्रदेश कमिटीमा आवद्ध रहनु भएको छ ।
त्यसैगरी लमजुङमा नेकपा एमालेबाट निर्वाचित जिल्ला समन्वय समिति र ८ वटा पालिकामा रहेका सबै जनप्रतिनिधिले फुट विभाजनको विरोध गर्दै एमालेमै रहेका छन् । लमजुङमा रहेको जिल्ला समन्वय समिति प्रमुख लोकराज पाण्डे, उपप्रमुख धनमाया तामाङ र सदस्य ८ जना रहेकोमा सबै एमालेकै पक्षमा रहेका छन् । त्यसैगरी ४ वटा नगरपालिकामा ३ वटा एमालेले जितेको थियो । बेंसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, उपप्रमुख लक्ष्मी अधिकारीसहित ५ वटा वडा, राइनास नगरपालिका प्रमुख सिंहबहादुर थापा, सुन्दरबजारका नगर प्रमुख जनकराज मिश्रसहित ८ वटा वडा र मध्येनेपाल नगरपालिकामा ४ वटा वडा जितेकोमा कोही पनि विभाजनको पक्षमा उभिएका छैनन् ।
त्यसैगरी गाउँपालिकातर्फ मस्र्याङ्दी गाउँपालिका अध्यक्षमा अर्जुन गुरुङसहित ७ वटा वडा, दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेसहित ३ वटा वडा, क्ब्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेमबहादुर घले, उपाध्यक्ष कुमारीमुनी गुरुङसहित ७ वटा वडा र दूधपोखरीमा १ वटा वडामा एमालेले निर्वाचन जितेकोमा सबै जनप्रतिनिधिले नेकपा एमालेनै रोजेको नेकपा एमालेका जिल्ला अध्यक्ष एवं प्रदेशसभा सदस्य धनञ्जय दवाडीले बताउनुभयो ।