logo
२०८० चैत्र १५ बिहीवार



उपत्यकामा सिनेमा प्रदर्शन हुन समय लाग्ने

खुला |
मनोरञ्जन |


उपत्यकामा सिनेमा प्रदर्शन हुन समय लाग्ने


यलु जोशी

काठमाडौँ, भदौ २१ गते । स्वास्थ्य मापदण्ड पालना गरेर सिनेमाघर सञ्चालन गर्न अनुमति दिए पनि तत्काल नयाँ चलचित्र प्रदर्शन हुने सम्भावना न्यून देखिएको छ ।
सरकारले गरेको निर्णयप्रति चलचित्रकर्मी तथा व्यवसायी उत्साहित बने पनि हलको व्यवस्थापन र सरसफाइका कारण दशैँ वरिपरि मात्र नयाँ चलचित्र प्रदर्शन हुने सम्भावना छ । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले अहिले नै नयाँ चलचित्र प्रदर्शन गर्न जोखिम हुने बताउँदै मौफसलका सिनेमाघर खुलेपछि मात्र चलचित्र प्रदर्शन हुने बताउनुभयो ।
निषेधाज्ञाका कारण करिब चार महिनासम्म बन्द रहेका सिनेमाघरहरू उपत्यकामा मात्र खुलाउन सकिने निर्णय गरिएको छ । “दर्शकलाई घरभन्दा हलमा सुरक्षित छ भन्ने विश्वास दिन सकिएमा मात्र सिनेमा हेर्न आउनेछन्,” उहाँले थप्नुभयो, “स्वास्थ्यभन्दा ठूलो चलचित्र पक्कै पनि होइन, त्यसैले हामी पनि तयारी गर्दैछौँ । हल खोलेपछि दर्शक आउँछन् भन्न सकिँदैन । अनुकूल भएपछि आफै आउँछन् ।”
चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले दशैँसम्म नेपालभरका सिनेमाघर खुल्ने आशामा रहेको बताउनुभयो । “सबै चलचित्र हलहरू खोल्ने निर्णय हुनासाथ दर्शकको ओइरो लाग्छ भन्न सकिँदैन,” उहाँले भन्नुभयो, “हामीलाई पनि दर्शकको स्वास्थ्यप्रति चासो छ । निर्माताले गरेको लगानी डुब्छ भन्ने पनि डर उत्तिकै छ ।”
उहाँले कोरोनाविरुद्धको खोप लगाइसकेका कारण दशैँमा सिनेमाघरमा नयाँ चलचित्र हेर्न आउने दर्शकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताउनुभयो ।
नेपाल चलचित्र सङ्घका महासचिव अशोक शर्माले सिनेमाघर राम्ररी खोल्न अझै १०÷१५ दिन लाग्ने बताउनुभयो । “सुरुमा हल सरसफाइ गर्नुपर्छ । हामीले हल खोलेर अङ्ग्रेजी तथा हिन्दी चलचित्र चलाएर माहोल बनाएपछि मात्रै नेपाली चलचित्र चलाउने अवस्था आउँछ,” उहाँले भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?