logo
२०८० चैत्र १६ शुक्रवार



राजमार्गमा विमान कार्यक्रम अलपत्र

मुख्य समाचार |


राजमार्गमा विमान कार्यक्रम अलपत्र


भउचप्रसाद यादव

काठमाडौँ, भदौ १९ गते । मुलुकका राजमार्गमा आपत्कालीन अवस्थामा विमान अवतरण गराउने र उडान गर्नसकिने सरकारको महत्त्वकाङ्क्षी कार्यक्रम अध्ययनमै सीमित भएको छ । यससम्बन्धी अध्ययन प्रतिवेदन सडक विभागको दराजमा थन्किएको छ ।
सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत समावेश गरिएको यो कार्यक्रम अध्ययनमै सीमित रहेको हो । अध्ययनले मुलुकका विभिन्न राजमार्गका उपयुक्त खण्डहरूलाई आपत्कालीन विमान उडान र अवतरण गर्नसक्ने धावन मार्गका रूपमा विस्तार गर्न सम्भव रहेको देखाएको थियो ।
आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा ‘राष्ट्रिय राजमार्गका उपयुक्त खण्डहरूलाई आपत्कालीन विमान उडान र अवतरण गर्नसक्ने धावन मार्गका रूपमा विस्तार गरिनेछ भनेर समावेश गरिएको थियो । सो वर्षको बजेट वक्तव्यपछि सरकारले यसबारे अध्ययन गर्न सडक विभागलाई निर्देशनसमेत दिएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव तथा प्रवक्ता केशवकुमार शर्मा सरकारको निर्देशनपछि सडक विभागले गरेको अध्ययनबाट विभिन्न राजमार्गका उपयुक्त खण्डलाई आपत्कालीन विमान उडान र अवतरण गर्नसक्ने धावन मार्गका रूपमा विस्तार गर्नसकिने सम्भावना देखिएको बताउनुुहुन्छ तर यो योजना अगाडि बढ्न नसकेको जानकारी उहाँले दिनुभयो ।
सडक विभागले आर्थिक वर्ष ०७६/७७ मा सो अध्ययन गरेको थियो । अध्ययन गरिएको दुई वर्ष बितिसके पनि नेपालको परिवेशमा एकदमै नयाँ मानिएको योे कार्यक्रम अगाडि बढ्न सकेको छैन । सडक विभागले गरेको अध्ययन प्रतिवेदनअनुसार जनकपुर–जटही, वीरगञ्ज–पथलैया, पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ, नेपालगञ्ज–कोहलपुर र बेलहिया–बुटवल सडक खण्डका ‘मेडियन’ हटाएर र छेउछाउका रुख काटेर आपत्कालीन धावन मार्गका रूपमा विस्तार गर्नसकिने सम्भावना देखिइएको छ ।
सहसचिव शर्माले भन्नुभयो, “विमान अवतरण र उडानका लागि सडक विभागले प्रारम्भिक अध्ययन गरेको थियो । त्यसपछि सडक विभागले विस्तृत अध्ययन अगाडि बढाएनन् ।” छ लेन भएका तराई क्षेत्रका राजमार्गमा मात्र यस प्रकारको संरचना निर्माण सम्भव हुन सक्छ ।

प्राविधिक रूपमा सम्भव
पूर्वाधार विज्ञ डा. सुरजराज आचार्यले राजमार्गमा आपत्कालीन विमान उडान र अवतरण गर्नसक्ने धावन मार्गको विकास गर्नु प्राविधिक रूपमा असम्भव नभए पनि व्यवहारमा अति कठिन र चुनौतीपूर्ण काम भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?