logo
२०८१ बैशाख ८ शनिवार



सञ्चालनको पर्खाइमा सुक्खा बन्दरगाह

मुख्य समाचार |


सञ्चालनको पर्खाइमा सुक्खा बन्दरगाह


भउचप्रसाद यादव

काठमाडौँ, भदौ १४ गते । बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिन काठमाडौँको चोभारमा सुक्खा बन्दरगाहको भौतिक निर्माण कार्य पूरा भएको छ ।
कोभिड–१९ को महामारी र बन्दाबन्दीकै बीच निर्माण कार्य भएको सो बन्दरगाह अब सञ्चालनको पर्खाइमा छ । यो बन्दरगाहलाई भारतको रक्सौलबाट र चीनको केरुङबाट आउने रेलमार्ग तथा बाहिरी चक्रपथसँग जोडिने योजना सरकारको छ ।
सो बन्दरगाहको सञ्चालन ढाँचा तय गर्न समिति गठन गरी काम अगाडि बढाइएको इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको सञ्चालन ढाँचा तय गर्न समिति गठन गरी काम अगाडि बढेको जानकारी दिनुभयो ।

गजुरेलले भन्नुभयो, “बन्दरगाह सञ्चालनका लागि आवश्यक सबै संरचना तयार भइसकेका छन् । सञ्चालन ढाँचा तयार हुनेबित्तिकै बन्दरगाह सञ्चालनमा आउने छ ।”
बन्दरगाह सञ्चालन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग र इन्टर मोडल यातायात विकास समितिले तयारी गरिरहेका छन् । बन्दरगाह सञ्चालनका लागि चाहिने भन्सार भवन, क्वारेन्टाइन (खाद्यवस्तुको गुणस्तर तथा विषादी मिसावट जाँच गर्ने) भवन र प्रशासनिक भवन तयार भइसकेको छ । त्यसैगरी तीनवटा गोदाम र गुणस्तर जाँच गर्ने तीनवटा भवन निर्माण भएका छन् । प्रत्येक गोदामको क्षमता एक हजार २९६ वर्गमिटर छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले बन्दरगाह सञ्चालनका लागि आवश्यक कार्यविधि तयार भइरहेको जानकारी दिनुभयो ।

भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले सीमा नाकाबाट चोभार आइपुग्ने मालवस्तुको कसरी व्यवस्थापन गर्ने, जाँचपास गर्ने, राजस्व सङ्कलन गर्नेलगायतका विषयलाई सम्बोधन गर्न भन्सार विभागले कार्यविधि तयार गरिरहेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहालको संयोजकत्वमा समिति गठन गरी सञ्चालन ढाँचा तय गर्ने काम सुरु गरिएकोे छ । समितिको सदस्यमा भन्सार विभाग र इन्टर मोडल यातायात विकास समितिको प्रतिनिधित्व छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?