logo
२०८० चैत्र १६ शुक्रवार



सापारू (गाईजात्रा) औपचारिकतामा सीमित गरी मनाउने नगरपालिकाको निर्णय  

खुला |


सापारू (गाईजात्रा) औपचारिकतामा सीमित गरी मनाउने नगरपालिकाको निर्णय  
फाइल फाेटाे


  
भक्तपुर, भदौ २ गते । भक्तपुर नगरपालिकाकाले यस वर्षको सापारु अर्थात् गाईजात्रा विसं २०७८ सामान्य औपचारिकता निर्वाह गरेर मात्रै मनाउने निर्णय गरेको छ । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आज जात्रासँग सम्बन्धित सरोकारवालाबीच भएको छलफलमा यस्तो निर्णय भएको प्रजापतिले जानकारी दिनुभयो ।    
    
 विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण काठमाडौँ उपत्यकालगायत देशैभरि दिनानुदिन बढिरहेको र भक्तपुर जिल्लामा समेत सो रोगको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या दिनदिनै बढिरहेकाले मृत्यु संस्कारका रूपमा ऐतिहासिक कालदेखि मनाउँदै आएको गाईजात्रा पर्व यस वर्ष सापारु अर्थात् गाईजात्रा अवधिभर घिन्ताङ्घिसी र अन्य सांस्कृतिक नाचगान प्रदर्शन नगरी सामान्य औपचारिकतामा मात्रै सीमित गरेर मनाउन दाफा भजन, सांस्कृतिक समूह, मृतक परिवारलगायत सम्पूर्ण नगरवासीलाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।    
    
 नगर प्रमुख प्रजापतिले कोभिड जोखिमका कारण नजिकिँदै गरेको सापारु पर्व र गुन्हीपुन्हीलाई शान्तिपूर्ण एवं सुरक्षित ढङ्गले औपचारिकतामा सीमित गर्न सरोकारवाला पक्ष, वडा वडाका सांस्कृतिक गुरु एवं सांस्कृतिक प्रतिनिधिसँग छलफल गरेर निर्णय गरेको बताउनुभयो । भक्तपुर नपाले समाजलाई कोभिड सङ्क्रमणबाट मुक्त गर्ने प्रयासरत रहेको चर्चा गर्दै प्रमुख प्रजापतिले आफ्नो स्वास्थ्यको सुरक्षाको निम्ति जनता स्वयं सजग हुनुपर्ने बताउनुभयो ।    
    
 बैठकमा भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले जनताको जीवनरक्षा नै पहिलो प्राथमिकतामा रहेको हुँदा कोभिड महामारीका कारण नजिकिँदै गरेको गाईजात्रा पर्व भीडभाड नगराई औपचारिकतामा सीमित बनाई मनाउने गरी सुरक्षा दिने बताउनुभयो । गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्य, ख्वप अस्पतालका डा रत्नसुन्दर लासिवा, काठमाडौँ उपत्यका खानेपानी लि, नेपाल विद्युत् प्राधिकरण, विभिन्न केबल नेटवर्कका प्रतिनिधि तथा अन्य निकायले जात्रा अवधिभर स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न, खानेपानीको व्यवस्थापन गर्न, विद्युत् कटौती नगर्न, अव्यवस्थित तार र केबुलको व्यवस्थापन गर्न आ–आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।    
    
 सरोकारवालासँग बसेको सो बैठकले सापारुका दिन भक्तपुर नगरपालिकाले प्रशिक्षण मार्गको ठाउँठाउँमा प्राथमिक स्वास्थ्य उपचार केन्द्रको व्यवस्था, निर्माण सामग्रीलगायत अन्य सामग्री व्यवस्थापन, मास्क, स्यानिटाइजर वितरण, साबुनपानीले हातधुने व्यवस्था, सरसफाइलगायत प्रचारप्रसारका लागि माइकिङ गर्ने व्यवस्था गर्ने भएको छ । जनैपूर्णिमा (गुन्हीपुन्ही) र गाईजात्रा अवधिभर आवश्यक शान्ति सुरक्षाको सम्पूर्ण व्यवस्था जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसर, अव्यवस्थित तार र केबुल नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमलगायत सम्बन्धित सेवा प्रदायकले २०७८ भदौ ५ गतेभित्र व्यवस्थित गर्ने निर्णय गरेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?