logo
२०८० चैत्र १६ शुक्रवार



दोस्रो विश्व आदिवासी जनजाति महिला सम्मेलन सुरू

खुला |
समाज |


दोस्रो विश्व आदिवासी जनजाति महिला सम्मेलन सुरू


शिवा तामाङ
काठमाडौँ, साउन २९ गते । दोस्रो विश्व आदिवासी जनजाति महिला सम्मेलन सुरू भएको छ । ‘लोक कल्याण र पृथ्वी आमाको लागि सँगसँगै’ भन्ने नारासहित दोस्रो विश्व आदिवासी जनजाति महिला सम्मेलन शुक्रवार सुरू भएको हो ।

विश्वभरका पाँचसय आदिवासीले सहभागिता जनाउने यस सम्मेलन साउन २९ देखि भदौ १७ गतेसम्म भर्चुअल रुपमा आयोजना भइरहेको छ ।
सम्मेलनको पहिलो दिन नेपालको तर्फबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका संयोजक सांसद पुर्णकुमारी सुवेदीले प्राकृतिक स्रोतको प्रवद्र्धन र उपयोग तथा यससँग सामिप्यता राख्ने समुदायका मुद्दामा समिति समन्वयकारी भुमिका खेल्न तयार रहेको बताउनुभयो ।
सम्मेलनले पारित गर्ने विश्वका आदिवासी महिलाको सामूहिक दस्तावेजमा नेपाली आदिवासी महिलाको सरोकारलाई सम्वोधन गर्न समितिले पहल गर्ने उहाँको प्रतिवद्धता छ ।

त्यसैगरी, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिलि थापाले नेपाली आदिवासी महिलामा पेशा व्यवसाय गरेर आर्थिक उपार्जन गर्ने र त्यसलाई कहाँ, कसरी खर्च गर्ने भन्ने स्वतन्त्रता रहेको अनुभव सुनाउनुभयो ।
सदस्य थापाले पछिल्लो समयमा आदिवासी समुदायमा विविध कारणले बसाईसराई बढेकाले समुदायमा रहेको राम्रा अभ्यास नासिने खतरा बढेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घका अध्यक्ष चिनीमाया माझीले ‘नेपालका आदिवासी जनजाति महिलाको भूमि तथा प्राकृतिक स्रोतमाथिको अधिकार’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।
उहाँले अवैज्ञानिक विकासे नीतिका कारण धेरै नेपाली आदिवासीले आफ्नो थातथलो छोड्न वाध्य मात्र भएका छैनन्, जल, जङ्गललगायतका प्राकृतिक स्रोतको उपयोग गरी जीविकोपार्जन गरिरहेका आदिवासीको जीवन कष्टकर बन्दै गएको बताउनुभयो ।
यसबाट आदिवासी महिला बढि प्रभावित भएको बताउनुभयो ।

उहाँले राष्ट्रिय गौरवका आयोजना, निकुञ्ज, सामुदायिक वनको संरक्षण गर्दा त्यसमा निर्भर आदिवासी बाँच्नका लागि वैकल्पिक व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा आदिवासी अधिकारकर्मी एवं महासङ्घका संस्थापक अध्यक्ष यसोकान्ती भट्टचनले विश्वभरका आदिवासी महिलाले आफुले झेल्नुपरेको नयाँ–नयाँ चुनौति र साझा मुद्दालाई सामुहिक रूपमा समाधान गर्ने बाटो पहिल्याउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको बताउनुभयो ।

उहाँले विश्वभरकै आदिवासी समुदायको जीवनशैली करिब–करिब एकै खालको रहेको, सबै आदिवासी वनजङ्गल, खोलानालालगायतका प्राकृतिक स्रोतमा निर्भर हुने हुँदा बदलिदो विकासका कार्यक्रमले उनीहरूलाई प्रत्यक्ष प्रभाव पारेको बताउनुभयो ।
नेपाल आदिवासी महिला अपाङ्ग सङ्घ अध्यक्ष प्रतिमा गुरूङले पितृसत्तात्मक सोच र सामाजिक कुरीतिका कारण अपाङ्गता भएका महिलाले दोहोरो विभेदको सामाना गर्नुपरेको बताउनुभयो ।

विश्वका पाँच सय आदिवासी जनजाति महिलाको सहभागिता रहने यस सम्मेलनको पहिलो दिन माहुरी समुदायको बारेमा न्युजिल्याण्डका ननैया माहुता, नर्वेका क्रिष्टीना सामी, अफ्रिकन आदिवासी महिलाका विषयमा सारा÷सान्ड्रालगायतले चर्चा गर्नुभएको थियो ।
यस सम्मेलनमा विश्व आदिवासी जनजाति महिलाको चुनौतीको पहिचान गरी राष्ट्रिय, क्षेत्रिय, स्थानीय तहमा पैरवी गर्ने उद्देश्यले वृहत छलफल भइरहेको छ ।

त्यस्तै, सम्मेलनले आदिवासी जनजाति महिलाहरुको आवश्यकता तथा प्राथमिकता अनुसार विश्वव्यापी मुद्दाहरुको अनुगमनका लागि संयन्त्र र रणनीतिका सम्बन्धमा वृहत सहमति कायम गर्ने अपेक्षा गरिएको छ ।
सम्मेलनमा नेपालबाट आदिवासी जनजाति महिलाको अधिकारका क्षेत्रमा काम गरिरहेका संस्थाहरु राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ, आदिवासी महिला कानुनी सचेतना समूह, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च र राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला सङ्घले सहभागिता जनाइरहेको छ ।

प्रथम विश्व आदिवासी जनजाति महिला सम्मेलन सन् २०१३ अक्टोबरमा पेरुको लिमा सहरमा आयोजना गरिएको थियो । उक्त सम्मेलनले लिमा अडानपत्र तथा कार्ययोजना जारी गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?