logo
२०८१ बैशाख ८ शनिवार



बाजुरामा सबैभन्दा बढी गरिबी

खुला |


बाजुरामा सबैभन्दा बढी गरिबी


भउचप्रसाद यादव

काठमाडौँ, साउन २८ गते । देशका २६ जिल्लामध्ये सबैभन्दा बढी गरिब घरपरिवार बाजुरामा रहेको देखिएको छ । सरकारले गरेको एक अध्ययनमा बाजुराका कुल घर परिवारमध्ये ७१.१ प्रतिशत गरिब रहेको देखिएको हो ।
उक्त अध्ययनका अनुसार जिल्लामा कुल २१ हजार ७११ घरपरिवार रहेका छन् । त्यसमध्ये छ हजार ३९३ अति गरिब घरपरिवार पाइएको छ । अध्ययन गरिएका जिल्लामध्ये तनहुँमा सबभन्दा कम २१ दशमलव १ प्रतिशत गरिब घरपरिवार भेटिएका छन् । तनहुँमा जम्मा ६५ हजार ७३ घरपरिवार रहेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरेको अध्ययनमा यस्तो देखिएको हो । मन्त्रालयले ‘गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम’ सञ्चालन गरेर देशभर गरिबको तथ्याङ्क सङ्कलन गरिरहेको छ ।
मन्त्रालयका सहसचिव तथा प्रवक्ता जनकराज जोशीले मन्त्रालयद्वारा सञ्चालित गरिब घरपरिवारको पहिचान कार्यक्रमअन्तर्गत २६ जिल्लामा जम्मा १२ लाख २४ हजार ४१७ घरपरिवार रहेकोमा तीन लाख ९१ हजार ८३१ गरिब घरपरिवार पहिचान भएको जानकारी दिनुभयो ।
उहाँका अनुसार तीन लाख ९१ हजार ८३१ गरिब घरपरिवारमध्ये अति गरिब घरपरिवारको सङ्ख्या एक लाख ८८ हजार २३२, मध्यम गरिब घरपरिवारको सङ्ख्या एक लाख १९ हजार ७५४ र सामान्य गरिब घरपरिवारको सङ्ख्या ८३ हजार ८४५ रहेका छन् ।
२६ जिल्लामा ४० दशमलव ८ प्रतिशत गरिब घरपरिवार पहिचान भएको बताउँदै उहाँले पहिचान भएका जिल्लाहरूमा स्थानीय तहमार्फत परिचयपत्र वितरण कार्य भइरहेको जानकारी दिनुभयो । मन्त्रालयले अति गरिब घरपरिवार, मध्यम गरिब घरपरिवार र सामान्य गरिब घरपरिवार गरी तीन किसिमले गरिब घरपरिवारको पहिचान गरिरहेको सहसचिव जोशीले जानकारी दिनुभयो ।
मन्त्रालयले खोटाङ, भोजपुर, सिरहा, रौतहट, रामेछाप, सिन्धुली, गोरखा, तनहुँ, बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, प्युठान, अर्घाखाँची, कपिलवस्तु, बर्दिया, डोल्पा, मुगु, हुम्ला, जुम्ला, कालीकोट, जाजरकोट, बाजुरा, बझाङ, अछाम र कैलाली जिल्लामा गरिब घरपरिवार पहिचान गरेको हो ।
मन्त्रालयका उपसचिव तथा तथ्याङ्क शाखा प्रमुख झविन्द्र पाण्डेले २६ जिल्लामा पहिचान भएका तीन लाख ९१ हजार ८३१ गरिब घरपरिवारका लागि मन्त्रालयबाट परिचयपत्र नै जारी भइसकेको बताउँदै तीमध्ये ६० हजारलाई परिचयपत्र वितरण भइसकेको जानकारी दिनुभयो ।
उपसचिव पाण्डेले २६ बाहेक थप २३ जिल्लाको तथ्याङ्क सङ्कलन कार्य सम्पन्न भई तथ्याङ्क विश्लेषण भइरहेको बताउनुभयो । यसको तथ्याङ्क सरकारबाट प्रमाणित हुन बाँकी रहेको जानकारी दिनुभयो । त्यसैगरी अहिले १५ जिल्लामा गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन भइरहेको छ । यही साउन मसान्तभित्र १५ जिल्लाको तथ्याङ्क सङ्कलन कार्य सम्पन्न हुने जानकारी उहाँले दिनुभयो । उहाँले बाँकी रहेका १३ जिल्लामा चालू आर्थिक वर्षभित्रमा नै तथ्याङ्क सङ्कलन कार्य सम्पन्न गर्ने गरी मन्त्रालयले सम्पूर्ण तयारी पूरा गरिसकेकोे जानकारी दिनुभयो ।

तीन रङको परिचयपत्र
उपसचिव पाण्डेले पहिचान भएका गरिब घरपरिवारलाई एउटै ढाँचाको तीन रङको परिचयपत्र वितरण भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार, अति गरिब घरपरिवारलाई रातो, मध्यम गरिब घरपरिवारलाई पहेँलो र सामान्य गरिब घरपरिवारलाई हरियो रङको परिचयपत्र वितरण भइरहेको छ।

गरिबी पहिचानको सूचक
उपसचिव पाण्डेले परिवारको समग्र अनुमानित आम्दानीको आधारमा मापदण्ड निर्धारण गरी गरिब घरपरिवार पहिचान कार्य भइरहेको जानकारी दिनुभयो ।
उहाँले भौगोलिक क्षेत्रगत अवस्था (हिमाल, पहाड, तराई), जग्गा जमिनको अवस्था र त्यसको अनुमानित मूल्य, जातजातिगत गरिबीको अवस्था, घरपरिवारको आकार, परिवारको शैक्षिक अवस्था, परिवारमा निजी विद्यालयमा अध्ययनरत बालबालिका, पारिवारिक औसत आयु, परिवारका सदस्यको रोजगारीको अवस्था, आम्दानीको स्रोत, परिवारमा आश्रित व्यक्तिहरूको सङ्ख्या, घरको छाना, घरको भित्ता, घरको जगको प्रकार, घरमा भएको कोठाको सङ्ख्याको आधारमा गरिब घर परिवार पहिचान भइरहेको जानकारी दिनुभयो ।
मुलुकभरिको गरिब घरपरिवार पहिचान गर्न गरिब घरपरिवार सहयोग समन्वय बोर्डको स्थापना गरी काम सुरु गरिएको थियो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?