logo
२०८० चैत्र १६ शुक्रवार



बागमतीमा पुल बनेपछि डुङ्गाको सहारा लिनुपर्ने बाध्यता हट्यो

खुला |
समाज |


बागमतीमा पुल बनेपछि डुङ्गाको सहारा लिनुपर्ने बाध्यता हट्यो


जनार्जन खत्री
सर्लाही, साउन २० गते । सर्लाहीको बरहथवा र रौतहटको गढीमाई जोड्ने गरी बागमती खोलामा पक्की पुल बनेपछि डुङ्गामा चढेर खोला तर्नुपर्ने बाध्यता टरेको छ । ठूलो क्षेत्रफलमा फिँजिएर नदी बगेको स्थानमा पक्की पुल बनेपछि दुवै जिल्लाका किसानलाई खोला वारपार गरी खेतबारीमा काम गर्न जान आउन अत्यन्तै सजिलो भएको बरहथवा नगरपालिका–२, हजरियाकाका महेश बरालले बताउनुभयो । उहाँका अनुसार पुल नबन्दा वर्षायाममा १५ मिनेटको बाटो तीन घण्टा लगाएर तय गर्नुपर्ने बाध्यता थियो ।

सङ्घीय सरकारको २९ करोड रुपियाँ लागतमा ७५० मिटर लामो पक्की पुल बनेपछि दुवै जिल्लाका वासिन्दालाई खोला वारपार गर्न सहज भएको हो । बरहथवा नगरपालिका–१५ पिप्राभित्ता र गढीमाई नगरपालिका–१ समनपुर जोड्ने गरी निर्माण गरिएको पक्की पुलबाट नदीको आसपासमा खेती गर्न वारपार गर्नुपर्ने किसानसँगै साइकल, मोटरसाइकल र स्थानीयवासी ओहोरदोहोर गरिरहेका छन् ।

बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लखेन्द्र महतोले अन्य समयमा नदी वारपार गर्न डुङ्गाले प्रतिब्यक्ति ५० र मोटरसाइकल को १०० रुपियाँ लिने गरेको भएपनि अहिले पुल बनेपछि सजिलो भएको जानकारी दिनुभयो । पुल नहुँदा यसअघि आवातजावत गर्न असुरक्षित हुनुका साथै लुटपाट र अप्रिय घटना समेत भएका वडाध्यक्ष महतोको भनाइ छ ।

पुल बनेसँगै अहिले मानिसको आवागमन बढेपछि ढुक्कसँग हिँड्डुल गर्न पाएको स्थानीय वासिन्दाले बताएका छन् । पुल निर्माणको जिम्मा पाएका एलाइट जेभी कन्ट्रक्सन काठमाडौंका प्रतिनिधि अजय पौडेलले आगामी असोज महिनाभित्र सम्पूर्णकाम सम्पन्न गरी हस्तान्तरण गरिने गोरखापत्र दैनिकसँग बताउनुभयो ।

दुई वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्नेमा २०७६ सालमा आएको बाढीले पुलको ४० मिटर भाग बगाएको र कोरोना भाइरसको सङ्क्रमणलगायतका कारणले निर्माण सम्पन्न हुन ढिलो भएको निर्माण कम्पनिका प्रतिनिधि पौडेलको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?