logo
२०८० चैत्र १६ शुक्रवार



जीवित व्यक्तिलाई मृत घोषणा गरेको भन्दै अस्पतालमा तोडफोड

खुला |


जीवित व्यक्तिलाई मृत घोषणा गरेको भन्दै अस्पतालमा तोडफोड
फाइल फाेटाे



दिपकप्रसाद गौतम
वीरगञ्ज, साउन १७ गते । वीरगञ्जको लिंक रोडमा रहेको भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा आईतबार बिरामीका आफन्तहरुले तोडफोड गरेका छन् । बिरामीका आफन्तहरुले जिउँदै मानिसलाई अस्पतालले मृत घोषणा गरेको जनाउदै वीरगञ्जको लिंक रोडमा रहेको भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा तोडफोड गरेका हुन् । भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरका निर्देशक राम श्रेष्ठका अनुसार आइतबार बिहान १० बजेतिर अस्पताल ल्याइएकी बिरामी रमितादेवी अस्पताल ल्याउदा नै मृत्यु भईसकेको जनाउँदै

चिकित्सकहरुले मृत घोषणा गरेका थिए तर १ बजेतिर रमितालाई पुनः अस्पतालमा फिर्ता ल्याई बिरामीका आफन्त र गाउँलेले जिउँदो मानिसलाई मृत घोषणा गरेको भन्दै प्रदर्शन गर्दै तोडफोड समेत गरेका थिए । दाह संस्कारका लागि घाट लैजानुअघि नुहाउने क्रममा महिलाको मुख चलेकाले महिला जीवित नै रहेको मृतकका आफन्त र गाउँलेको दावी गरेका थिए ।

पर्सा प्रहरीले हस्पिटलमा तोडफोड गरेको आरोपमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का राकेश राम, सुरेश राम, अक्षय राम र भीम रामलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले तोडफोडमा उत्रिएका चारै जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भई रहेको बताउनुभयो ।

‘अस्पतालले मृत घोषित गरेको मानिस ज्यूँदै रहेको छ भन्ने लागेर पुनः अस्पताल ल्याई होहल्ला, तोडफोड गरेका रहेछन् हामीले अनुसन्धान गर्दैं छौं । ’ प्रहरी नायब उपरीक्षक खनालले भन्नु भयो ।
मृतकका आफन्त र गाउँलेहरुले एक चिकित्सक र नर्सलाई हातपात गरेको र तोडफोडका क्रममा फुटेको सीसाले लागेर एक बिरामी कुरुवा महिला घाइते भएको अस्पतालले जनाएको छ ।
अस्पताले खबर गरेपछि समयमै प्रहरी आएर स्थितिलाई नियन्त्रणमा लिएकाले थप क्षति नभएको अस्पतालका निर्देशक श्रेष्ठले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?