logo
२०८० चैत्र १५ बिहीवार



‘अब त बाचुन्जेल घरको छाना फेर्न नपर्ला’

खुला |
समाज |


‘अब त बाचुन्जेल घरको छाना फेर्न नपर्ला’
फाइल फाेटाे



गलकोट, साउन ९ गते । बागलुङको निसीखोला गाउँपालिका–४ की गौमती दमिनीले हरेक दुई/दुई वर्षमा घरको छानो फेर्दै हैरानी खेप्दै आउनुभएको थियो । न्यून आयस्रोत भएको परिवारकी गौमतीलाई प्रत्येक दुई वर्षमा घरको छानोमा नयाँ खर फेर्नु पर्दा निकै सकस हुन्थ्यो । यसपालि भने उहाँको घरको छानामा जस्ता लगाइएको छ ।

गाउँपालिकाको खरको छानो हटाउने नीतिअनुसार गौमतीको घर जस्तापाताले छाइएको छ । युवा शक्ति पलायन हुने तथा गाउँमा बालबालिका र बूढापाका मात्रै हुँदा बर्सेनि खरको घर छाउन समस्या हुन थालेपछि पालिकाले खरको छानो विस्थापित गरेर जस्तापाताले छाइदिएको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०७७ / ०७८ मा मात्रै गौमती जस्ता १०३ घरलाई खरको छाना मुक्त गराएको छ ।

खरको छानामुनि बस्दै आउनुभएकी गौमतीको घर जस्तापाताले छाएपछि उहाँ खुसी हुनुभएको छ । “खरको छानामुनि बस्दै आएको थिएँ, जस्तापाताले छाउने घरको क्षमता थिएन, गाउँपलिकाले जस्तापाताले घर छाइदियो”, उमेरेल ७५ वर्ष काट्नुभएकी गौमतीले भन्नुभयो, “दुई वर्षमा घरको छानो फेर्दै आउँदा निकै सकस थियो, गाउँमा खरसमेत पाइन छाडेको थियो, वर्षौँलाई ढुक्क भइयो, अब त बाचुन्जेल घरको छानो फेर्न नपर्ला ।”

गाउँपालिका आएपछि घरको छाना परिर्वतन गरी जस्ता छाइदिएकामा वडा नं ५ का स्थानीय कुलवीर सुनार हर्षित हुनुभएको छ । पुरानो घरमा खरले छाएर बस्दै आउनुभएका सुनार अहिले जस्तापाताले छाएपछि घर नयाँ जस्तै बनेको बताउनुहुन्छ । खरको घर जोखिम र झन्झटिलो भएको भन्दै उहाँले गाउँपालिकाले जस्तापाता हालिदिएपछि आफूलाई अब सहज भएको बताउनुभयो । जस्ताले छाएपछि घरमा आगलागी हुने पानी चुहिने समस्यासमेत समाधान भएको सुनारको भनाई छ ।

निसीखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा १०३ गरिब परिवारको घरमा जस्तापाताले छाइदिएको प्रमुख प्रशासकीय अधिकृत ईश्वरलाल शाक्यले जानकारी दिनुभयो । उहाँले अति न्यून वर्गका घरमा जस्तापाता प्रदान गरिएको र आगामी वर्ष पनि कार्यक्रम निरन्तर सञ्चालन हुने बताउनुभयो ।

गाउँपालिकाले सात वटा वडामा ७३ र प्रदेश सरकारको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत ३० गरी १०३ जनाको घर जस्तापाताले छाइएको बताउनुभयो । गाउँपालिकाले घरको छाना विस्थापित गर्न चालु आर्थिक वर्षमा रु २० लाख विनियोजन गरिएको शाक्यको भनाइ छ ।

प्रदेश सरकारले ३१ परिवारका लागि रु ५० हजारका दरले बजेट पठाएको शाक्यले बताउनुभयो । शाक्यले हरेक वडा कार्यलयबाट सिफारिस भएर आएका अति गरिब परिवारको घर जस्तापाताले छाइदिएको बताउनुभयो ।

पालिकाभित्र रहेका न्यून वर्गका परिवारबाट खरको छाना विस्थापित गरी जस्तापाता हाल्न माग भएअनुसार अब सबै खरका घरमा जस्तापाताले छाइने गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । खरको छानो भएको घरमा आगलागीको जोखिममा हुने र गाउँघरमा युवा जनशक्ति नहुँदा वृद्धवृद्धालाई घर छाउन कठिनाइ भएकाले खरको छानो विस्थापित गरेर जस्तापाता हालिएको उहाँको भनाइ छ । उहाँले केही वर्षमा गाउँपालिका खरको छाना मुक्त हुने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?